|

काठमाडौं : श्रमको खोजी गर्दै यो वर्ष ८ लाख ८ हजार ४१५ नेपाली युवा विश्व बजारमा पुगेका छन्। जसमध्ये ७  लाख २३ हजार ७८९ जना पुरूष रहेका छन् भने ८४ हजार ६०४ जना महिला रहेका छन्।

अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ लाख ४ हजार ५१८ जना पर्यटन भिसामा विदेश गएका छन्।

यो वर्ष करिब ७० हजार नेपालीले विदेशमा नै स्थायी बसोबास गरेका छन्। त्यस्तै, ९१ हजार ३४९ जना अस्थायी बसोबासका लागि विदेश गएको उल्लेख छ।

स्वास्थ्योपचारका लागि १९ हजार ५०९ जना विदेश गएका छन्। श्रम स्वीकृति नलिएर पनि रोजगारीका लागि भन्दै ६ हजार ३३४ जना विदेश गएका छन्।  पारिवारिक भेटघाटका लागि नै १ लाख ६७ हजार ४८५ जना नेपाली विदेश गएको उल्लेख तथ्यांकमा गरिएको छ।

प्रमुख गन्तव्य दुबई

अध्यागमन विभागबाट प्राप्त तथ्यांकअनुसार सन् २०२३ मा १६ लाख ३ हजार ८३६ जना नेपाली विदेश गएका थिए। जसमा नेपालीहरूको प्रमुख गन्तव्य दुबई बनेको छ।

यो वर्ष करिब २ लाख ७१ हजार ८८ जना नेपाली दुबई पुगेका छन्। दोस्रोमा भारत रहेको छ। १ लाख ८० हजार ६०२ जना नेपाली भारत पुगेका छन् भने कतार १ लाख ७९ हजार ४४१ जना, मलेसिया १ लाख ६४ हजार २०१ जना, साउदी अरेबिया १ लाख ३६ हजार २०३ जना, अष्ट्रेलिया १ लाख ५ हजार ३४३ जना, जापान ८२ हजार ७७२ जना र अमेरिका ६७ हजार ८१० जना नेपाली पुगेका छन्।

यसरी नेपालीहरू विभिन्न कामका लागि दैनिक करिब ४ हजार ४५५ जना विदेशिने गरेका छन्। समाजशास्त्री दिनेश प्रसाई मान्छे विदेशिनु सामान्य प्रक्रिया मान्छन्। एक देशबाट अर्को देशमा कामका लागि, पढाइका लागि वा स्थायी बसोबासका लागि जानु नेपाली समाजका लागि सामान्य प्रक्रिया भइसकेको उनले बताए।

‘कुनै पनि व्यक्ति आफ्नो क्षमता विकास गर्न चाहन्छ‚ सदैव नयाँ नयाँ अवसरको खोजी गरिरहन्छ’, उनले भने, ‘जतिसुकै अवसरको सिर्जना गरे पनि बसाइँसराई राज्यले रोक्न सक्दैन यो सत्य हो तर कम भने गर्न सक्छ।’

दैनिक कति फर्कन्छन् नेपाल?

विभागले दिएको तथ्यांकअनुसार यो वर्ष करिब १२ लाख ३२ हजार ५९ जना नेपाली अन्तरराष्ट्रिय विमानस्थलबाट फर्किएका छन्। यसरी दैनिक ३ हजार ४ सय नेपाली दैनिक स्वदेश फर्किने गरेका छन्।

गत जनवरीमा करिब १ लाख १२ हजार ७५५ जना नेपाली स्वदेश फर्किएका थिए भने डिसेम्बरमा १ लाख ८ हजार ३५१ जना नेपाली स्वेदश फर्किएका थिए।

विदेश जाने र स्वदेश फर्किने दैनिक तथ्यांक हेर्ने हो भने संख्यामा करिब १ हजारको फरक देखा पर्छ। लामो समय नेपाली पत्रकारिता क्षेत्रमा संक्रियतालाई बिट मार्दै  वैदेशिक रोजगारका लागि जापान पुगेका निशेष खनालले मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी, विकृति र विसंगतिका कारण युवामा निराशा बढेको बताए।

विश्वव्यापीकरणको विशेषता एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराई पनि हो तर सुन्दर भविष्यको आशामा विदेशिनु पर्ने साझा बाध्यता बनेको उनको टिप्पणी छ।

‘सरकारको कमजोर राज्य सञ्चालन र युवालाई सिर्जना गरिदिनुपर्ने रोजगारी तथा उसको सामाजिक सुरक्षामा चुकेपछि मजस्ता लाखौँ परदेश भासिनुपरेको हो’, उनले भने, ‘ढिलासुस्ती, कमजोर अर्थनीति, उत्पादनमूलक र औद्योगिक क्षेत्रमा राज्यको न्यून लगानी हुँदा देशमा चरम बेरोजगारीको समस्या त छँदैछ। यसले गर्दा युवाहरूले जोखिम उठाउनुपर्ने बाध्यता छ।’

देश फर्किने वातावरण छैन

युनिभर्सिटी अफ क्यान्ससमा कम्प्युटर साइन्समा पिएचडी गर्दै गरेका प्रमील पौडेलले कमजोर शासन नै पलायनको मुख्य कारण रहेको टिप्पणी गर्छन्। देशमा बसिरहने वातावरण नहुनु भनेको फर्केर आउने वातावरण नबन्नु पनि भएको उनले बताए।

‘घर फर्किने मान्छेले फर्किने कारण खोज्छ। फर्केपछि गर्न काम खोज्छ। काम छैन भने पनि काम सिर्जना गर्ने वातावरण खोज्छ। हरेक मान्छेले स्वाभिमानपूर्वक बाँच्न पाउने सुविधा खोज्छ। सामाजिक सुरक्षा खोज्छ। कामप्रतिको सम्मान खोज्छ। राष्ट्रभक्तिको नाराले मात्र परिवार चल्दैन। जसले गर्दा देशको सीमा नाघ्नुपर्छ’, उनले सुनाए, ‘असल शासकको खोजीमा हाम्रा अघिल्ला पुस्ताले जीवन बिताए। हामी पनि यही चरणमा छौं। असल शासकबाट शासित हुन नपाउनु, शासकले युवाहरूलाई स्वदेशमा बस्ने वातावरण सुनिश्चित गर्न नसक्नु पलायन हुनुको मुख्य कारण हो।’

तर विश्व बजारमा कामका लागि जाने नेपालीलाई क्षमतावान बनाउन पनि सरकार गम्भीर नबनेको उनको भनाइ छ। समाजशास्त्री प्रसाईले बसाइँसराइ कतिपय हकमा व्यक्तिगत इच्छाको कुरा रहेको भनेर सरकारले पलायनको हुने नेपालीलाई नजरअन्दाज गर्न नमिल्ने बताउँछन्।

‘राज्यले लगानीको वातावरण निर्माण गरिदिनुपर्छ। युवाहरूको क्षमतालाई सम्मान गर्दै उनीहरूमा आशा भने जगाउने काम  गर्नुपर्छ‚’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.