|

विराटनगर : कोशी प्रदेशमा जलन (बर्न) अस्पताल निर्माण प्रक्रिया बुधवार शुरू भएको छ। आगलागीमा घाइते भएका वा आगोले पोलेका/जलेका लगायत बिरामीको उपचारका लागि १ सय शय्याको उक्त अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जनस्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको हो।

मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले उक्त अस्पताल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

ट्रष्टले इटहरी उपमहानगर-११ पकलीस्थित भवानीपुरमा ७ वर्षअगाडि खरिद गरेको २ बिघा १० कठ्ठा जग्गामा ५० शय्या जलन र ५० शय्या सामान्य गरी १ सय शय्याको जलन अस्पताल निर्माण गर्न लागेको हो। 

ट्रष्टले पटक पटक उक्त अस्पताल निर्माणका लागि सरकारसँग पहल गरे पनि हालसम्म संभव भएको थिएन। मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भएलगत्तै उनले आफ्नै पहलमा जलन अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेर प्रक्रिया शुरू गरेका हुन्।

प्रदेश सरकारले ट्रष्टसँग सम्झौता गरेर ३ महिनाभित्र उक्त अस्पताल निर्माण थाल्न १ करोड ५० लाख रुपैयाँ बजेट दिन सम्झौता गरेको छ। ४० करोड रुपैयाँ लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट दिने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले जनाएका छन्। 

अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले नै गर्ने कार्यकारी निर्देशक प्रधानले बताए। उनले प्रदेश सरकारले अस्पताल निर्माणका लागि दिएको अनुदान सहयोग गरेबापत कोशी प्रदेशका विरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ। 

उक्त अस्पतालले जलनसम्बन्धी विशेषज्ञ र विशिष्टीकृत सेवा प्रदान गर्नेसमेत सम्झौता पत्रमा उल्लेख छ।

ट्रष्टले कीर्तिपुर नगरपालिकासँगको सहकार्यमा कीर्तिपुर अस्पताल, काठमाडौँ मोडेल अस्पताल सञ्चालन गरेको र काठमाडौँ बाहिर सातवटै प्रदेशमा जलेको, पोलेको, ओठ तथा तालु फाटेको, बोलीको तालिमलगायतको सेवा प्रवाह गर्दै आएको छ।

मुख्यमन्त्री कार्कीले कोशी र मधेश प्रदेशका आगलागीमा घाइते भएका बिरामीलाई लक्षित गरी इटहरीमा उक्त अस्पताल निर्माण प्रक्रिया शुरू गरेको बताएका छन्। 

‘उर्लाबारीमा दिपावली मनाउने क्रममा भएको आगलागीका २५ जना घाइते र विराटनगरमा भएको आगलागीका ५ जना घाइतेको समयमा उपचार गर्न सकेको भए मानवीय क्षति कम हुन्थ्यो,’ उनले भने, ‘समयमा आगलागीका घाइतेको उपचार नहुँदा उर्लाबारीका ८ जना र विराटनगरका ३ जनाले ज्यान गुमाउन बाध्य भएकाले कोशी प्रदेशमा नै जलन अस्पताल निर्माण प्रक्रिया शुरू गरेका हौँ।’

मुख्यमन्त्री कार्कीले एकातिर समाजसेवीले विरामीलाई उपचार सेवा दिइरहेको र अर्कातिर व्यापारीहरूले उपचारको व्यापार गरिरहेको बताएका छन्। 

‘एकातिर ब्यापारीले पहिले पैसा तिर अनि उपचार गर्ने र विरामीलाई लग्न दिने तर कीर्तिपुरमा विमानस्थलमा पुग्ने बित्तिकै चिकित्सक आफैँ पुगेर, विदेशबाट चिकित्सक उपकरणसहित बोलाएर उपचार गरे तर पैसा खोजेनन्‚’ उनले भने।

प्रदेशसँग हेलिकप्टर भएको भए अझै केही बिरामी बचाउन सक्ने अवस्था रहेको उनले सुनाए। मुख्यमन्त्री कार्कीले जलन अस्पताल कुनै कारणले नरोकिने र बजेट अपुग भए प्रदेश सरकारले थप बजेट दिने प्रतिबद्धता जनाएका छन्। 

उनले नाफारहित जनस्वास्थ्य ट्रष्टले नै नेपालमा जलन उपचार सेवा प्रदान गरिरहेकाले कोशीमा अस्पताल निर्माणका लागि अनुदान सहयोग गरेको बताएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.