काठमाडौं : संसारमा सबैभन्दा थेत्तरो अवस्था कुन होला? प्रश्न एक भए पनि उत्तर हजारौँ आउन सक्छन्। हरेक व्यक्तिका फरक-फरक उत्तर होलान् तर मलाई लाग्छ बा हुनु जस्तो थेत्तरो अवस्था संसारमा अर्को छैन। तपाईँ संसारका हरेक युद्ध जितेर चक्रवर्ती सम्राट् बनेर घर फर्कनुहोस्, संसारका हरेक प्राणी तपाईँसँग थर्कमान बन्न सक्छन् तर त्यो अद्वितीय उपलब्धि बोकेर संसारकै शक्तिशाली बनेर जब तपाईँ आफ्नो घरमा प्रवेश गर्नुहुन्छ नि त्यहाँ भर्खर जन्मेको तपाईँको सन्तानले तपाईँको काँधमा मूत्रविसर्जन गरिदिने हैसियत राख्छ।
त्यसैले मलाई लाग्छ संसारमा बा हुनुजस्तो थेत्तरो अवस्था अर्को कुनै छैन।
आफ्ना सन्तानका अगाडि बा पदको खासै ठूलो हैसियत नदेखिए पनि बा बन्न कठिन त पक्कै छ। अझ त्योभन्दा पनि कठिन छ, बा बनिसकेपछिको भूमिका निर्वाह गर्न। तपाईँ आफ्नो जतिसुकै ठूलो प्राज्ञिक हैसियत बनाउनुस् तर तपाईँ आफ्ना सन्तानका अगाडि यो संसारकै सबैभन्दा अनपढ गँवार ठहरिनुहुन्छ। तपाईँ जतिसुकै धन कमाउनुहोस् तर तपाईँका सन्तानले यो संसारमा तपाईँ जति गरिब कोही देख्दैनन्। तपाईँ सन्तानको खुसीको लागि र उनीहरूको फुर्मासको लागि धनको वर्षा नै गराउनुहोस् तर पनि उनीहरूका नजरमा तपाईँ एक महाकदर्य बाहेक केही हुनुहुन्न।
प्रगतिपथमा तपाईँको छलाङ र गति देखेर देख्नेहरूले तपाईँलाई वायुपंखी घोडाको उपमा देलान् तर विडम्बना के छ भने घरको आँगन टेक्नासाथ तपाईँ आफूलाई केवल सन्तानका सपनाको गह्रुंगो भारी बोक्ने गधाको हैसियतमा पाउनुहुन्छ।
तपाईँ आफूलाई कागको फुल चोर्न सक्ने हैसियतको सम्झनुहुन्छ भने पनि तपाईँका सन्तान चोर माथिका चण्डाल निस्कन्छन्। तपाईँ त केवल कागको फुल चोर्नुहुन्थ्यो तर तपाईँलाई बा भनेर सम्बोधन गर्नेहरूले त तपाईँले चोरेको कागको फुल त्यही कागलाई नै बेचिदिने हैसियत राख्छन्। कुनै पनि कुरामा तपाईँ आफ्ना सन्तान भन्दा अघिल्लो पंक्तिमा देखिने हैसियत राख्नुहुन्न।
समाज, संगठन, देश, विदेशमा त तपाईँ अनेक वादहरूको वकालत गर्न सक्नुहुन्छ। आफ्ना विचारहरूलाई सिद्धान्तमा बदल्ने खुबी पनि बनाउनुहुन्छ। पुराना दार्शनिकहरूले प्रतिपादन गरेका वाद र सिद्धान्तको लठ्ठी टेकेर आफ्ना अनेक अनुयायीको नेतृत्व गर्दै अघि बढ्न सक्नुहुन्छ। तपाईँ आफ्ना अनुयायीको नजरमा केवल मान्छे मात्र होइन ईश्वर नै बन्न पनि सक्नुहुन्छ। केवल पुरुष मात्र नभएर महापुरुष नै बन्न पनि सक्नुहुन्छ। तर, साँझ घर पस्ने बेलामा ती सारा उपलब्धिलाई खुसुक्क इष्टकोटको भित्री खल्तीमा लुकाएर पस्नुभए हुन्छ। किनभने तपाईँ घरभित्र के बन्ने भन्ने निर्णयको अधिकार तपाईँलाई छँदै छैन। अब त्यो निर्णयको अधिकार तपाईँका सन्तानको काँधमा परिसक्यो।
तपाईँ घर बाहिरको खुङ्खार दक्षिणपन्थी विचारधाराको मान्छे हुनुहुन्छ भने पनि घरभित्र उग्र वामपन्थी बन्नुपर्ने बाध्यता आइलाग्न सक्छ। बाहिर तपाईँ भयङ्कर समाजवादी, साम्यवादी वा जनवादी हुनुहोला तर घरको तगारोभित्र छिरेपछि तपाईँका उपर्युक्त वादहरूले स्वतः रूपमा घुँडा टेक्न सक्छन् र तपाईँलाई तपाईँका सन्तानले सजिलै कट्टर पुँजीवादी बनाइदिन सक्छन्।
तपाईँ खुङ्खार भौतिकवादी हुनुहुन्छ भने पनि तपाईँका सन्तानले तपाईँलाई भयंकर आध्यात्मिक बनाइदिन्छन्।
बाहरूको यस्तो निरीह अवस्था अहिलेको मात्र समस्या होइन यो त युगौँदेखिको परम्परा नै बनिसकेको छ। बा भएपछि सन्तानका अगाडि निरीह बन्नैपर्ने सिद्धान्तलाई नजरअन्दाज गरेर सतीदेवीका सामु पितृदम्भ देखाउनाले बोका टाउके बन्नुपरेको दक्षप्रजापतिको कथा त हामीले प्रत्येक साल सुन्ने गरेकै छौँ।
छोरी पार्वतीको हठका सामु आफ्नो केही नचलेर हिमालय पर्वतले आफ्नी सुकोमल पुत्री दिगम्बर श्मशानेश्वर शिवजीको हातमा सुम्पन विवश हुनु परेको कथा पनि हाम्रो मानसपटलमा ताजै छ।
आफ्ना दुई सन्तानलाई सुमेरु पर्वत परिक्रमा गरेर आउने आदेश दिएपछि कुमार त परिक्रमा गर्न निस्किहाले तर गणेशले अटेरी गरेर सुमेरुको सट्टा स्वयं महादेवलाई परिक्रमा गरेर बसेपछि महादेव भोलेबाबाले बाध्य भएर वरदान दिनुपरेको माघमहात्म्य स्वस्थानीको कथाले पनि पिताहरू सन्तानका अगाडि कति निरीह हुन्छन् भन्ने प्रष्ट पारिदिन्छ।
सन्तानका निम्ति बा हुनुजस्तो थेत्तरो काम अर्को कुनै हुनै सक्दैन भन्ने प्रमाण स्वयं महाभारत ग्रन्थ पनि हो। पुत्रमोहमा चुर्लुम्म नडुबेको भए सायद कुरुकुलगुरु द्रोणाचार्यले अप्रत्याशित मृत्युवरण गर्नु पर्दैनथ्यो होला। धृतराष्ट्रले दुर्योधनका अनेक कारनामा र महत्वाकांक्षा पुरा गरिदिनुपर्ने पैतृक भूमिका निभाउनु नपरेको भए सायद त्यत्रो भयानक महाभारत युद्ध र अपूरणीय क्षति हुँदैनथ्यो होला।
सन्तानका नजरमा सबै बाहरू निरीह, अज्ञानी, अशिक्षित, अवैज्ञानिक, संकुचित, रुढीवादी हुने परम्परा मानिसको मात्र समस्या होइन। साकार स्वरूप धारण गरेका परब्रह्म परमात्मा स्वयं तीन लोक चौध भुवनका अधिपति भए पनि सन्तानका नजरमा केवल बा मात्र हुन्, त्यसमा पनि कुहिरोमा अल्मलिएका काग जस्ता।
उदाहरणका रूपमा हामी स्वयं त्रिलोकनाथ नारायणका पूर्णावतार सोह्र कला, बत्तीस गुण र चौसठ्ठी विद्यायुक्त भगवान् श्रीकृष्णलाई नै लिन सक्छौँ। जसले दिएको गीताज्ञानले हजारौँ वर्षदेखि सनातन धर्मावलम्बीहरू तेजवान् बनेका छन्, उनै साक्षात् परब्रह्म श्रीकृष्णको उपदेश उनकै सन्तानले नमानिदिनाले स्वयं श्रीकृष्णकै वंशनाश भयो। स्वधामगमन अगाडि भगवान् श्रीकृष्णले आफ्ना सन्तानहरूलाई बोलाएर केही उपदेशवचन बोल्नुभयो। ‘ऋषि महर्षिहरू सिद्धपुरुष हुन्।
उनीहरू ज्ञानी छन्। त्रिकालदर्शी छन्। उनीहरूलाई थाहा नभएको केही पनि छैन। लोककल्याणका लागि सधैँ यज्ञ र उपासनामा तल्लीन रहने उनीहरूलाई कहिल्यै नजिस्काउनू र उनीहरूको ब्रह्मकर्ममा कहिल्यै बाधा नपुर्याउनू।'
आखिर बत्तीमुनि अँध्यारो हुनु त प्रकृतिको धर्म हो। सन्तानहरूलाई लाग्यो कि हामी भर्खरका बालक त होइनौँ, परमधाम जाने बेला भइसक्दा पनि यो बुढोलाई के अर्ति बुद्धि दिने पल्टिनु परेको होला? बरु यी ऋषिहरूलाई साँच्चिकै सबै कुरा थाहा हुन्छ कि हाम्रा बाले हामीलाई तर्साउन मात्र त्यसो भन्नुभएको हो विचार गरौँ भनेर कृष्णकै छोरो साम्बलाई स्त्रीको पहिरनमा सजाएर घुम्टो ओढाएर ऋषिहरूका सामु पुगी यी नानीको गर्भमा के छ भनिदिनुपर्यो भन्न पुगे।
अरू ऋषिहरू त मनमनै यस्तै हुन् अज्ञानी मोराहरू भनेर वास्ता नगरी बसे तर दुर्वासाले तिमीहरूको वंशनाश गराउने मुसल छ भनेर बोलिदिए।
नभन्दै सोझा सिधा ऋषिहरूलाई जिस्काउन पुगेको परिणामस्वरूप साम्बको पेटमा मुसल फेला पर्यो र सम्पूर्ण यदुवंशको नाशको कारणसमेत बन्यो। सारा ब्रह्माण्डको सृष्टि, स्थिति र लयकर्ता परब्रह्म परमात्माका पूर्णावतार श्रीकृष्णले समेत बा पद धारण गर्दा भने आफ्नै वंश जोगाउन नसक्ने गरी निरीह बन्नुपर्यो।
मान्छे जस्तैगरी सन्तानका बा बनेपछि भगवानको अवस्थासमेत उही मान्छेकै जस्तो थेत्तरो बन्ने रहेछ भने अरूको त के कुरा भयो र?
यदि तपाईँ कुनै राजनीतिक दलको प्रमुख हुनुहुन्छ र तपाईँका कार्यकर्ताले तपाईँलाई बा सम्झन्छन् अथवा बा भनेर पुकार्छन् भने आफ्ना राजनीतिक मानसपुत्रहरूको गोबरलाई गुँदपाक हो भनेर प्रमाणित गराइदिनु नै तपाईँको राजनीतिक जीवनको महत्वपूर्ण उपलब्धि बन्न पनि सक्छ।
यदि तपाईँ ठूलै क्रान्तिको नेतृत्वकर्ता हुनुहुन्छ र तपाईँको क्रान्तिले सम्पूर्ण राज्यव्यवस्थासमेत परिवर्तन गराउन सफल भएको थियो भने पनि तपाईँलाई बा भन्नेहरूले तपाईँको त्यो महान् उपलब्धिलाई कौडीको भाउमा बिक्रीको लागि फुटपाथमा राखिदिन सक्छन्।
तपाईँले दिन रात केही नभनी आफ्नो व्यावसायिक विरासत खडा गरेर धनको कुनिउँ निर्माण गर्न सफल हुनुभयो भने तपाईँकै सन्तानले त्यो कुनिउँ छिरलेर त्यसैमाथि दाइँ हालिदिन्छन्। तपाईँ कुनै धर्म वा संस्कारको ठेकेदार हुनुहुन्छ भने पनि तपाईँका सन्तान नै त्यो धर्म र संस्कारको दोहोलो काढ्न उद्यत देखिन्छन्। यसैले मलाई लाग्छ बा हुनु जस्तो थेत्तरो अरू कुनै अवस्था हुँदैन। तपाईँलाई के लाग्छ कुन्नि?
तपाईंको ईमेल गोप्य राखिनेछ ।