सन्दीपका विषयमा फरकफरक मत

|

काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा स्पिनर सन्दीप लामिछाने बलात्कारमा दोषी ठहर भइ ८ वर्षको जेल सजाय तोकिएपछि यो विषय अहिले बहस र चर्चामा छ। 

सामाजिक सञ्जालमा अदालतको आदेशप्रति मतविभाजन पनि देखिएकाे छ। कतिले सजाय ठिक भनिरहेका छन् त कतिले अदालतको निर्णयप्रति असहमति जनाइरहेका छन् । 

उक्त घटनाले नेपालमा हुने कयौँ बलात्कार र बलात्कार पछि हत्या गरिएका घटनालाई एकपटक झस्काइदिएको छ। पश्चिम नेपालकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणका आरोपी अझै फेला पार्न सकिएको छैन। 

नेपाल प्रहरीले पन्त जस्ता केही सिमित घटनाबाहेक अधिकांश घटनाका आरोपीलाई कानुनी दायरामा ल्याएको दावी गर्दै आएको छ। यद्यपि बलात्कार, हत्या, हिंसा, ठगीजस्ता घटनाहरू बढ्दो क्रममा देखिन्छ। 

प्रहरीकै तथ्यंक केलाउने हो भने बलात्कार गरेको आरोपमा दैनिक कम्तिमा ५ जना पक्राउ पर्ने गरेका छन्। पाँच वर्षमा १० हजारभन्दा बढी बलात्कारकै आरोपमा पक्राउ परेका तथ्यांकले नेपालको स्थितिलाई छर्लंङ्ग पारिदिन्छ।

बालिकादेखि वृद्धासम्म प्रताडित छन्। समाजमा यसप्रकारका जघन्य अपराधले असर पारिरहेको छ। प्रहरीको तथ्यांकलाई हेर्ने हो भने बलात्कार आरोपमा यो वर्ष मात्र १ हजार ८०० भन्दा बढीमाथि मुद्दा चलाइएको छ।

यो वर्षको ९ महिनाभित्र मात्र करिब १ हजार ८५३ जना बलात्कारको आरोपमा पक्राउ परिसके। आव २०७५/७६ मा २ हजार २३२ जना पक्राउ परेका थिए भने ७६/७७ मा १ हजार ९२३ जना पक्राउ परेका थिए। आव ७७/७८ मा २ हजार ११७ जना पक्राउ परे।  यस्तै आव ७८/७९ मा २ हजार ३४ जना पक्राउ परेका छन्।

पछिल्लो पाँच वर्षमा मात्रै १० हजार १५९ जना बलात्कारको आरोपमा पक्राउ परेका छन्। जसमा १०० जना महिला छन्।

नेपालमा भएको बलात्कारका घटनामा विदेशीहरू पनि पक्राउ परिरहेका छन्।  पछिल्लो पाँच वर्षमा ८७ जना पक्राउ परेका छन्। आव २०७९/८० मा १७, आव ७८/७९ मा १४ जना, आव  ७७/७८ मा ११, आव  ७६/७७ मा १९ जना  र आव ७५/७६ मा २६ जना विदेशी पक्राउ परेका छन्।

बलात्कार कसुरमा यस्तो छ कानुन

मुलुकी अपराध संहिताको दफा २१९ मा  कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिने उल्लेख छ।

‘करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन’, भन्ने उल्लेख गरिएको छ।

‘होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन, गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्गबाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जवर्जस्ती करणी गरेको मानिनेछ’, संहितामा उल्लेख छ।

(क) दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिला भए जन्मकैद।

(ख) दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदेखि बीस वर्षसम्म कैद।

(ग) चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म कैद।

(घ) सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद।

(ङ) अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म कैद।

सन्दीपका विषयमा मतविभाजन

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा स्पिनर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर्‍याउँदै बुधबार ८ वर्षको जेल सजाय तोक्यो। जेलसँगै क्षतिपूर्ति र जरिवानाबापत ५ लाख पनि तिर्नुपर्ने गरी आदेश भएको छ। उक्त आदेशपछि सामाजिक सञ्जालमा मतविभाजनका प्रतिक्रिया देखिएका छन्।

नेपाल टेलिभिजनमा लामो समय समाचार वाचन गरेकी रमा सिंहले सहमति मै उमेर पुगेकी महिलासँग यौन सम्पर्क गरेका भनिएका नेपाली क्रिकेटका उम्दा खेलाडी सन्दीप लामिछानेलाई आठ वर्ष कैद, पाँच लाख जरिवाना र क्षतिपूर्तिको फैसला कति न्याय कति अन्याय?  भन्दै प्रश्न गरेकी छिन्। उनले अदालतको फैसलालाई केही त पक्कै गडबड भएको टिप्पणी गर्नसमेत भ्याइन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘यदी आफू गलत नभए,नावालिग भनिएकी तर नावालिग नरहेकी ति नानीले मलाई जबरजस्ती गरेकै हो भनेर खुलेर मिडियामा किन आइनन्?’

छोरीमान्छेको जीवन बर्बाद भइरहेको कुरामा हदैसम्मको अमानवीयता, असंवेदनशीलता र छलकपट, सन्दीप लामिछानेको सबैभन्दा ठूलो गल्ती भएको लेखिका शारदा शर्माले उल्लेख गरेकी छिन्।

सामाजिक सञ्जालमा लेख्दै उनले भनेकी छिन्, ‘यो घटना बाहिर आएयता गौशाला-२६ ले गुजारिरहेको भयावह जिन्दगीप्रति हामी असंवेदनशील बन्यौँ। सन्दीप लामिछानेलाई यति धेरै हौसला दियौँ, वाहवाही गर्यौँ, त्यसले शायद उसलाई गलत बाटो समाइरहन थप प्रेरणा पनि भयो होला। गलत कामका निम्ति कसैलाई सचेत गराउनु साटो उक्साइरहने हामी कतिपयको यो व्यवहारलाई दुरुत्साहन भन्न सकिन्न ? यस निम्ति सजाय कसले दिने?’ 

उनले हाम्रो समाजमा एउटै कर्म गरेबापत छोरा र छोरीको जीवन कति फरक किसिमले प्रभावित हुन्छ भन्ने कुरा यसै घटनाले छर्लङ्ग पारेको बताइन्।

मुलुकको एउटा प्रतिभाशाली युवक आफ्नो उर्जाशील उमेरमा यति लामो समय जेल जानु खुशी हुनुपर्ने कुरा पटक्कै नभए पनि भविष्यमा यस्तो नहोस् भनेर सचेत रहन जरूरी रहेको उनले बताइन्।

उनले थपिन्, ‘अब छोरालाई जिम्मेवार बनाएर हुर्काउनेतर्फ विचार गरौँ। हाम्रा छोराछोरी जोसुकै दण्डित हुँदा पनि चोट लाग्ने हामीलाई नै हो, सन्दीपलाई सजाय हुँदा पीडित हुने हामी कतिपयको चेतना गौशाला-२६ को चोटमा किन दुख्दैन? प्रश्न यति मात्रै हो।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.