|

काठमाडौं : चिसो मौसममा धेरैलाई सताउने प्रमुख समस्या हो, जोर्नीको दुखाइ। सामान्य स्वास्थ्य अवस्था भएका मानिसले समेत यो मौसममा सामान्यदेखि जटिल प्रकारमा सम्म जोर्नीको दुखाइसम्बन्धी समस्या झेलिरहेका हुन्छन भने पहिले देखिनै हाड तथा जोर्नी सम्बन्धी समस्या भएकाहरुमा झन जटिलता बढ्ने गर्छ।

जोर्नीको दुखाइ सम्बन्धी समस्याले तुलनात्मक रूपमा पुरुष भन्दा महिलाई धेरै सताउने गरे पनि सबै उमेर समूहलाई देखिने समस्या हो जोर्नी दुख्ने समस्या। अझै यो समयमा धेरैलाई सताउने जोर्नी सम्बन्धी समस्या हो आर्थराइटिस । किन चिसो मौसममा धेरै हाडजोर्नी दुख्ने समस्या बढ्छ? आर्थराइटिस के हो र यसबाट कसरी बच्ने? यही सेरोफेरोमावरिष्ठ अर्थोपेडिक सर्जन डा. विक्रान्त मेहतासँग गरिएको कुराकानी-

किन धेरैलाई चिसो मौसममा हाडजोर्नी दुख्ने समस्या देखिन्छ?

हो, यो मौसममा जोर्नी दुखाइसम्बन्धी समस्या लिएर धेरै बिरामी उपचारका लागि आउँछन्। हाम्रो शरीरमा रहेका साना-साना नशा चिसो मौसममा धेरै प्रभावित हुन्छन्। चिसोले गर्दा यी साना नशा खुम्चिन्छन्। यो समस्या विशेषगरी हाम्रो शरीरमा रहेका जोर्नीमा धेरै हुन्छ। यसका कारण शरीरमा राम्रोसँग रक्तसञ्चार हुन पाउँदैन र राम्रोसँग रक्तसञ्चार नहुँदा जोर्नीको दुखाइ बढ्ने गर्छ।

यस्तै अर्को कारण भनेको शारिरिक अभ्यास हो। चिसोले गर्दा मानिसले शारीरिक अभ्यास खासै गर्दैनन्। यहीकारण जोर्नीको समस्या बढ्छ। सामान्य भाषामा भन्दा हामी शरीरलाई जति निष्क्रिय राख्छौँ त्यति नै जोर्नीको समस्या बढ्छ।

अर्को महत्त्वपूर्ण कारण भनेको खानपान हो। हामीले खाने खानेकुराले पनि शरीरको जोर्नीको स्वास्थ्यमा धेरै असर गरिरहेको हुन्छ। विशेषगरी प्रोटिन तथा क्याल्सियमयुक्त खानेकुराको कम हुँदा जोर्नी तथा हड्डीसम्बन्धी समस्या निम्तिन्छ। प्रोटिन तथा क्याल्सियमयुक्त खानेकुराको कमीले दुख्ने समस्या गर्मी मौसममा पनि हुन्छ। अर्को तर्फ पहिलेदेखि नै ‘आर्थराइटिस’को समस्या भएकालाई पनि चिसो मौसममा गाह्रो नै हुन्छ।

आर्थराइटिस के हो?

आर्थराइटिस अर्थात् गठिया रोग जोर्नीको दुखाइसम्बन्धी समस्या हो। यो समस्या हुँदा शरीरका जोर्नी रातो भएर सुन्निन्छ र त्यहाँ संक्रमण हुन्छ। बिरामीलाई दुख्न थाल्छ। विशेषगरी यो रोगले हातका औँलाको जोर्नी, घुँडा, कम्मर, गर्दन तथा मेरुदण्डमा बढी समस्या निम्त्याउँछ।

किन यही मौसममा बढ्छ आर्थराइटिसको समस्या?

आर्थराइटिस भनेकै जोर्नीको दुखाइसम्बन्धी समस्या हो। चिसोकै कारण शरिरमा राम्रोसँग रक्तसञ्चार हुन नपाउँदा आर्थराइटिस समस्या झन् बढ्न पुग्छ।

नियमित शारीरिक अभ्यास गर्दा समस्या कम हुन्छ।  चिसोको कारणले  अभ्यास कम गर्नाले समस्या बढ्छ।

यो कति किसिमको हुन्छ?

हो,सामान्यतया आर्थराइटिस दुई किसिमको हुन्छ । एउटालाई अस्टियो आर्थराइटिस भनिन्छ भने अर्कोलाई रूमेटाइड आर्थराइटिस भनिन्छ।

अस्टियो आर्थराइटिस घुँडा, कुहिनो, काँध, हात वा पूरै शरीरको कुनै पनि जोर्नीमा यो समस्या देख्न सकिन्छ । रुमेटाइड आर्थराइटिसमा थकान महसुस हुने एवं रोग प्रतिरोध क्षमता कमजोर हुँदै जाने गरेको देखिन्छ । साथै भोक नलाग्ने जस्ता समस्या पनि देखिन्छ ।

आर्थराइटिस वंशाणुगत कारणले पनि हुन्छ। त्यसैले आफ्नो परिवारमा कसैलाई पहिलेदेखि नै आर्थराइटिसको समस्या छ भने सतर्क रहनु पर्छ।

कस्ता व्यक्तिलाई आर्थराइटिसको जोखिम हुन्छ?

विशेषगरी यो समस्या पुरुषको तुलनामा महिलालाई बढी हुन्छ। अझै ‘मेनोपोज’ शुरु भएका र ५० वर्ष उमेर पुगेका महिलामा आर्थराइटिसको समस्या धेरै हुने गरेको पाइन्छ।    

मोटोपन,चोटपटक को कारणले पनि यसको जोखिम बढ्छ। चोटपटकले गर्दा यसको असर मांशपेसी तथा जोर्नीमा हुन्छ र आर्थराइटिसको जोखिम बढाउँछ। कहिलेकाही जोर्नीमा पानी जम्छ र संक्रमण हुन्छ र यसले गर्दा पनि आर्थराइटिसको समस्या देखिन थाल्छ।

अर्को महत्त्वपूर्ण कुरा के हो भने पछिल्लो २५ वर्षकै युवामा पनि यो समस्या देखिएको छ। जसको प्रमुख कारण  भनेको चिकित्सकको प्रेस्क्रिप्सनविना जथाभावी स्टोराइड तथा दुखाइ कम गर्ने औषधीको सेवन पनि हो। स्टोराइड औषधीले हड्डी फुस्रो हुने, हड्डी खिइने समस्या बढाउँछ। जसले जोर्नीको दुखाइ बढाउनुका साथै आर्थराइटिसको समस्या पनि देखाउन थाल्छ।

सामान्य खालको जोर्नी दुखाइ र आर्थराइटिसबीच के फरक छ?

सामान्य खालको जोर्नीको दुखाइ सामान्यतया चिसोको कारण, चोटपटक, शारीरिक अभ्यासको कमी तथा खानपानको कमि (विशेषगरी प्रोटिन क्याल्सियमयुक्त खानेकुरा)को कारण हुन सक्छ। तर आर्थराइटिस भनेको जोर्नीको एक किसिमको रोग  नै हो। तर चिसो तथा अन्य कारणले आर्थराइटिसको कारण भएको जोर्नीको दुखाइ तथा समस्या भने बढ्न  सक्छ।

चिसो तथा अन्य कारणले भएको जोर्नीको दुखाइ जीवनशैली परिवर्तन गरेमा ठिक हुन्छ अर्थात्  न्यानो कपडा लगाउने र क्याल्सियम प्रोटित तथा भिटामिन डीयुक्त खानेकुरा खाने तथा तेल तथा अन्य औषधीले मालिस गर्दा तथा तातोले सेक्दा ठिक हुन्छ।

तर आर्थराइटिसको समस्या भएका र चिसोकै कारण यो समस्या झन् बढेकालाई घरेलुरूपमा अपनाइने उपायले कम नहुन सक्छ। किनकि जोर्नी तातो रातो भएर सुन्निएको हुन्छ। आर्थराइटिसको समस्या भएकाले चिकित्सकको परामर्श लिनै पर्छ। किनभने आर्थराइटिस कुन स्टेसमा छ भन्ने कुराले यसलाई उपचारबाट पूर्ण सञ्चो हुने नहुने कुराको निर्धारण गर्छ। पहिलो र दोस्रो चरणको आर्थराइटिसलाई औषधी तथा फिजियोथेरापी, खानपानले पनि ठिक पार्न सकिन्छ। तर तेस्रो चरणमा पुगि सकेको  आर्थराइटिसलाई भने जोर्नी नै प्रत्यारोपण गर्नु पर्ने अवस्था आउन सक्छ। तोस्रो चरणको आर्थराइटिसमा जोर्नीको हड्डी खिइसकेको हुन्छ जसले गर्दा बिरामीलाई आफ्नो दैनिक क्रियाकलाप गर्नै समस्या भइरहेको हुन्छ।  

यस्ता समस्याबाट बच्न कस्ता उपाय अपनाउनु पर्छ?

चिसो मौसमामा विशेषगरी आर्थराइटिसको समस्या भइरहेकाले विशेष सावधानी अपनाउनु पर्छ। यो मौसममा आर्थराइटिस तथा जोर्नी दुख्ने समस्याबाट बच्न सकभर नियमित शारीरिक अभ्यास छुटाउनु हुँदैन। घर बाहिर गर्न नसके पनि घरभित्रै भए पनि नियमित व्यायाम गर्नु पर्छ। जोर्नीको दुखाइको समस्या भएकालाई शारिरिक अभ्यासका साथै फिजियोथेरापी एक किसिमको उपचार नै हो।

यस्तै न्यानो कपडा लगाउने, विशेषगरी क्याल्सियम प्रोटिन तथा भिटामिन डीयुक्त खानेकुरा खाने गर्नुपर्छ। चिकित्सकको सिफारिसविना जथाभावी औषधी खानु हुँदैन।

फलफूल तथा र झोलिलो खानेकुरा खानेकुरा खानुपर्छ। चिसो खानेकुरा खानु हुँदैन। यस्तै जोर्नी दुख्ने समस्या भएकाले सकभर गोडभेडा नखाएकै राम्रो हुन्छ।

वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. मेहता प्रादेशिक अस्पताल गौरमा कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.