|
नेपाल फोटो लाइब्रेरी

बिहानै चिसोमा ललितपुरको लगनखेलस्थित एउटा फल्चामा नगरप्रहरी हावा फाल्ने मेसिनले सफा गरिरहेका हुन्छन्। दिउँसोको समयमा भीडभाड हुने भएकाले बिहानैको चिसोमा ललितपुर महानगरका नगरप्रहरीहरू महानगरभित्रका सम्पदा संरक्षणमा लागिपरेका हुन्छन्। यहाँ पूर्व ट्राफिक प्रहरी समेत रहेका सीताराम हाछेथु ललितपुर महानगरको नगरप्रहरी प्रमुख भएर काम गरेको झण्डै चार वर्ष भइसकेको छ।

महानगरभित्र रहेका सम्पदा संरक्षणमा नगरप्रहरीको भूमिका कस्तो छ त ? महानगरवासी नगरप्रहरीको कामप्रति कति सन्तुष्ट छन् त ? यसै विषयमा मनीष अर्यालले ललितपुर महानगरप्रहरी प्रमुख सीताराम हाछेथुसँग गरेको कुराकानी -

नगर प्रहरीको दिनचर्या कसरी सुरु हुन्छ ?

बिहान सात बजेदेखि नगरप्रहरीको ड्युटी सुरु हुन्छ। बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा नगरप्रहरी खटिन्छन्। सम्पदा क्षेत्रमा १५ जना छुट्टै ड्युटी बस्छन्। पहिला १० देखि ५ बजेसम्म मात्र हुने ड्युटी अहिले हामी नगरवासीमाझ २४ सै घण्टा उपलब्ध छौँ। बिहानै नगरभित्र हुने फोहरमैला निगरानीदेखि अनधिकृत पार्किङ र सम्पदा संरक्षणमा २४ सै घण्टा काम गरिराखेका छौँ।

सम्पदा संरक्षणमा नगरप्रहरीको भूमिका कस्तो छ?
ललितपुर महानगर पाटी, पौवा, स्तुपा, हिती, मन्दिर जस्ता सम्पदाले भरिएको छ। नगरवासीसँग जोडिएका सम्पदा सुरक्षित राख्नु नगरप्रहरीको महत्त्वपूर्ण जिम्मेवारी हो। सम्पदा संरक्षणमा नगरवासीसँग मिलेर काम गरिरहेका छौँ। पाटनदरवारक्षेत्र लगायत अन्य सम्पदामा १५ जना नगर प्रहरी खटाइएको छ। पाटनदरबार लगायत अन्य सार्वजनिक स्थानमा अनैतिक क्रियाकलाप निषेधदेखि धुम्रपान निषेध गराइएको छ। पहिला नगरप्रहरीको काम फुटपाथ व्यापार रोक्ने र अनधिकृत पार्किङ व्यवस्थापन गर्नु मात्रै थियो‚ समयसँगै नगरप्रहरीको दायरा बढाइराखेका छौँ र सम्पदा संरक्षणमा जोड दिँदै आएका छौँ।

नगरप्रहरी र नगरवासीबीच सम्पदा संरक्षणमा कस्तो सहकार्य रहेको छ?

नगरवासीको साथ र सहयोगबिना नगरप्रहरीले मात्र सम्पदा संरक्षण गर्न सक्दैन। नगरवासीको साथमा हामीले काम गरिराखेका छौँ। हामीले नगरवासीका लागि ११३१ निःशुल्क टोल फ्री नम्बर उपलब्ध गराएका छौँ। सम्पदा संरक्षण र अन्य सेवा सुविधाका लागि नगरप्रहरी २४ घण्टा तयारी अवस्थामा हुन्छौँ। महानगरभित्रका सम्पदामा नगरवासीका कथा जोडिएको हुँदा आफ्नो सम्पदा जोगाउन ठूलो भूमिका खेलेको देख्छु।

यसको उदाहरण दिनुपर्दा पाटन दरबारमा रहेको कृष्ण मन्दिरमा एकदमै अनैतिक क्रियाकलाप बढेपछि त्यहाँका बासिन्दाले खबर गर्नुभयो, हामीले महानगरसँग समन्वय गरेर निषेध त गराइयो तर स्थानीय आफैँले मन्दिर छिर्ने ढोकामा भक्तजन मात्र लेखिएको पोस्टर राख्नुभएको छ। यो देख्दा सम्पदा संरक्षणमा नगरप्रहरीको काम बढेसँगै स्थानीय बासिन्दा पनि जागरुक भएको पाइन्छ।

सम्पदा संरक्षण लगायतका अन्य कामका लागि नेपालको स्थानीय तहहरूमा कस्तो छाप दिइरहनु भएको छ ?

सम्पदा संरक्षणमा भर्खरै मात्र बागमती प्रदेश सरकारबाट उत्कृष्ट भई पुरस्कार पनि पाएका छौँ। हाम्रो काम अरूलाई देखाउनेभन्दा पनि नगरवासीको समस्या समाधान गर्नु हो। हाम्रो काममा नगरवासीहरू सन्तुष्ट हुनुहुन्छ जस्तो लाग्छ। राम्रो कुराको नक्कल गर्नुपर्छ। उहाँहरूको नगरप्रहरीलाई के कसरी लाने भनेर काठमाडौं उपत्यकाबाहिरका महानगर, उपमहानगर र नगरपालिकाबाट मलाई निकै फोन आउँछ।

गत हप्ता मात्र धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमालले फोनु गर्नुभएको थियो। उहाँको नगरप्रहरी प्रमुखलाई नगरभित्र गर्नुपर्ने कार्य योजनालाई के कसरी लगिनु पर्छ भनेर छलफल गर्नुभयो। हाम्रो नगरप्रहरी बलको कामले सिकाउन पनि पाइएको छ र सिक्न पनि पाइएको छ।

नगरप्रहरीका लागि आवश्यक कुरा महानगरले उपलब्ध गराएको छ?

ललितपुर महानगरको क्षेत्रफल एकदमै फैलिएको छ। हामीलाई पहिलो कुरा जनशक्ति निकै खाँचो हुने गर्छ। हाम्रो कामसँग सन्तुष्ट भएर भर्खरै मात्र नगरप्रमुखले जनशक्ति थप्ने कार्य योजना अगाडि बढाउनुभएको छ। नगरप्रहरी बलको ७० जनाको संख्या बढाएर १५० गराउने तयारी गरिरहेका छौँ। नगरभित्रका सम्पदा संरक्षणमा थप नगरप्रहरी खटाउने तयारीमा छौँ। नगरभित्र रहेका पाटी, हितीहरूको सरसफाइदेखि हरेक संरक्षणका कुरा अझै थप बढाइनेछ। नगरभित्र आवश्यक ढल सफा गर्ने, दमकल सेवा, एम्बुलेन्स, शववाहनका लागि चाहिने साधन उपलब्ध गराइएको छ। यी सबै सेवा महानगरबाट निःशुल्क रूपमा सञ्चालन गराइरहेका छौँ।

नगरप्रहरी बलको भावी योजना के छ ?

हामीले चाँडै ललितपुर महानगरवासीलाई सहज हुने गरी मोबाइल एप सुचारु गर्दै छौँ। अहिले तत्काललाई एपमा हामीले नगरप्रहरीका कार्यका २१ वटा सुविधा जोडेका छौँ‚ जसमा दमकल सेवा, एम्बुलेन्स सेवा, ढल सफाइ, बाटो बिग्रेको लगायतका काम समेटेका छौँ। नगरप्रहरी बलको कार्यालय पुल्चोकमा कन्ट्रोल रुमबाट निगरानी गरी हामी नगरवासीको समस्या समाधान गर्न तयारी अवस्था रहनेछौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.