|

जनकपुरधाम : धनुषामा मृत लोग्नेसँगै घाइते भेटिएकी अस्मिता शर्माको पनि उपचारको क्रममा मृत्यु भएको छ।

धनुषाको क्षिरेश्वरनाथ-३ स्थित सडकछेउमा मृत श्रीमानसँगै घाइते भेटिएकी अस्मिता शर्माको पनि आज उपचारको क्रममा मृत्यु भएको छ।

सोमबार २५ वर्षीय राधे सहनी मृत फेला परेका थिए भने उनकी पत्नी २० वर्षीया अस्मिता घाइते थिइन्। प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत अस्मिताको आज मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता निरज अवाले बताए।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक कार्कीका अनुसार लोग्ने राधे सोमबार बिहान धनुषाको क्षिरेश्वरनाथ-३ पकडियास्थित सडक छेउको गहुँ खेतमा मृत फेला परेका थिए।

चार महिनाअघि राधे र पकडियाकी अस्मिताबीच प्रेम विवाह भएपछि दम्पती क्षिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए।

आइतबार राति १० बजेतिर केही साथीसँगै ससुराली पकडियाबाट महेन्द्रनगर डेरामा रमाइलो गर्नुपर्छ भनेर ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा अस्मितालाई लिएर हिँडेका राधे डेढ किलोमिटर टाढा दुर्घटनामा परेका थिए।

राधेका साथीहरू दुर्घटनामा परेका राधेलाई छाडेर र अस्मितालाई गम्भीर घाइते अवस्थामा माइती पुर्‍याएर भागेका थिए। माइती पक्षले राधेले नै अस्मितालाई मरणासन्न हुनेगरी कुटपिट गरेर भागेको भन्दै प्रहरीमा खबर गरेका थिए। अस्मितालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो।

रातभर राधेलाई खोजबिन गर्दा सोमबार बिहान उनी मृत अवस्थामा फेला परेका थिए। प्रहरीले भागेका तीनैजना युवकलाई सोमबार दिउँसो नियन्त्रणमा लिएर सोधपुछ गरेपछि मोटरसाइकल दुर्घटना भएको खुलासा भएको हो। राधे मृत फेला परेका ठाउँमा मोटरसाइकल दुर्घटना भएको जस्तो केही पार्टपुर्जा फेला परेको थियो।

राधेले चलाउने मोटरसाइकल अन्य साथीको रहेको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए। कार्कीका अनुसार राधेले अत्यधिक मदिरा सेवन गरी मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार घाइते राधेलाई उपचार गराएको भने बाँच्न सक्थे तर गम्भीर अवस्थामा रातभर कठ्यांग्रिएर उनको मृत्यु भएको प्रहरीको भनाइ छ। उनका साथीहरूले राधे नशामा रहेकाले आफै उठेर आउन सक्ने अनुमानसहित अस्मितालाई माइत पुर्‍याएर भागेका थिए।

मृतक सहनी महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका हुन्। घटनास्थलमा मोटरसाइकलका टुक्रा भेटिएका थिए। दुर्घटना भएको मोटरसाइकल घटनास्थलमा नभेटिएपछि घटनालाई शंकास्पद मानिएको छ।

अस्मिता बोल्न सक्ने अवस्थामा नभएकाले प्रहरीले घटना विवरण सोधपुछ गर्न सकेन। उनको पनि मृत्यु भएकाले अनुसन्धान असहज हुने देखिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले बताए।

राधेसँगै अर्को मोटरसाइकलमा आइरहेका दुई युवक र दुर्घटना भएको मोटरसाइकल धनीलाई नियन्त्रणमा लिएको प्रवक्ता अवाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.