गाँजा मात्रै ६० हजार किलो बरामद

|

काठमाडौँ : केकभित्र गाँजा राखेर बेच्ने काठमाडौँ महानगरपालिका-२९ घट्टेकुलोका २६ वर्षीय विशन मानन्धर गत पुस २२ गते पक्राउ परे।

उनीमाथि केकभित्र गाँजा राखेर अनलाइनमार्फत कारोबार गरेको आरोप छ। प्रहरीले मानन्धरको साथबाट गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केक र ३ किलो गाँजा बरामद गरेको थियो।

२०७९ साल असार २ गते लागुऔषध नियन्त्रण ब्यूरोले ५१ किलो हेरोइनसहित सात जना दक्षिण अफ्रिकन नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

‘ह्वाइट डस्ट’ अपरेशन चलाएर ठमेलका विभिन्न होटलमा छापामारी दुई दिनमा उनीहरूलाई पक्राउ गरिएको थियो। उनीहरूलाई सार्वजनिक गर्ने क्रममा ब्यूरोले ५१ किलो हेरोइनको मूल्य करिब १ अर्ब २ करोड बराबर हुने जनाएको थियो।

लागुऔषध तस्करी, बेचचिबखन, सेवन लगायतप्रकरणमा बरामद भएका लागुऔषध र पक्राउ परेका नागरिकको अवस्था हेर्दा नेपाल लागुऔषधको अखडा बन्दै गएको देखिएको छ। 

६ वर्षको अवधिमा करिब २९ हजार व्यक्ति लागुऔषधकै कारण पक्राउ परेका छन्। दैनिकरूपमा कम्तिमा १३ जना लागू‌औषध प्रकरणमा पक्राउ पर्ने गरेको प्रहरीको अभिलेखले देखाउँछ।

यो आर्थिक वर्षमा मात्र २ हजार ३४२ नेपाली पुरुष र ११८ नेपाली महिला पक्राउ परेका छन्। १२३ भारतीय नागरिक पक्राउ परेका छन् भने ६ जना तेस्रो मुलुकका पक्राउ परे।

उनीहरूको साथबाट ५ हजार ६८० किलो गाँजा, १४७ किलो चरेश, २ हजार ६४७ किलो अफिम बरामद गरिएको छ। यो वर्ष हेरोइनको ओसारपसारमा भने कमी आएको छ।

२०७९/८० को तथ्यांक हेर्ने हो भने करिब ६ हजार १८६ जनालाई प्रहरीले पक्राउ गरेको थियो। जसमा ४ हजर १०२ जनालाई मुद्दा चलाएको थियो। पक्राउ पर्नेमा ५ हजार ९५९ जना नेपाली रहेका छन्। जसमा ५ हजार ६३५ जना पुरुष रहेका छन् भने ३२४ जना महिला रहेका छन्।

लागुऔषधका घटनामा विदेशी नागरिकहरू पक्राउ पर्ने संख्या पनि कम छैन। यो अवधिमा  २०३ जना भारतीय नागरि पक्राउ परे। जसमा १९४ जना पुरुष छन् भने ११ जना महिला छन्। अन्य मुलुकका १५ पुरुष र ८ महिला पनि पक्राउ परे।

प्रहरीले वर्षमै हजारौँलाई पक्राउ गरी मुद्दा चलाउँछ तर पनि लागूऔषध प्रयोग र ओसारपसारमा कमी आउन सकेको छैन। बरु उल्टै नेपाल ट्रान्जिट बन्ने डर बढ्दो छ, जसले मुलुकसामु ठूलो चुनौती खडा हुन पुगेको छ।

कति लागुऔषध बरामद भए?

पछिल्लो ६ वर्षको अवधिमा देशभरबाट ६० हजार ३०४ किलो गाँजा बरामद भएको छ।

सोही अवधिमा ४ हजार ९८७ किलो चरेस बरामद भएको हो। अफिम ओसारपोसार पनि व्यापक देखिएको छ। यो अवधिमा ३ हजार ७८९ किलो अफिम बरामद भएको छ।

प्रहरीले यो अवधिमा ९७ किलो हेरोइन पनि बरामद गरेको छ। त्यस्तै पछिल्लो समय कोकिनको प्रयोगकर्ता पनि व्यापक फैलिरहेको देखिएको छ। 

यस अवधिमा ३२ किलो कोकिन प्रहरीले बरामद गरेको छ। पोल्याण्ड, एमफेटामाइन, स्पास्मो, एभील, फेनारगनलगायतका लागुऔषधहरू पनि प्रहरीले बरामद गर्ने गरेको छ।

कुन वर्ष कतिलाई मुद्दा चलाइयो?

पछिल्लो ६ वर्षमा लागुऔषधका कारण नै २९ हजार २९५ जना पक्राउ परेका मध्ये १९ हजार २३२ जनालाई मुद्दा चलाएको छ।

चालु आर्थिक वर्षमा २ हजार ५८९ जना पक्राउ पर्दा १ हजार ६५८ जनालाई मुद्दा चलाइएको छ। प्रहरीका अनुसार ७५/७६ मा ५ हजार ५५८ जना पक्राउ पर्दा ३ हजार ७०३ जनालाई मुद्दा चलाइएको थियो।

यस्तै, ७६/७७ मा ४ हजार ५४६ जना पक्राउ पर्दा २ हजार ९०० जना,  ७७/७८ मा ४ हजार ६०२ जना पक्राउ पर्दा ३ हजार १३ जना, ७८/७९मा ५ हजार ७ सय ८९ जना पक्राउ पर्दा ३ हजार ८५६ जना, ७९/८० मा ६ हजार १८६ जना पक्राउ पर्दा  ४ हजार १०२ जनामाथि मुद्दा चलाइएको छ।

लागुऔषध देशको समस्या

लागुऔषधको प्रयोग र तस्करी नेपालमा समस्याको रूपमा देखा परेको छ। गाँजा, चरेस, अफिम, हेरोइन जस्ता निषेधित पदार्थ र कोकिनलगायत नियन्त्रित नशालु पदार्थ प्रयोग गर्ने गरिएको छ। 

लागुऔषधका प्रयोगकर्ता बढ्नु, अपराधको दर बढ्दै जानु, अवैध कारोबार बढ्नु चिन्ताजनक अवस्था रहेको यस क्षेत्रका विज्ञहरू बताउँछन्।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी रहेको बताएका थिए।

विकासका संवाहक र भविष्यका उत्पादनशील युवा जनशक्ति दुर्व्यसनमा फस्दा व्यक्ति स्वयं, परिवार, समाज र राष्ट्रका लागि हानिकारक हुने उनको भनाइ थियो।

लागुऔषध दुरुपयोगको रोकथाम र नियन्त्रण बहुसरोकारको विषय भएकाले सम्बद्ध निकायको समन्वय र सहकार्यबाट लागुऔषधको उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार  नियन्त्रण गर्नु जरुरी रहेको उनले बताएका छन्। 

गृहमन्त्री श्रेष्ठ पुनःस्थापना, जोखिम न्यूनिकरण, बिरामीको सामाजिक पुनःस्थापना जनचेतनामूलक अभियानका लागि तीन तहकै सरकारको नीति कार्यक्रममा समावेश गरी अघि बढ्न जरूरी रहेको बताउँछन्। 

बरामद भएको लागुऔषध के हुन्छ?

बरामद भएका लागुऔषध सरकारी नीति अनुसार नै नष्ट गरिने प्रहरीले बताएको छ। ​लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी उपरिक्षक चक्रराज जोशीले बरामद गरेको लागुऔषध देशको कानुनले निर्देशित गरे अनुसार नष्ट गरिने जानकारी दिए। उनले ब्यूरोका इकाई देशभर करिब १५ वटा रहेको बताए। 

थाहाखबरसँग कुरा गर्दै उनले पक्राउ परेका व्यक्ति र बरामद भएका लागुऔषधलाई प्रहरीले सम्बन्धित जिल्लाका ब्यूरोलाई जिम्मा लगाउने बताए।

ब्यूरोका कार्यालय नभएका जिल्लामा भने केन्द्रकै प्रहरी परिचालन हुने उनले उल्लेख गरे। लागुऔषध नियन्त्रण ऐन २०३३ मा बरामद भएका लागुऔषध नष्ट गरिने व्यवस्था छ। 

'उक्त ऐनको दफा ११ (क)मा लागुऔषधसम्बन्धी मुद्दामा अदालतबाट म्याद थप भएको १५ दिनभित्र बरामद भएको लागुऔषध नष्ट गर्नुपर्ने व्यवस्था छ’, उनले थाहाखबरसँग भने, ‘जिल्ला अदालतका प्रतिनिधि, ब्यूरोका प्रतिनिधि र स्थानीय जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको रोहबरमा उक्त लागुऔषध नष्ट हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.