|

काठमाडौं : एकीकृत समाजवादीले यही माघ २५ गतेदेखि महाधिवेशन केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ।

आगामी वैशाखसम्म सञ्चालन  हुने अभियानअन्तर्गत सङ्गठन सुदृढीकरण, सदस्यता वितरण, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण र प्रशिक्षणलगायत कार्यक्रम तय भएको छ।

आगामी जेठमा राष्ट्रिय महाधिवेशन गर्न लागेको पार्टीले मातहतका कमिटीलाई यही माघ १४ र १५ गते काठमाडौँमा हुने आसन्न दोस्रो केन्द्रीय परिषद् बैठकमा सहभागी हुन आउने सबै नेतालाई पार्टी सदस्यता नवीकरण गर्न निर्देशन दिएको छ। विधान संशोधन मस्यौदाबारे छलफल गरिने सो बैठकमा पार्टीले तयार पारेको विधान संशोधन मस्यौदामा तल्लो कमिटीका सुझाव समावेश गरिनेछ।
 
बैठकमा सहभागिताका लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीमा रहेका नेताले समयमै आफ्नो कार्यक्षेत्रका केन्द्रीय परिषद् सदस्यलाई बैठकबारे जानकारी गराउनुपर्ने प्रावधान राखेको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

पार्टीको विधान संशोधनबारे मातहतका प्रदेश र जिल्ला कमिटीबाट सुझाव आएपछि विधान मस्यौदाको अन्तिमरूप दिइने छ। पार्टी केन्द्रले सुझाव संकलनका लागि विधानको मस्यौदा प्रदेश, जिल्ला कमिटीमा पठाइएको छ। पार्टी सदस्यता विस्तार तथा संगठन सुदृढीकरण गर्न तल्लो तहलाई निर्देशन दिएको पार्टीले यही माघ ८ गते विधान मस्यौदा समितिको बैठक बोलाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.