|

विराटनगर : कोशी अस्पताल विराटनगरको मेडिकल भवन निर्माणको जिम्मा लिएको कन्स्ट्रक्सन कम्पनीले काम लगाएका ठेकेदारको रकम भुक्तानी नगरि ठेकेदार नै फेर्ने गरेको पाइएको छ।

संघीय आयोजना कार्यान्वयन एकाइअन्तर्गत २ अर्ब १७ करोड ६६ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण भईरहेको मेडिकल भवनको प्रारम्भिक कामका क्रममा केसी कन्ट्रक्सन फ्रिम कम्पनीले निर्माण सामाग्री आपूर्तिकर्ताहरुको भुक्तानी नदिएको हो।

निर्माण कम्पनीकोतर्फबाट फिल्डमा रहेका सुशील झाले निर्माण सामाग्री गिटी–बालुवा र ढुंगाको पैसा नदिएपछि माग्न जाँदा बुधवार आपूर्तिकर्ता अनुरोध यादवलाई प्रहरी बोलाएर पक्राउ गराएको आरोपसमेत लागेको छ।

यादवले २ लाख ९० हजार रुपैँया भुक्तानी पाउनुपर्ने भएकाले उनी सो रकम माग्न झासँग पुगेका थिए। तर भुक्तानी लिन जाँदा झाले उनलाई गेटबाहिर निकालेर दुर्व्यवहार गर्दै प्रहरीको जिम्मा लगाएको आरोप छ । प्रहरीले पक्राउ गरेर लगेपछि भुक्तानी माग्न गएको बताएका यादवलाई छोडिदिएको छ।

उनी फर्केर आएपछि बिहीवार पुनः कोशी अस्पतालको निर्माणस्थल पुग्दा गेट बन्द गरेर उनलाई बाहिरै रोकिएको छ। यसैगरी कविता पाइलिङ कम्पनीले पिलरको काम गरेवापत ३ लाख ६१ हजार रुपैँया पाउन बाँकी छ।

त्यसका लागि होसनारायण राउतले भुक्तानी माग्दा उनलाई हटाएर पाइलिङको काम गर्ने नयाँ ठेकेदारलाई जिम्मा दिइएको छ। नयाँ कम्पनीलाई जिम्मा दिएर झाले पुरानो कम्पनीको रकम भुक्तानी नगरेका हुन्। राउतलाई समेत निर्माणस्थल परिसरमा पस्न निषेध गरिएको छ।

यसअगाडि पनि झाले पाइलिङको काम अर्कै कम्पनीमार्फत गराएका थिए। त्यसको १७ लाख रुपैयाँ भुक्तानी माग्न पुगेपछि हटाएर कविता पाइलिङलाई काम दिएका थिए। कविता पाइलिङको भुक्तानी रोकेर कामबाट हटाउँदै झाले नयाँ कम्पनीलाई काम दिएका हुन्।

यसैगरी एक महिनासम्म काम गरेका मजदुर कृष्ण उरावको ३० हजार रुपैँया भुक्तानी नदिईकन झाले उनलाई कामबाट निकालेका छन्।

कामबाट हटाएर भुक्तानी नदिएपछि बिहीवार निर्माण सामाग्री आपूर्तिकर्ताहरुले निर्माणस्थल बाहिर धर्नामा बसेका थिए तर संघबाट आयोजना अनुगमन गर्न मन्त्री आउने भएपछि प्रहरीले उनीहरुलाई शुक्रवार १२ बजेसम्म ठेकेदार कम्पनीका प्रतिनिधि झासँग भेट गराउने आश्वासन दिएर थामथुम बनाएको छ।

झाले प्रमुख जिल्ला अधिकारी र प्रहरी ‘आफ्नो खल्तीमा रहेको’ भन्दै सामान आपूर्ति गर्ने ठेकेदारहरुलाई धम्क्याउँदै आएका छन्।

‘पैसा माग्न आएको भए अहिले प्रहरी खोरमा पुग्छस् भन्छन्‚’ पक्राउ परेर छुटेका यादवले भने‚ ‘ठेकेदार कम्पनीको प्रतिनिधि हो कि गुण्डा हो?’

झासँग यस विषयमा बुझ्नका लागि फोन गर्दा उनले यसबारे कुरा गर्न भेट्न नसक्ने बताएका छन्।

५ सय शय्याको मेडिकल भवनमा दुई तलाको भूमिगत पार्किङ रहनेछ। पहिलो अन्डरग्राउन्ड पार्किङमा ३४ वटा कार, ७७ वटा मोटरसाइकल र मेडिकल स्टोर रहनेछ। अर्को भूमिगत पार्किङमा २५ वटा कार‚ ८५ वटा मोटरसाइकल र औषधि पसल रहनेछन्।

पहिलो तलामा रजिस्ट्रशन, रेडियोलोजी, ब्लड बैंक, ल्याब, फार्मेसी र जनरल स्टोर, पहिलो तलामा पीसीआई, एनआईसीयू वार्ड र ९१ शय्याको बच्चाको वार्ड रहनेछ। 

दोस्रो तलामा ९१ शय्याको अर्थोपेडिक वार्ड, तेस्रो तलामा ९१ शय्याको मेडिकल वार्ड, चौथो तलामा १०३ शय्याको ट्रमा सर्जिकल वार्ड रहनेछ। जसमा आँखा, नाक, कान, घाँटी, डेन्टल र जनरल सर्जरी वार्ड रहनेछन्।

निर्माणाधीन भवनमा सीएसएसडी, पोस्टअपरेशन वार्डका साथै सातौँ र आठौँ तलामा सेमिनार र बैठक कक्ष हुनेछन् भने भवनमा ६ वटा लिफ्ट रहने गरी नक्सा डिजाइन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.