'न्याय माग्दा थप मानसिक यातना भोग्न बाध्य पीडित'

|

काठमाडौं :  नेपालमा प्रत्येक दिन चार बालिका बलात्कृत हुने गरेका छन्।​ बालिकामाथि हुने बलात्कारको घटनाले भयावह अवस्था सिर्जना भइरहेको संकेत गर्छ। 

पाँच वर्षयताको तथ्यांक हेर्ने हो भने करिब ७ हजार ५५३ बालिका बलात्कारको शिकार भएका छन्। यस्तै ४ हजार २०० महिला बलात्कृत भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०७५/७६ मा १ हजार ४२० बालिका र ८८२ महिला बलात्कारको शिकार भएका छन्।

यस्तै,  ०७६/७७ मा १ हजार ३९३ बालिका बलात्कृत हुँदा ७७१ जना महिला पीडित बने। ०७७/७८ मा १ हजार ६६५ बालिका र ८८८ महिला पीडित बनेका छन् भने एक बालक पनि बलात्कारको शिकार भएका छन्। ७८/७९ मा १ हजार ५६० बालिका र ८३५ महिला बलात्कृत भएका छन्। अघिल्लो वर्षमात्र १ हजार ५१५ बालिका बलात्कृत हुँदा ८८२ महिला पीडित बनेका छन्।

अधिकांश बालिकामाथि ललाइफकाइ वा लोभ देखाएर बलात्कार हुने गरेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकाल बच्चाले सबैसँग सजिलै विश्वास गर्ने हुँदा  त्यसैको फाइदा उठाएर अपराधीले बलात्कार गर्ने गरेको बताउँछन्।

तथ्यांक हेर्दा बालिकाहरू परिवार समाज र आफन्तबाट समेत असुरक्षित भएको देखाउँछ। ‘अपराध कर्ममा संलग्न यही समाजका व्यक्तिहरू हुन्। अपराध गर्ने व्यक्ति जुनसुकै रूपमा पनि समाजमा डुलिरहेकै हुन्छ’, ढकालले भने। महिलामाथि भएका हिंसा विशेषगरी बलात्कारजस्ता अपराधविरुद्ध समाज एकजुट हुनुपर्ने उनी बताउँछन्।

दैनिक ५ जना बलात्कारमा संग्लन

आव ०७५/७६ मा २ हजार २३२ जना बलात्कारको आरोपमा पक्राउ परेका थिए भने ०७६/७७ मा १ हजार ९२३ जना पक्राउ परे। आव ०७७/७८ मा २ हजार ११७ जना पक्राउ परे।  यस्तै आव ७८/७९ मा २ हजार ३४ जना पक्राउ परेका छन्। पछिल्लो पाँच वर्षमा मात्रै १० हजार १५९ जना बलात्कारको आरोपमा पक्राउ परेका छन्, जसमा १०० महिला छन्।

नेपालमा भएको बलात्कारका घटनामा विदेशी पनि पक्राउ परिरहेका छन्।  पछिल्लो पाँच वर्षमा ८७ जना पक्राउ परेका छन्। आव ०७९/८० मा १७, आव ०७८/७९ मा १४ जना, आव  ०७७/७८ मा ११, आव  ०७६/७७ मा १९ जना  र आव ०७५/७६ मा २६ विदेशी पक्राउ परेका छन्।

घरेलु हिंसामा पीडित महिला

यौन हिंसामा रहेका बालिका तथा महिला घरेलु  हिंसाबाट आक्रान्त छन्। यौनहिंसाको शिकार भएकामाथि घरपरिवारले नै मानसिक, आर्थिक, शारीरिक हिंसा गर्ने गरेको पाइएको हो।उनीहरूमाथि  भएका ९०२ घटना राष्ट्रिय महिला आयोगमा दर्ता भएका छन्। 

आयोगको तथ्यांकअनुसार २०७९/८० तथ्यांकअनुसार  मानसिक हिंसाका ८५२, आर्थिक हिंसा ५९२ , शारिरीक हिंसाका ६०९ र यौनहिंसाका ५३ घटना दर्ता भएका छन्।  कुटपिट, अंशवण्डा, मानाचामल, बहुविवाह र बोक्सीलगायत घरेलु हिंसा हुने गरेको तथ्य आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा छ।

आयोगकी प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडा समाजमा महिलामाथि हुने हिंसा अझै बाहिर आउन नसकेको बताउँछिन्।

‘महिलाहरू परिवारकै सदस्यबाट असुरक्षित छन्। पितृसत्ताका कारण महिलाहरू आफूमाथिको भएका अन्याय खुलेर भन्न सक्ने अवस्थामा हुँदैनन्’, उनले भनिन्, 'न्यायका लागि आवाज उठाउँदा महिलाहरूलाई समाज र परिवारले विभिन्न नाममा मानसिक यातना दिने परिपाटी छ।'

आयोगमा आउने महिलाको संख्या एकदमै नगण्य मात्र रहेको उनको टिप्पणी छ। हिम्मत गरेर आएका महिलालाई समन्वयकारी भूमिका आयोगले गरिरहेको उनले बताइन्। ‘आफू अन्यायमा परेको वा हिंसा पर्नेबित्तिकै न्यायका लागि सम्बन्धित निकायमा पुग्नुपर्छ भन्नेमा अझै पनि धेरै सचेत छैनन्।

‘महिलामाथि हुने हिंसाविरुद्ध फास्ट ट्र्याकमा न्याय दिन सकिने व्यवस्था हुने हो भने धेरै महिलाहरू पीडित भइरहन पर्दैन थियो’,प्रवक्ता पौडेलले भनिन्।

बलात्कार कसुरमा यस्तो छ कानुन

मुलुकी अपराध संहिताको दफा २१९ मा  कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ।

‘करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन’, भन्ने उल्लेख गरिएको छ।

‘होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन, गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनिमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्गबाहेक अन्य कुनै वस्तु योनिमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिनेछ’, संहितामा उल्लेख छ।

(क) १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्मकैद।

(ख) १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १८ वर्षदेखि २० वर्षसम्म कैद।

(ग) १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म कैद।

(घ) १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद।

(ङ) १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म कैद।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.