दोषीमा प्रहरी, सेना, कर्मचारीदेखि सिडिओसम्म

|

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले कारबाहीका लागि गरेका सिफारिश कार्यान्वयनमा सरकारले बेवास्ता गरेपछि दोषीहरुको नामावली आयोगले सार्वजनिक गरेको छ।

आयोगले कारबाहीका लागि सिफारिश गरिएका मानव अधिकार उल्लंघनका ६० जना दोषीहरुको नामावली नै सार्वजनिक गरेको हो। जसमा नेपाल प्रहरीतर्फ प्रहरी जवानदेखि प्रहरी उपरीक्षकसम्म ३२ जना छन्।

राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरी बलका १/१ जना र नेपाली सेनाका ४ जना मानव अधिकार उल्लंघनका दोषी रहेको आयोगले जनाएको छ।

निजामति कर्मचारीतर्फ १२ जना छन्। जसमा प्रमुख जिल्ला अधिकारी, कारागार प्रमुख, नायव सुब्बालगायत दोषी देखिएका छन्।

तत्कालीन नेकपा माओवादीका १० जना नेता कार्यकर्ता मानव अधिकार उल्लंघनमा दोषी देखिएको बताएको आयोगले सिफारिश गरेका ६६ जनामध्ये ६ जनालाई कारबाही भएको भन्दै नाम सार्वजनिक गरेको छैन।

आयोगले सिफारिश कार्यान्वयनको अवस्थामा सुधार आउन नसकेको दोहोर्‍याउँदै चालु आर्थिक वर्षमा थप १२ जनालाई कारबाही गर्न सिफारिश भएको बताएको छ।

४४ वटा उजुरीमाथि निर्णय हुँदा ३७ वटा उजुरीमा कारबाही गर्न तथा क्षतिपूर्ति भराउन सिफारिश गरिएको आयोगका प्रवक्ता एवं सहसचिव डा टीकाराम पोखरेलले बताए।

उनका अनुसार चालु आर्थिक वर्षमा २१ जना पीडितलाई १४ लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति दिन र १२ जनालाई कारबाही गर्न आयोगबाट सिफारिश भएको हो।

पछिल्लो ६ महिनामा मानव अधिकार उल्लंघन तथा दुरुत्साहनका ५८ वटा उजुरी आयोगमा दर्ता भएका छन्। गत आर्थिक वर्षमा आयोगले ३५४ उजुरीमाथि अनुसन्धान सकेको थियो।

आर्थिक वर्ष ०७९/८० मा ११० वटा उजुरीबारे सिफारिश हुँदा १०२ वटामा कारबाही र क्षतिपूर्ति दिन सुझाइएको छ। १३ वटा नीतिगत सुधारका सिफारिश गरिएको आयोगका प्रवक्ता पोखरेलले बताए।

कारबाही र क्षतिपूर्तितर्फ कानूनी कारबाही तथा विभागीय कारबाहीका लागि ७६ वटा सिफारिश गरिएको छ। जसमा ६६ जनाको नाम नै किटान गरि कारबाहीको सिफारिश गरिएको छ।

आयोग स्थापनादेखि हालसम्म मानव अधिकार उल्लंघन दुरुत्साहनमा दोषी पहिचान गरिएका व्यक्तिको संख्या ३५८ जना पुगेको सहसचिव डा पोखरेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.