|

झापा : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले झापा कारागारको फोहरमैला व्यवस्थापनका लागि पहल गर्ने बताएका छन्।

झापा जिल्ला कारागारमा आज बन्दी विकास पुस्तकालयको २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले क्षमताभन्दा बढी कैदीबन्दीका कारण सिर्जित समस्या समाधानमा पहल गर्ने बताएका हुन्। उनले परिबन्दमा परेर कठोर जेलजीवन बिताउन बाध्य कैदीबन्दीले पाउनुपर्ने न्यूनतम सुविधामा नजरअन्दाज गर्न नमिल्ने धारणा राखे।

सभामुख घिमिरेले कैदीबन्दीले विगतको गल्तीबाट पाठ सिकेर कैद भुक्तानपछिको बाँकी जीवनलाई समाज रूपान्तरणमा लगाउन आग्रह गरे। ‘देशमा राम्रा र सुविधा सम्पन्न बन्दी गृह बनाउनुभन्दा कोही पनि बन्दी बनेर आउने परिस्थिति सृजना हुन नदिने वातावरण बनाउनुपर्छ’, उनले भने, ‘अपराध गर्ने मनोवृत्ति नियन्त्रण गर्नुपर्छ, पूर्वाग्रह र जालसाजबाट जो कोहीलाई पनि फसाउने वातावरण बन्नु हुँदैन। त्यसो भए जेल नै चाहिँदैन।’

उनले कैदीबन्दीको विविध समस्या सुधारका लागि आफूले कोसिस गर्ने आश्वासन दिए। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागार प्रमुख मोहनलाल पनेरूले बताए। उनका अनुसार एक हजार ५२७ पुरुष, दुईजना नाबालक र ९२ जना महिला गरी एक हजार ६२१ जना कैदीबन्दी कारागारमा छन्।

उनले विगत एक वर्षअघि थपिएको एउटा भवनसहित गरी सात सय कैदीबन्दी अट्ने क्षमता रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीका कारण फोहरमैला व्यवस्थापनमा समस्या बढिरहेको बताए। बन्दी विकास पुस्तकालयका सचिव रमेश पोखरलले नेपाल सरकारले उपलब्ध गराउँदै आएको दैनिक रु. ८० र सात सय ग्राम चामलले जीवन धान्न कठिनाइ भइरहेको बताए।

उनले कारागारमा बन्दी जीवन बिताइरहेकाहरूका लागि सीप सिकाउने, खेलहरू खेलाउने, अध्ययन अध्यापनमा रुचि जोगाउने काम गर्दै आएको बताए। कार्यक्रममा प्रतिनिधिसभाका सदस्य एलपी सावा, प्रदेशसभा सदस्य चिन्तन पाठक, गोपाल तामाङ, पूर्वसदस्य वसन्त बानियाँ, मेचीनगरका नगर प्रमुख गोपाल बुढाथोकी, दमक नगरकी उपप्रमुख रेगिना भट्टराई लगायतलाई बन्दी पुस्तकालयलाई सहयोग गरेबापत सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.