|

काठमाडौँ : राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ‘एलो फिभर’विरुद्धको खोप उपलब्ध गराउन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा टेकुको शुक्रराज ट्रपिकलले माघ २ गते यो खोप सेवा शुरु गरेको हो।

यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) बाट दिइँदै आएको खोप शुक्रराजबाटै दिन थालिएको अस्पतालका निर्देशक डा. युवनिधि बसौलाले बताए। टेकु अस्पतालका निर्देशक डा बसौलाले भने‚ ‘धेरैलाई थाहा नहुन सक्छ हामीले एलो फिभरविरुद्धको खोपसमेत उपलब्ध गराउन शुरु गरिसकेका छौँ।’

विश्वका ४२ भन्दा बढी देश जाने नेपालीले अनिवार्य रुपमा लगाउनैपर्ने यो खोप निजी स्वास्थ्य संस्थामा ८ हजार रुपैयाँसम्म पर्ने गरेको छ भने सरकारी स्वास्थ्य संस्था (टेकु अस्पतालमा) मा लगाउँदा एक मात्राको ३ हजार ६ सय रुपैयाँमा उपलब्ध हुँदै आएको छ।

विश्व स्वास्थ्य संगठनले ४२ भन्दा बढी देशलाई एलो फिभरको जोखिमयुक्त देशको सूचीमा राखेको छ। जसमध्ये २० वटा अफ्रिकी र एउटा अमेरिकीसहित हाल २१ वटा देशले आफ्नो देशमा आउने अन्तरराष्ट्रिय यात्रुले एलो फिभरको खोप लगाएको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने प्रावधान राखेका छन्।

नेपालमा भने कंगोलगायत अफ्रिकी देश जाने नेपालीले अनिवार्य रुपमा यो खोप लगाउनु पर्छ। टेकु अस्पतालका अनुसार नेपालमा विशेष गरी शान्ति सेनामा जाने नेपाली सेनासहित दैनिक १० देखि २० जनाले यो खोपको लगाउने गरेका छन्।

के हो ‘एलो फिभर’ संक्रमण?

डेंगुजस्तै लामखुट्टेको टोकाइबाट सर्ने यो रोग एक प्रकारको सरुवा रोग हो। प्रायः डेंगु संक्रमण हुँदाजस्तै देखिने यो रोगको मुख्य लक्षण ज्वरो आउने र आँखालगायत शरीरमा पहेँलो मात्रा बढ्दै जाने हुनाले यसलाई एलो फिभर भनिने गरेको सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्।

एलो फिभर संक्रमण भएपछि ६० प्रतिशत बिरामी सामान्य उपचार गरेर ठिक हुने गरे पनि ४० प्रतिशतमा भने जटिलता देखिने र मृत्युसमेत हुने गर्छ।

 ‘डेंगुजस्तै लामखुट्टेको टोकाइबाट सर्ने यो सरुवा रोग हो‚ यसको मुख्य लक्षण भनेको ज्वरो आउने र शरीर पहेँलो हुँदै जाने हो तर संक्रमण भएका ४० प्रतिशतमा जटिलता आउने गर्छ, जसले गर्दा यसको संक्रमण धेरै भएका देशहरुमा खोप अनिवार्य गरिएको छ‚’ डा पुनले भने‚ ‘एलो फिभर संक्रमण भएर जटिलता देखिँदा शरीर नै पूरै पहेँलो हुने र आन्तरिक रक्तस्राव भएर मल्टी अर्गान फेल हुने गर्छन्।’

नेपालमा हालसम्म यसको संक्रमण नदेखिए पनि बढ्दो जलवायु परिवर्तनका कारण जोखिम भने रहेको हुँदा सतर्क रहनुपर्ने उनको भनाइ छ।

‘एलो फिभरको संक्रमण हालसम्म एशियाली देशमा धेरै कम रिपोर्ट भएको छ तर संक्रमणको जोखिम भने छ त्यसैले सतर्क रहनुपर्छ‚’ डा पुनले भने।

एलो फिभरको खोप एक पटक लगाएपछि १० वर्षसम्म काम गर्ने र खोप प्रभावकारी रहेको हुनाले यसको जोखिम धेरै भएका देशहरुमा जाने प्रायः नेपालीले अनिवार्य रुपमा यो खोप लगाउनुपर्ने सुझावसमेत उनले दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.