८०० डाक्टरले ल्याए अस्वाभाविक अंक

|

काठमाडौँ : अस्वाभाविक अंक ल्याएको भन्दै अमेरिकाले युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (युएसएमएलई)मा सहभागी नेपाली चिकित्सकको नतिजा रद्द गरेको छ।

यसले गर्दा यो परीक्षामा सहभागी ८ सय जना नेपाली चिकित्सकले पुन: परीक्षा दिनु पर्ने युएसएमएलईले जनाएको छ। 'युएसएमएलईमा नेपालबाट सहभागी परीक्षार्थीहरूको असामान्यरुपमा राम्रो प्रदर्शन गरेको पाइएकाले अनुसन्धान थालिएको जनाइएको छ। 

अनुसन्धानमा नेपाली परीक्षार्थीले अनपेक्षित रुपमा राम्रो अंक प्राप्त गर्ने तरिका समान देखियो, जसले परीक्षाको नतिजाको बैधतालाई नै चुनौती दिएको छ,' विदेशी चिकित्सकहरूलाई लाइसेन्स दिने अमेरिकाको सर्वोच्च निकाय युएसएमएलईले जारी गरेको एक सूचनामा भनिएको छ।

युएसएमएलईले सहभागी परीक्षार्थीहरूको उत्तर दिने तरिकाले प्रश्नपत्रमा अनाधिकृत पहुँचको आशंका समेत गरेको छ, जसले गर्दा यसमा नेपालले र अमेरिकाले सयुक्तरुपमा अनुसन्धान गर्नु पर्ने समेत जनाइएको छ।

हाल अमेरिकामा नै रहेर चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह अध्ययन गरिरहेका एक नेपाली चिकित्सकका अनुसार एकै पटक धेरै नेपाली चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा रद्द भएपछि अहिले त्यहाँ नेपाली चिकित्सक माझ खैलाबल्ला चलेको छ। 

जसले गर्दा यस वर्षको रेसिडेन्सीको म्याचिङ नै रद्द गर्नुपर्ने आवाज उठिरहेको छ। ति चिकित्सकले भने, ‘यसपटक धेरै नेपाली चिकित्सकको  लाइसेन्स परीक्षाको नतिजा क्यान्सिल भएपछि यो घटनाले भविष्यमा अमेरिका आउन चाहने नेपाली  चिकित्सहरूका लागि पनि अप्ठ्यारो पर्ने देखिएको छ, अमेरिकामा नै बसेर परीक्षा दिएका भन्दा नेपालमा नै बसेर परीक्षा दिएका चिकित्सकको हकमा प्रश्न उठेको देखिन्छ।’

यस घटनाले गर्दा ईसीएफएफजी प्रमाणपत्रका आधारमा अमेरिकामा जे–१ भिसा प्राप्त गरेकाहरूको भिसा स्टेटसमा प्रभाव पर्नुका साथै भविष्यमा यस्ता खालका भिसाबाट अमेरिका पुग्ने नेपालीलाई अप्ठ्यारो पर्ने समेत ती चिकित्सकले बताए।

चिकित्सा शिक्षाको स्नातक तह पास गरेर काम वा थप अध्ययनका लागि भन्दै अमेरिका पुग्ने हरेक अन्तरराष्ट्रिय विद्यार्थीहरूका लागि अमेरिकाले स्टेप १, स्टेप २ र स्टेप ३ गरी तीन चरणको लाइसेन्स परीक्षा दिनुपर्ने हुन्छ।

यता युएसएमएलई नेपाली चिकित्सकहरूको परीक्षामा प्रश्न उठाएपछि शुक्रबार मात्रै उक्त घटनाका बारेमा देखिएको समस्या समाधान गर्न नेपाल चिकित्सक संघ, नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसहितले  परराष्ट्र मन्त्रालयमार्फत संवाद थालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.