|

काठमाडौं : नेपालमा कुल क्यान्सरका बिरामीमध्ये करिब ३ हजारलाई रक्त क्यान्सर देखिने गरेको छ। केही वर्ष अघिसम्म थोरै संख्यामा देखिने रक्त क्यान्सरका बिरामीहरू पछिल्ला वर्षहरुमा नेपालमा बढ्दै गएका छन्।

हड्डीभित्र हुने बोनम्यारोमा रातो रक्तकोष (आरबिसी), सेतो रक्तकोष (डब्लुबिसी) र प्लेटलेट्स बन्ने गर्छ। यस्तो समस्या रगतसम्बन्धी समान्यदेखि जटिल प्रकारका समस्याको कारणले देखिने गर्छ।

जसको प्रमुख कारण भनेको थालेसेमिया, सिकलसेल एनिमिया, एप्लास्टिक एनिमिया तथा ल्युकेमिया जस्ता रक्त क्यान्सर हुन्। यस्ता रक्तजन्य रोगहरुले बोनम्यारोको नियमित काममा अवरोध  गरिदिन्छ। एप्लास्टिक एनिमिया र विभिन्न प्रकारका रक्त क्यान्सर जस्ता रगतसम्बन्धी क्यान्सरलाई ज्यादै संवेदनशील मानिने गरिन्छ।

बोनम्यारोमा बन्नुपर्ने आरबिसी, डब्लुबिसी र प्लेटलेट्स बन्न पाउँदैन। यस्तो अवस्थामा मानव शरीर संचालनको लागि अत्यावश्यक रगत बन्न पाउँदैन। तर, यस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्नसमेत मिल्छ। यस्ता समस्या हुनेहरूलाई बोनम्यारो प्रत्यारोपण गरेर स्वस्थ बनाउन सकिन्छ।

बोनम्यारो प्रत्यारोपण के हो? नेपालमा सम्भव छ कि छैन? तथा रगतसम्बन्धी कस्ता स्वास्थ्य समस्याको उपचारमा यसको आवश्यकता पर्छ यस विषयमा वरिष्ठ रक्त रोग तथा रक्तक्यान्सर विशेषज्ञ डा. ईश्वरमान सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :

बोनम्यारो प्रत्यारोपण भनेको कस्तो खालको उपचार पद्धति हो?

प्रत्यारोपणभन्दा पहिले बोनम्यारो भनेकै के हो भनेर बुझ्न आवश्यक छ। बोनम्यारो भनेको मानिसको शरीरमा भएको भित्री मासी हो जुन हड्डीभित्र रहेको हुन्छ । यही ठाउँमा रातो, सेतो रगत एवं प्लेटलेट्स बन्छ। अर्थात् शरीरलाई चाहिने रगत बन्ने ठाउँ नै बोनम्यारो हो। यो हड्डीभित्र हुन्छ।

तर, कहिलेकाहीँ यो रगत बन्ने बोनम्यारोमा खराबी आउँछ वा क्यान्सर हुन्छ त्यसपछि मानिसको शरीरमा रगत बन्न सक्दैन। अनि यस्तो अवस्थामा त्यही खराब भएको बोनम्यारोलाई किमोथेरापीमार्फत सुकाएर अर्को बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ। त्यही बोनम्यारो फेर्ने प्रक्रिया नै बोनम्यारो प्रत्यारोपण हो। यो बोनम्यारो प्रत्यारोपण पनि विभिन्न किसिमले गर्न सकिन्छ।

पहिलो बिरामी आफैँको रगतको ‘स्टेम सेल’ लिएर भने दोस्रोमा बिरामीको परिवारको सदस्यको ‘स्टेमसेल’ लिएर प्रत्यारोपण गरिन्छ। तर कस्तो खालको बोनम्यारो हाल्ने भन्ने कुरा भने बिरामीको अवस्था हेरेर गर्नुपर्ने हुन्छ।

मेसिनको सहयोग र एक विशेष किसिमको औषधिको प्रयोगबाट रगतबाट नै स्टेम सेल निकाल्न सकिन्छ। बोनम्यारो प्रत्यारोपणलाई चिकित्सकीय भाषामा ‘होमाटोपोएटिक स्टेम सेल’ भनिन्छ।  

बोनम्यारो प्रत्यारोपण जटिल प्रक्रिया हो। प्रत्यारोपण गर्नुअघि रोगलाई औषधिद्वारा नियन्त्रणमा राख्नुपर्छ। यसरी नियन्त्रणमा राखिसकेपछि एकदमै ‘हाइ डोज’ केमोथेरापी दिइन्छ। जसले बिरामीको क्यान्सर कोष नष्ट गरिदिन्छ।

त्यसपछि मात्र पहिले जम्मा गरिएको स्टेम सेल वा दाताबाट झिकिएको स्टेम सेल रगत दिएको जस्तै गरेर प्रत्यारोपण गरिन्छ।

कस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपणको आवश्यकता पर्छ?

सबैखालको रक्त रोगहरुमा बोनम्यारो प्रत्यारोपण पनि आवश्यक नपर्न सक्छ। तर, एप्लास्टिक एनिमिया, थालेसेमिया, सिकल सेल एनिमिया तथा ल्युकेमिया, मल्टिपल माइलोमा जस्ता रक्त  क्यान्सरको उपचारमा भने रोगको प्रकृती हेरेर बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ।

तर बुझ्नुपर्ने कुरा के हो भने यस्ता रगत सम्बन्धी समस्या भएकाहरुमा विभिन्न प्रकारका इन्फेक्सन हुने उच्च जोखिम हुने हुँदा धेरैनै ख्याल गर्नुपर्ने हुन्छ।

बोनम्यारो प्रत्यारोपण सेवा वयस्क मानिसको तुलनामा बालबालिकाहरुको उपचारमा धेरै सफल हुन्छ भनिन्छ नि?

अघि नै मैले भनेँ नि, बोनम्यारो भनेको एक जटिल प्रकारको उपचार सेवा हो। यसबाट उपचार गर्नुपर्ने बिरामीमा प्राय रोगसँग लड्ने प्रतिरक्षा प्रणाली कमजोर भएको हुन्छ र बिरामीमा संक्रमण हुने जोखिम धेरै हुन्छ धेरै बिरामीको बोनम्यारो प्रत्यारोपण पनि सफल नहुनुको कारण यही हो। तर, हामीले बिरामीको अवस्था हेरेर यस्तो खालको उपचार गर्न सिफारिस गर्छौँ।

बालबालिकाहरुमा प्राय: ल्युकेमिया  रक्त क्यान्सरको उपचारमा यस्तो खालको उपचार पद्धति अपनाइन्छ। यसमा पनि सुरुमा किमिथेरापी दिएर खराब सेलहरू सुकाएर नयाँ बोनम्यारो हालिन्छ। वयस्क मानिसको तुलनामा बालबालिकाहरुमा दीर्घरोगहरू कम हुने हुँदा बालबालिका उमेर समूहमा यो सेवा प्रभावकारी भएको हो।

यही सेवा वयस्क उमेर समूहमा गर्दा अलि असफल हुने अवस्था भनेको कडा खालको रक्त क्यान्सर हुनु र यो समस्यासँगै मधुमेह, उच्चरक्त चाप जस्ता दीर्घ रोगहरू हुने हुँदा सफल उपचार नहुने अवस्था सिर्जना हुने हो।

त्यसैले हामीले प्राय ६० माथिको उमेर समूह भएका बिरामीहरुमा बोनम्यारो प्रत्यारोपण गर्न सिफारिस गर्दैनौँ।

यसको प्रत्यारोपणपछि बिरामी पूर्ण ठिक हुन्छ त?

यसको लागि कस्तो खालको रोगको उपचारको लागि बोनम्यारो प्रत्यारोपण गरिएको छ भन्ने कुरामा भर पर्छ। जस्तै 'थालेसेमिया', सिकलसेल एनेमियाको उपचारको लागि बोनम्यारो प्रत्यारोपण गरिएको छ भने प्राय पूर्ण रूपमा ठिक हुन्छ। तर, रक्त क्यान्सरको उपचारको लागि यसको प्रत्यारोपण गरिएको छ भने पुन: रोग फर्कने जोखिम हुन्छ।  तर, बुझ्नुपर्ने कुरा के हो भने बोनम्यारो प्रत्यारोपण एकदमै जटिल प्रकारको उपचार पद्धति हो। यसको उपचार पद्धति पनि लामो समयसम्म हुन्छ भने यसको उपचारको क्रममा बिरामीमा संक्रमण हुने जोखिम एकदमै धेरै हुन्छ।

नेपालमा यसको उपचार सेवा धेरै महँगो छ भनिन्छ नि?

बोनम्यारोको समस्या हुँदा हाम्रो शरीरमा सेता रक्तकोशिकाहरू शून्य हुन्छ।  यस्तो हुँदा  मानिसको रोगसँग लड्न सक्ने क्षमता कम हुने हुँदा बिरामीलाई सामान्यदेखि जटिल प्रकारका संक्रमणहरु हुने गर्छ। रक्त रोगहरुमा बिरामीहरुलाई संक्रमण धेरै हुने कारण पनि यही हो।

अब बोनम्यारो प्रत्यारोपणमा बिरामीको शरीरमा भएको पूरै बोनम्यारो सेलहरु नष्ट गरेर नयाँ हाल्ने हुँदा यस्तो उपचार चलिरहेको समयमा पनि बिरामीलाई संक्रमण हुने जोखिम एकदमै धेरै हुने हुँदा अस्पतालहरुम पनि विशेष निगरानी आवश्यक पर्छ।

त्यसैले बोनम्यारो प्रत्यारोपणको लागि अत्याधुनिक पूर्वाधार, छुट्टै ल्याब तथा आइसियुको आवश्यकता पर्छ। यस्ता पूर्वाधारहरू महँगो पनि हुने हुँदा बोनम्यारो पत्यारोपण अलि महँगो शुल्क लाग्ने हो।

यस्तै, बोनम्यारो प्रत्यारोपणको लागि प्रयोग गरिने औषधी पनि महँगो हुने हुँदा पनि यो सेवा महँगो भएको हो। तर, पहिलो बिरामी आफैँको रगतको ‘स्टेम सेल’हरू नै प्रत्यारोपण गर्न मिल्ने अवस्था रहेको छ भने शुल्क अलि कम लाग्छ तर लिएर भने दोस्रोमा बिरामीको परिवारको सदस्यको ‘स्टेमसेल’ लिएर प्रत्यारोपण गर्नुपर्ने अवस्थामा भने यसको शुल्क अलि बढ्न सक्छ।

लामो समय अस्पताल बसेर उपचार गर्नुपर्ने, महँगो औषधीहरु प्रयोग गर्नुपर्ने हुँदा यसको सेवाको शुल्क अलि धेरै लाग्ने हो।

हाम्रोमा हाल सिभिल अस्पतालमा मात्रै यो सेवा  उपलब्ध रहेको छ। हाम्रोमा सरदर १५ देखि २० लाखमा यो सेवा सिभिल अस्पतालले दिएको छ।

बोनम्यारो प्रत्यारोपणमार्फत उपचार गरेका बिरामीहरूलाई बालबालिका उमेर समूहको लागि दिइने विभिन्न प्रकारका खोपहरू किन दिइन्छ?

बोनम्यारो प्रत्यारोपणको बेलामा सबैभन्दा पहिला हेरिने भनेको एचएलए म्याचिङ हो।

दाता र बिरामीको एचएलए टाइप (विशेष प्रकारको रगतको जाँच) गरिन्छ र दुवैको एचएलए मिल्यो भने प्रत्यारोपण गरिन्छ। आफ्नै सहोदर दाइ, भाइ, दिदी, बहिनीको एचएलए मिल्ने सम्भावना २५ प्रतिशत हुन्छ भने अन्यको मिल्ने सम्भावना एक प्रतिशत हुन्छ।

बोनम्यारो प्रत्यारोपणको लागि एचएलए मिल्नुपर्ने हुन्छ। यो दुई प्रकारले मिलाइन्छ, पूरा र आधा । यदि एचएलए पूरै मिलेको छ भने १०-१० भन्ने गरिन्छ र एचएलए १० भन्दा कम मिलेको छ भने त्यसलाई आधा मिलेको मानिन्छ। जति धेरै एचएलए म्याचिङ भयो उति नै प्रत्यारोपण सफल हुन्छ।

यसरी एचएलए म्याचिङ भएपछि हामीले ती डोनर व्यक्तिमा कुनै प्रकारको संक्रमण तथा भाइरसजन्य संक्रमण छ कि भनेर हेरिन्छ र बोनम्यारो प्रत्यारोपण गरिन्छ।

अब आयो बोनम्यारो फेरेपछि बिरामीहरुलाई बालबालिका उमेर समूहको लागि दिइने खोप किन दिइयो? खासमा बिरामीको शरीरमा भएका पुराना रक्त सेलहरु नष्ट गरेर नयाँ बोनम्यारो फेरिन्छ र यसले काम गर्न थालिन्छ।

यस्तो अवस्थामा शरीरमा नयाँ रगत बन्न थालेको अवस्था हुँदा बिरामीको अवस्था हेरेर प्रत्यारोपण सफल भएको ६ देखि एक वर्ष भित्रमा यस्ता खोप दिइने हो। यसमा हामीले लाइभ भ्याक्सिन (भाइरस सहित)को खो  दिइदैन किल्ड भ्याक्सिन दिइने हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.