|

काठमाडौं : संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक-आर्थिक न्यायसहितको समाजवाद स्थापना गर्ने प्रमुख उद्देश्यका साथ बनेको समाजवादी मोर्चा अहिले सेलाएको छ। असार ४ मा घोषणा भएको मोर्चा आफ्नो उद्देश्य तथा नीतिगत प्रतिबद्धता उन्मुख हुनुको साटो निष्क्रिय हुँदै गएको देखिन्छ। 

मोर्चामा सत्तारुढ दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र सत्ता बाहिरको दल नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा आबद्ध छन्। मोर्चा बन्नेबित्तिकै सचिवालय गठन, प्रदेशहरूमा सन्देशसभासँगै संठन विस्तारमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र विप्लवलगायत शीर्ष नेता सक्रियताका साथ लागिपरेका थिए। 

तर घोषणाको करिब आठ महिनासम्म आइपुग्दा मोर्चा छ भनेर देखिने गतिविधि शून्यप्रायः छन्। अन्तिम पटक मोर्चाको बैठक ११ पुसमा बालुवाटारमा बसेको थियो। लामो अन्तरलपछि बसेको बैठकले पनि मोर्चालाई उद्देश्य र प्रतिबद्धतानुरूपको गति दिने कुनै निर्णय गरेन। 

मोर्चामा आबद्ध दलहरू भने नेताहरूको व्यस्तताका कारण बाह्य कार्यक्रम हुन नसके पनि आन्तरिक रूपमा मोर्चा सक्रिय रहेको दाबी गर्छन्। मोर्चाको नेतृत्व गरिरहेको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल मोर्चा आफ्नो उद्देश्यअनुरूप नै अघि बढिरहेको भन्दै अहिले जिल्ला-जिल्लामा संगठन विस्तारको काम भइरहेको बताउँछन्। करिब ६० जिल्लामा संगठन विस्तार भइसकेको उनको दाबी छ।

‘मोर्चा आफ्नो उद्देश्य र प्रतिबद्धताअनुरूप नै अघि बढिरहेको छ। अहिले हामी जिल्ला-जिल्लामा संगठन विस्तार गर्ने क्रममा छौँ। अहिलेसम्म करिब ६० जिल्लामा मोर्चा गठन भइसक्यो’, उनले माेर्चाकाे बचाउ गर्दै भने, ‘यो बिचमा राष्ट्रिय सभा निर्वाचन आदि कुराले गर्दा बाहिर देखिने कार्यक्रम नभए पनि भित्रभित्र काम भइरहेको छ। बैठक, छलफल र बहस भइरहेकै छन्।’ 

मोर्चाको नेतृत्व गरिरहेको दल एकीकृत समाजवादीले बचाउ गरेपनि मोर्चाकै कतिपय दलले भने मोर्चा निष्क्रिय भएको स्वीकार्छन्। जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ नेताहरूको व्यस्तताका कारण मोर्चा निष्क्रियजस्तै हुन पुगेको बताउँछन्। कुनै पनि निर्णय प्रक्रियामा सामेल हुनैपर्ने शीर्ष नेता व्यस्त हुँदा समस्या भएको उनको भनाइ छ।

‘नेताहरूको व्यस्तताले गर्दा अलिकति निष्क्रिय जस्तो भएको छ’, नेता श्रेष्ठ भन्छन्, ‘प्रमुख नेताहरू बसेर गर्ने भनिसकेपछि उहाँहरूले नभ्याउँदा समस्या उत्पन्न हुँदोरहेछ।’

नेतृत्व लिन दलहरू उदासीन !

मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति दलहरूबीच भएको छ, जसअनुसार एउटा पार्टीको नेतृत्व समयावधि ६ महिना रहने भनिएको थियो। तर मोर्चाको औचित्य पुष्टि हुन नसक्दा नेतृत्व लिने सवालमा दलहरू उदासीन देखिन्छन्। फलस्वरूप अहिलेसम्म मोर्चाको नेतृत्व हस्तान्तरण र ग्रहण हुन सकेको छैन।

अहिले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मोर्चाका संयोजक छन्। उनी ३० असारमा बसेको बैठकदेखि मोर्चाको संयोजक छन्। मोर्चाको ‘मोडालिटी’अनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपालको अध्यक्षता गर्ने पालो पुसमै सकिएको हो। ११ पुसमा बसेको बैठकले ‘हाल’लाई अध्यक्ष नेपाललाई नै मोर्चाको संयोजकमा निरन्तरता दिने निर्णय गरे पनि कहिलेसम्म ‘हाल’ भन्ने निधो भने गरिएको छैन। 

एकीकृत समाजवादीका उपाध्यक्ष हमाल भन्छन्, ‘गएको बैठकले हाम्रो पार्टी अध्यक्ष माधव नेपालाई नै हाललाई कन्टिन्यु गर्ने भन्ने निर्णय गरेको हो।’ 

अन्तरविरोधको शिकार  

समाजवादी मोर्चा सेलाउँदै जानुको कारणमध्येको एक त्यहाँ रहेका दलहरूभित्रको अन्तरविरोध पनि एक हो। मोर्चा घोषणा हुँदै गर्दा नै मोर्चामै सहभागी दलका कतिपय नेताले यसको भविष्यलाई लिएर विभिन्न टिकाटिप्पणी गरेका थिए। 

मोर्चाको नेतृत्व गरिरहेको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने मोर्चा यथास्थितिवादी सत्ताको वैशाखी मात्र भएको टिप्पणी गर्छन्। ‘समाजवादी मोर्चा मैले पनि त्यति धेरै देखिरहेको छैन’, थाहा खबरसँगको कुराकानीमा उनी भन्छन्, ‘मैले यो समाजवादी मोर्चा यथास्थितिवादी सत्ताको वैशाखी नबनोस् है भनेर त्यसै दिन भनेको थिएँ। यहाँसम्म आउँदा म त्यस्तै भइरहेको देख्छु।’

जुन सत्ताले लोकप्रिय र प्रगतिका काम गर्न सक्दैन, त्यही सत्ताको वैशाखी हुने कुनै पनि समूह, गुट र व्यक्तिले लोकप्रियता हासिल गर्न सम्भव नरहेको नेता खनाल बताउँछन्। मोर्चा घोषणा गर्ने दिन चाहिँ प्रधानमन्त्री प्रचण्डले आउनैपर्छ भनेर जिद्दी गरेकोले मात्र आफू उपस्थित भएको उनको भनाइ छ।  

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका उपमहासचिव मात्रिका यादव भने मोर्चालाई सत्ताको वैशाखी भन्न नमिल्ने भन्दै एकीकृत समाजवादीका नेता खनालको तर्कलाई अस्वीकार गर्छन्। याे मार्चा समाजवाद स्थापनार्थ एकजुट भएर लाग्न र कम्युनिष्ट आन्दोलनलाई एकत्रित गरेर जान मोर्चा बनेको तर त्यसमा मोर्चा कुनै न कुनै रूपमा चुकेको औँल्याउँछन्। 

‘संसदबाहिर रहेका दलहरू पनि मोर्चामा हुनुहुन्छ। सत्ताको वैशाखीका लागि बनाइएको कसरी भयो र ? यो मोर्चा सामाजिक आर्थिक न्यायसहितको समाजवाद स्थानाका लागि एक भएर जाउँ। कम्युनिष्ट आन्दोलन एकत्रित हुने वातावरण बनाऔँ र भएसम्म एकतासम्मै जाऔँ भनेर बनाइएको हो’, उपमहासचिव यादव भन्छन्, ‘तर मोर्चाका सन्दर्भमा बहस र छलफल गर्दै जसरी अघि बढ्नुपर्थ्यो। त्यो भने अलि नभएकै हो।’ 

जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ पनि मोर्चालाई सत्ताको वैशाखी भन्न नमिल्ने बताउँछन्। ‘सत्ताको वैशाखी बन्यो भन्न त मिल्दैन। किन भने सत्ता बाहिरका दलहरू पनि मोर्चामा हुनुहुन्छ’, उनको भनाइ छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.