काठमाडौं : खर्च गर्ने नेपालीको शैलीमा व्यापक परिवर्तन आएको छ। विगतमा आम्दानीको दुई तिहाइसम्म खाद्यान्न खरिदमा खर्च गर्ने प्रवृत्ति बिस्तारै लामो समय टिक्ने गैरखाद्य वस्तुको खरिदतर्फ मोडिएको हो।
बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ,हालै सार्वजनिक नेपाल जीवनस्तर सर्वेक्षणमा विगत एक दशकको अन्तरमा खर्च खाद्यान्न र गैरखाद्यान्नमा नेपालीले करिब आधा आधा खर्च गर्ने तथ्य सार्वजनिक भएको हो। सर्वेक्षणअनुसार सन् २०११ मा कुल खर्चको ६२ प्रतिशत खाद्यान्नमा खर्च गर्ने नेपालीले सन् २०२२ सम्म आइपुग्दा त्यस्तो खर्च घटाएर ५३ प्रतिशतमा सीमित गरेका छन्। गैरखाद्यान्नमा सन् २०११ मा ३८ प्रतिशत खर्च गर्ने नेपालीले सन् २०२२ सम्म बढाएर ४७ प्रतिशत पुर्याएका छन्।
समीक्षा अवधिमा नेपालीले खाद्यान्नमा गर्ने खर्चको शैली पनि फेरिएको पाइएको छ । पछिल्लो समय नेपालीले खाद्यान्नमा पनि अधिक क्यालोरी भएका पौष्टिक खाद्यमा बढी खर्च गर्न थालेको देखिएको छ।
उदाहरणका लागि कुल खाद्यान्नमध्ये सन् २०११ मा तीन प्रतिशत हिस्सा फलफूलको हुनेमा सन् २०२२ मा फलफूलको हिस्सा बढेर सात प्रतिशत पुगेको छ । त्यस्तै तरकारीको अंश १० प्रतिशतबाट बढेर १२ प्रतिशत पुगेको छ। नेपालीले मासुमा गर्ने खर्च पनि बढेको छ। खाद्यान्नको कुल खर्चमध्ये १४ प्रतिशत मासुमा हुने गरेको पाइन्छ, जुन २०११ मा १३ प्रतिशत थियो।
खाद्यान्नमा गर्ने खर्चको शैली हेर्दा नेपालीले अनाजतर्फको खर्च घटाएर फलफूल, तरकारी र माछामासुतर्फ बढाएको सर्वेक्षणले देखाउँछ । सन् २०११ मा ३४ प्रतिशत खर्च अनाजमा गर्ने प्रवृत्ति बदलिएर १७ प्रतिशतमा पुगेको छ। यस हिसाबले अनाजमा गर्ने खर्च आधा घटाएको देखिन्छ।
गैरखाद्यान्नतर्फ नेपालीको खर्च बढ्नुको मुख्य कारण भने भाडा, यातायातका साधन र सूचना प्रविधिको बढ्दो उपयोग देखिन्छ । त्यस्तै पछिल्लो समय नेपालीको ध्यान टिकाउ वस्तुको खरिदतर्फ गएको पनि सर्वेक्षणले देखाउँछ। नेपालीले आफ्नो कुल खर्चको पाँच प्रतिशत त्यस्ता टिकाउ वस्तुको खरिदका लागि गरेको तथ्याङ्कले देखाउँछ, जुन सन् २०११ मा तीन प्रतिशत थियो।
त्यस्तै भाडामा नेपालीले गर्ने खर्च कुल खर्चको नौ प्रतिशतबाट बढेर १२ प्रतिशत पुगेको छ। कम टिकाउका गैरखाद्यान्नमा हुने खर्च पनि समीक्षा अवधिमा बढेको देखिन्छ। सन् २०११ मा यस्ता वस्तुले नेपालीको कुल खर्चको २५ प्रतिशत हिस्सा ओगटेकोमा त्यस्तो हिस्सा बढेर ३१ प्रतिशत पुगेको देखिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।