घाटा ७४ लाख

|

काठमाडौँ : ललितपुरको गोदावरीमा अनाथ बालबालिकाको आश्रयस्थल 'मामाघर अनाथ आश्रम'को भवन निर्माणका लागि आयोजना गरिएको महायज्ञमा ७६ लाख आम्दानी हुँदा खर्च भने डेढ करोड पुगेको छ।

यसरी हिसाब गर्दा आर्थिक संकलनका लागि भनेर गरिएको गोदावरी धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत विराट ज्ञान महायज्ञ ७४ लाख घाटा खान पुगेको छ।

 गत भदौ २० देखि ३० गतेसम्म गोदावरी नगरपालिका-१४ बाडेगाउँमा सञ्चालन भएको सो महायज्ञमा ७६ लाख ५५ हजार २३१ रुपैयाँ आम्दानी भएको आयोजक मामाघर अनाथालय सपोर्ट एन्ड केयर सेन्टरले जनाएको छ। 

जसमा नगदी रसिद, चेक, कलश रसिद, तुलादान, व्रतबन्ध, दानपेटिका, घर भाडा छुटलगायत विभिन्न शीर्षकमा ६८ लाख ९३ हजार ७९७ रहेको आश्रमका संस्थापक एंवम कथावाचक वालयोगेश्वर विजय मुर्ती महाराजले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । 

बाँकी ७ लाख ६१ हजार ४३४ रुपैयाँ बोलकबोल मात्रै भएको छ। उनका अनुसार महायज्ञमा १ करोड ५० लाख ३६ हजार ४५६ रुपैयाँ खर्च भएको छ।

यसरी आम्दानी र खर्चलाई तुलना गरेर हेर्दा झण्डै ७४ लाख घाटा भएको छ। सबैभन्दा बढी खर्च व्यवस्थापनमा खटिएका स्वयंसेवकहरुको पारिश्रमिकमा भएको छ। पारिश्रमिकमा मात्रै २० लाख १७ हजार ५८२ रुपैयाँ खर्च भएको छ। 

प्रचारप्रसार सामाग्रीमा १३ लाख ६३ हजार ३००, सम्मान सामाग्री खरिदमा १३ लाख ५९ हजार ८३६ रुपैयाँ खर्च छ।

मामाघर अनाथाश्रमका संरक्षक विजयमूर्तिले संकलन भएको रकम मध्ये ३० लाख गोदावरी नगरपालिका-३ का वडा अध्यक्षलाई आश्रम निर्माण सहयोगका लागि प्रदान गरेका छन्।

उनका अनुसार १८ लाख ९१ हजार ७९७ रुपैयाँ नयाँ संरचना निर्माण तथा फर्निचरमा खर्च गरिएको र बाँकी २० लाख आश्रमसँग नै बाँकी रहेको छ। महायज्ञमा लागेको सम्पूर्ण खर्च भने आश्रम व्यवस्थापन समितिले व्यहोर्ने निर्णय भएको उनले जानकारी दिए। 

उनले आफूले वार्षिक रुपमा विभिन्न स्थानमा हुने कार्यक्रममा गएबापत प्राप्त गर्ने दक्षिणा भेटी हुने रकमबाट तिर्नुपर्ने रकम तिर्दै जाने पनि जानकारी दिए।

आय व्यय विवरण सार्वजनिक कार्यक्रममा गोदावरी नगरपालिका-१४ का अध्यक्ष निरोज बज्राचार्य र वडा-३ का  अध्यक्ष सानुराजा घिमिरेले जग्गा प्राप्तिका लागि पहल गरिरहेको जानकारी दिए। मामाघर अनाथ आश्रमको क्षमता १ सय भए पनि हाल ७१ जना बालबालिका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.