|

काठमाडौँ : नेपाली कांग्रेसभित्र आगामी चुनाव एक्लै लड्ने निर्णय गरेर जानुपर्ने मत सशक्त बनेको छ। यही फागुन ७ देखि १० सम्म हुने महासमिति बैठकबाटै अन्य कुनै राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल नगर्ने निर्णय पार्टीले लिनुपर्ने दबाव कांग्रेसभित्र चर्को छ। 

इतर समूह मात्रै नभई संस्थापन पक्षकै कतिपय नेता अब उप्रान्तका कुनै पनि चुनाव कांग्रेस एक्लै लड्नुपर्ने पक्षमा छन्। महासमितिमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल तथा पारित गर्न शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा पनि नेताहरूले यो विषय सशक्त रूपमा उठाए।

पार्टी महामन्त्रीसमेत रहेका संस्थापन इतर समूहका नेता गगन थापाले आफ्नो सांगठनिक दस्तावेजमै यसबारे स्पष्ट उल्लेख गरेका छन्। चुनावी गठबन्धनका कारण कांग्रेसको लोकप्रिय मतको हिस्सा घटेको उनको दाबी छ।

महामन्त्री थापाले भनेका छन्, ‘दुई चुनावको बीचमा हामीले १३.२ प्रतिशत मतदाता नै गुमायौँ। हामीले २०७९ मा २०७४ जतिकै लोकप्रिय मतको हिस्सा कायम राख्न चाहिने मतभन्दा १५.७४ प्रतिशत कम पाएका छौँ।’

अंकगणितका हिसाबले कांग्रेस ठूलो पार्टी बने पनि एक्लै चुनाव लड्दा जस्तो कार्यकर्तामा विजयको भाव र उत्साह नआउने भन्दै उनले आगामी चुनावमा गठबन्धन गर्न नहुने प्रस्ताव गरेका छन्। 

इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालाले पनि हरेक तहका निर्वाचनमा अब उप्रान्त कांग्रेसले चुनावी गठबन्धन वा तालमेल गर्न नहुने बताए।

शुरुदेखि नै वर्तमान सत्ता गठबन्धनको विरोध गर्दै आएका उनले शुक्रबारको केन्द्रीय समिति बैठकमा यस्तो धारणा राखेका हुन्। ‘हरेक तहका निर्वाचनमा अब उप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल गर्नु हुँदैन’, उनको भनाइ छ।

इतर समूहकै अर्का नेता डा. गोविन्द पोखरेल पनि कांग्रेसले अबका कुनै पनि चुनावमा तालमेल गर्न नहुने पक्षमा छन्। चुनावमा गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्तावले पार्टीमा उत्साह ल्याएको उनको दाबी छ।

‘नेपाली कांग्रेसका साथीहरूलाई अब आउने निर्वाचनमा रूखमा मात्र मत दिनुपर्ने अवस्था हुनेछ भन्ने महामन्त्रीज्यूको प्रस्तावले आम कांग्रेसजनमा उत्साह थपेको छ’, उनको भनाइ छ। 

सहमहामन्त्रीसमेत रहेका संस्थापन पक्षकै नेता भीष्मराज आङ्दम्बे अब उप्रान्तका चुनावमा पार्टी एक्लै लड्नुपर्ने पक्षमा छन्। इतर पक्षमा मात्र नभई समग्र पार्टीभित्रै अबका चुनाव एक्लै लड्नुपर्छ भन्ने मत बलियो बनेकाले यसबारे महासमिति निष्कर्षमा पुग्नुपर्ने उनी बताउँछन्। 

‘संस्थापन इतरमात्र होइन, अबका चुनाव एक्लै लड्नुपर्छ भन्नेमा करिब समग्र पार्टीभित्रै  एकजुट छ’, उनी भन्छन्, ‘महासमितिमा यसबारे मसिनो गरी छलफल गरेर त्यसबाट निकर्षमा पुग्छ‚ पुग्नुपर्छ।’ 

संस्थापन पक्षकै मानिने केन्द्रीय सदस्य प्रदीप पौडेल पनि गठबन्धन गरेर चुनाव लड्ने पक्षमा देखिँदैनन्। एक्लै चुनाव लड्ने वा गठबन्धन गरेर जाने भन्ने विषय निर्णय गर्नेभन्दा पनि अनुकूल परिस्थिति निर्माण गर्नु प्रमुख रहेको उनी बताउँछन्। पार्टी सरकारमा रहेको मौकामा देश र जनताको पक्षमा काम गरेर पार्टीलाई लोकप्रिय बनाएर एक्लै चुनाव लड्न सक्ने परिस्थिति निर्माण गर्नुपर्नेमा उनको जोड छ। 

‘गठबन्धन गर्ने‚ नगर्ने कुरा निर्णय गर्ने विषयभन्दा पनि आफूअनुकूलको परिस्थिति निर्माण गर्ने कुरा प्रमुख हो’, उनी भन्छन्, ‘काम गरेर देखाउन सक्यो वा देशलाई उपलब्धि दिन सक्यो भने गठबन्धन नगरीकन जित्ने स्थितिमा पुग्न सकिन्छ। अहिले हामी सरकारमा भएका वेला जनताले रुचाउने उल्लेख्य काम गरी पार्टीलाई लोकप्रिय बनाएर एक्लै लड्न सक्ने परिस्थिति निर्माण गर्नुपर्छ भन्ने लाग्छ।’

नेता पौडेल कांग्रेसको अहिलेको रणनीति यही हुनुपर्नेमा जोड दिन्छन्। दलहरूले निर्वाचन जित्नैपर्छ र सत्तामा पुग्नैपर्छ भन्नेभन्दा आफ्नो सैद्धान्तिक अडान र मूल्य मान्यता कायम गर्न सक्नुपर्ने उनी बताउँछन्।  

पार्टीमा चर्को रूपमा अब उप्रान्तका निर्वाचन कांग्रेस एक्लै लड्नुपर्ने मत बलियो बन्दै गइरहे पनि सभापति शेरबहादुर देउवानिकट मानिने कांग्रेस सचेतक सुशीला थिङ भने अहिले नै यसबारे निर्णय गर्ने वेला नभएको बताउँछिन्।  

एक्लै लड्ने कि गठबन्धन गरेर भन्नेबारे त्यसै वेलाको परिस्थितिमा निर्भर हुने थिङ बताउँछिन्। ‘अहिले नै गठबन्धन गर्नु हुँदै हुँदैन र गर्नैपर्छ भन्ने वेला होइन। त्यसै वेलाको परिस्थितिले के गराउँछ, त्यसमा भर पर्छ। पार्टीले परिस्थिति हेरेर निर्णय लिन्छ’, उनको भनाइ छ। 

महासमिति बैठकमा यसबारे कुरा उठे पनि निष्कर्षमा पुगिहाल्ने अवस्था नरहेको सचेतक थिङले स्पष्ट पारिन्। ‘महासमितिमा यसबारे छलफल हुने त पक्का छ’, उनले भनिन्, ‘तर अहिले चुनावी गठबन्धन गर्नै हुँदैन भनेर पनि पार्टी जाँदैन र गर्नैपर्छ भनेर पनि जाँदैन।’ 

पार्टीका सबैजसो निकायमा बहुमत लिएर बसेका सभापति देउवा पार्टीका हरेकजसो निर्णयमा हाबी हुने गरेका छन्। जसकारण आगामी महासमिति अब उप्रान्तका निर्वाचनमा गठबन्धन गर्ने वा एक्लै लड्ने भन्ने निष्कर्षमा पुग्न नसक्ने देखिन्छ।

त्यसो त चुनावी गठबन्धन वा तालमेल गर्नै नपाउने कानूनी व्यवस्था नेपालमा अहिलेसम्म छैन। यस्तोमा अन्य दलहरूबीच तालमेल भए कांग्रेस फेरि २०७४ कै स्थितिमा पुग्ने डर पनि संस्थापन पक्षमा रहेको देखिन्छ।

नयाँ संविधान जारी भएपछि २०७४ मा भएको प्रदेश तथा प्रतिनिधिसभाको पहिलो निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन हुँदा कांग्रेस २३ सिटमा खुम्चिन पुगेको थियो। तर २०७९ मा भने माओवादी र एकीकृत समाजवादीसँग वाम–लोकतान्त्रिक गठबन्धन गर्दा दललाई पहिलो शक्तिमा स्थापित गराउन सफल भएको निष्कर्ष सभापति देउवाको छ।  

उसो त देउवा प्रधानमन्त्री बन्न पालो कुरिरहेका छन्। सत्ता गठबन्धनमा माओवादी अध्यक्ष प्रचण्डले अघिल्लो दुई वर्ष सरकारको नेतृत्व गरेपछि एक वर्ष एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र अन्तिममा दुई वर्ष चुनावी सरकारको नेतृत्व देउवाले गर्ने सहमति गत फागुनमै बनेको छ। 

अहिले नै पार्टी एक्लै चुनाव लड्ने निष्कर्षमा पुग्दा माओवादी अध्यक्ष प्रचण्ड बिच्किने र आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भंग हुन सक्ने भय देउवामा रहेको उनी निकटकै नेताहरू बताउँछन्। त्यसकारण यो सहमति भंग नहोस् भनेर पनि यसबारे कांग्रेस महासमिति कुनै निर्णयमा नपुग्ने धेरैको विश्लेषण छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.