|

काठमाडौं : माओवादीले गरेको १० वर्षे जनयुद्धको आधारभूमि रुकुममाथि राज्यले अझै उपेक्षा गरिरहेको भन्दै सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन्। आइतबार सदनमा सांसद कुसुमदेवी थापाले देशको अवस्था सुधार भए पनि रुकुम पूर्वको अवस्था ज्यूका त्युँ रहेको भन्दै उपेक्षा कहिलेसम्म भन्ने प्रश्न गरिन्। 

साथै तत्कालीन समयमा त्यहाँको नेपाल बैंकमा सुरक्षाका लागि राखिएको सुन जनताले फिर्ता नपाएको भन्दै सांसद थापाले सहिद घोषणा गरिएकाहरूका परिवारले राहत नपाएको प्रश्न प्रधानमन्त्रीलाई सोधिन्। 

जवाफमा प्रधानमन्त्री प्रचण्डले रुकुम अहिलेको राजनीतिक परिवर्तनमा उल्लेख योगदान गरेको जिल्ला भएको भन्दै आगामी बजेटमा थप प्राथमिकता दिइने स्पष्ट पारे।

‘अहिलेको राजनीतिक परिवर्तनका लागि उल्लेख्य योगदान गरेको जिल्ला रुकुम पूर्व पनि हो। अब  विकास पूर्वाधारका बजेट विनियोजन गर्दा प्राथमिकता दिइनेछ’, उनले भने, ‘देश र जनताको लागि प्राणको आहुती दिने सहिदप्रति सरकार उच्च सम्मान व्यक्ति गर्छ। उनीहरूको योगदानलाई मूल्यमा मापन गर्न नसकिने भएकाले क्षतिपूर्ति त दिन सकिन्न। तर, परिवारलाई राहतस्वरूप नियमअनुसार प्रतिसहिद १० लाखका दरले रकम उपलब्ध गराइएको छ। यसमा कोही छुट्नुभएको भए कानुनी व्यवस्थाबमोजिम अन्य सहिद परिवारसरह राहत रकम उलब्ध गराइनेछ।’ 

तत्कालीन समयमा नेपाल बैंकबाट हराएको सुन र क्षतिपूर्ति कसैले लिन बाँकी भए त्यसका लागि पनि सरकारले सहजीकरण गर्ने उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.