|

सुर्खेत : ‘म नेपालमा ती कुरा देख्छु, जुन नेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भ्याली भन्छन्, ‘सानो देश भए पनि नेपाल विविधताले भरिएको छ। संसारमै नभएका नयाँ र फरकपन नेपालमा भेटिन्छ।’

तर नेपालको महत्व नेपालीले नै बुझ्न नसकेको भ्यालीको बुझाई छ। वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको ‘कर्णाली क्याराभान’ सत्रमा वक्ता रहेका भ्यालीले नेपालको विविधता र बहुआयाम अथाह भएको बताए। 

भ्याली ति व्यक्ति हुन् जसले सन् १९९९ मा निर्माण निर्देशन गरेको ‘क्याराभान’ फिल्म ओस्करको ७२ औँ संस्करणमा छानिएको थियो। 

यी फ्रान्सेली फोटोग्राफर र निर्देशकसँग नेपाल र कर्णालीको साइनो उत्तिकै गाढा छ। फिल्मले जोडेको साइनोका कारण भ्याली कर्णाली उत्सवमा उपस्थित भएका थिए।

डोल्पामा बसेर क्याराभान निर्माण गरेका भ्यालीको कर्णाली यात्रा भने निकै रोचक छ। भ्याली १८ वर्षको उम्मेरमा घुम्नका लागि अफगानिस्तान पुगेका थिए। त्यहाँ घुम्दाघुम्दै उनको भिसा सकियो। एक दिन अफगानी सेनाले पक्राउ गरेर उनलाई जेल हाल्यो।

‘अफगान आर्मीले मलाई दुईओटा अप्सन दियो- घर जान्छस् कि अन्य छिमेकी मुलुक? तर म घुम्न आएकाले बरु भारत जान्छु भनेँ‚’ भ्यालीले भने, ‘भारतमा नेपालबारे धेरै कुरा सुनेँ अनि नेपाल आएँ। त्यसपछि त नेपालसँग माया गाँसियो।’

भ्यालीका अनुसार त्यतिबेलासम्म नेपालमा टुरिज्म मात्रै थियो। ‘विदेशीहरुले नेपालमा टुरिज्म मात्रै देख्थे तर मलाई सक्कली नेपाल हेर्नु थियो र धेरै विदेशी नपुगेको ठाउँमा गएँ‚’ उनले भने। 

सक्कली नेपाल देख्ने चाहनाकै कारण अरुण, तमोरलगायत क्षेत्र पुगेको भ्याली बताउँछन्। घुम्दाघुम्दै उनी कर्णालीको डोल्पा पुगे।

शुरुआती चरणमा फोटोग्राफी मात्रै गर्दै आएका उनलाई डोल्पा पुगेपछि भने फिल्म बनाउने रहर पलायो। डोल्पाली जनजीवनले उनलाई तान्न थाल्यो।

‘ऊनी लुगा, चौँरीको दूध, आलु र उवाको खानपान, रहनसहन एकदमै भिन्न थियो। तिनै मान्छेहरुको जनजीवन क्यामेरामा कैद गर्दा क्याराभान बनेको हो‚’ उनले भने।

‘एउटा गतिलो फिल्म बनाउन के गर्नुपर्ने रहेछ?‚’ उत्सवमा मोडरेटर रहेका काठमाडौँ विश्वविद्यालयका सह–प्रध्यापक डा लोचन रिजालले उनलाई प्रश्न गरे।

जवाफमा भ्यालीले भने‚ ‘फिल्म राम्रो हुँनलाई शक्तिशाली कथा हुनुपर्छ। शक्तिशाली कथा भेटाउन गाउँ डुल्नु पर्छ।’ क्याराभान फिल्मको स्क्रिप्टका लागिआफूले ३ वर्ष पढेको र लेखेको बताए।

‘राम्रो कथा फेला पारेर मात्रै हुँदैन‚ त्यस्को मुटुसम्म पुग्नु पर्छ। पावरफूल स्टोरी भेटाएपछि अरु बाटा खुल्दै जान्छन्। सजिलै फिल्म भेटिँदैन। राम्रो कन्टेन्ट छैन भने फिल्म नबनाएकै राम्रो हुन्छ,’ उनले फिल्म निर्माता/निर्देशकलाई सुझाव दिँदै भने। 

उनले नयाँ पुस्ताका फिल्म निर्माताहरुलाई कर्णालीका दूरदराजमा घुम्नसमेत आग्रह गरे। ‘एउटा विदेशी आएर नेपालका बारेमा फिल्म बनाउँदै गर्दा तपाईंहरु आफ्नै देशमा किन घुम्नु हुन्न?‚’ भन्दै उनले नयाँ पुस्तालाई आग्रह गरे।

९ महिना डोल्पामा बसेर हिउँमा क्याराभानको सुटिङ गरेको बताए। ‘त्यहाँका याक, मान्छे सबै अर्गानिक थिए‚ आफ्नै दुनियाँका‚ आफ्नै सोच विचारका‚’ उनले भने, ‘फिल्म निर्मातामा केही पागलपन हुन आवश्यक छ। म त्यस्तै एउटा पागलपन भएको फिल्म निर्देशक हुँ।’

सन् १९५२ मा फ्रान्समा जन्मिएका भ्याली नेपालमा नै ३० वर्ष बिताएको बताउँछन्। फिल्ममार्फत नेपालको सांस्कृतिक सम्पदालाई संसारभर चिनाएका भ्यालीको नेपाल प्रेम अनौठौ छ।

‘म विदेशी नजाने बाटो हिँडछु। त्यसले मलाई नयाँपन दिन्छ। दुर्गम र रिमोट क्षेत्रमा पुग्छु‚ बाटो बिराउँछु। कहिले भोकै पनि सुत्छु। फेरि गन्तव्य त भेटाइ नै हाल्छु,’ उनी भन्छन्।

हाल सूदुरपश्चिमको बझाङ र बाजुरामा पुगेर त्यहाँको प्राकृतिक, सांस्कृतिक महत्वबारे लेखिरहेको भ्यालीले बताए। ‘बाजुरा पनि अनौठो छ। त्यहाँको बारेमा बुझ्दै छु। ती कुराहरु लैख्दै छु‚’ उनले भने। 

भ्याली नेपालीमै आफ्नो कुरा प्रष्ट राख्छन्। उत्सवमा मोडरेटर रिजालले उनलाई अर्को प्रश्न गरे, ‘नेपाली भाषा किन सिक्नु भयो?’

जवाफमा भ्यालीले भने, ‘नेपाली भाषा नजानेसम्म नेपालको बहुआयामिक संस्कृति बुझिँदैन। दूरदराजमा अंग्रेजी र फ्रान्सेली भाषा बुझ्दैनन्‚ त्यसो हुँदा नेपाली सिकेँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.