|

काठमाडौं : राजनीतिक तथा प्रशासनिक पहुँचको आधारमा विद्यालयमा शिक्षक दरबन्दी लुकाउने प्रवृत्ति बढेको छ। यो काममा विद्यालय, शिक्षक र स्थानीय तहको मिलेमतो हुने गरेको छ । 

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, यो वर्ष निम्न माध्यमिक तहमा २५ दरबन्दी गायब भएपछि यो प्रवृत्ति सतहमा आएको हो । दरबन्दी यकिन गर्ने निकायलाई यसबारे थाहा हुने भए पनि मौन रहने गरेको पाइएको छ ।

विद्यालयमा कार्यरत कतिपय अस्थायी शिक्षकले नै स्थायी शिक्षक आएपछि आफ्नो जागिर गुम्ने भयले पालिकाका पदाधिकारी, राजनीतिक दलका नेता, शिक्षक संघ संठनका नेता शिक्षकलगायतसँग गुहार मागेर दरबन्दी लुकउने गरेका छन्। त्यसबाहेक कतिपय शिक्षक जिल्लान्तर सरुवा भई आउन वर्षौंदेखि प्रयास गरेका हुन्छन् र पहुँचवालाको सम्बन्धले दरबन्दी लुकाउन सफल हुने गरेका हुन्छन्। 

त्यसै गरी नयाँ नियुक्त भएर आउने स्थायी शिक्षक कस्तो पर्ने हुन् भनेर विद्यालयले नै कार्यरत अस्थायीलाई नै कायम गर्ने मानसिकताले पनि दरबन्दी लुकाइदिने चलन रहँदै आएको छ।

गत आर्थिक वर्षमा रिक्त दरबन्दीको विवरण पठाइसकेका तर शिक्षक उम्मेदवार अनुत्तीर्ण भई बाँकी रहन गएका रिक्त दरबन्दीको शिक्षक सेवा आयोगले पनि कायम गरेर विज्ञापन गर्ने र भुलबस एकाइले ती दरबन्दीसमेत पुनः पठाउने हुँदा कहिलेकाहीँ रिक्त सङ्ख्या घट्न जाने पनि तर्क गरिँदै आएको छ तर त्यस्तो सम्भावना निकै कम रहन्छ।

शिक्षा नियमावलीमा पूर्वप्राथमिक विद्यालयमा कम्तीमा एक जना शिक्षक, निम्न माध्यमिक विद्यालयमा विषयगत कम्तीमा चारदेखि सात जना शिक्षक र माध्यमिक विद्यालयमा विषयगत कम्तीमा आठदेखि नौजना शिक्षक रहने व्यवस्था गरेको छ। ती शिक्षकको विषय तोकिएको हुन्छ तर त्यस्तो हुँदाहुँदै पनि कतिपय शिक्षकलाई विद्यालयमा सरुवा गराएर ल्याउन दरबन्दीको विषय नै परिवर्तन गर्ने खेल हुँदै आएको छ। 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक प्रेम भट्टराईले दरबन्दी लुकाउने गरेको भन्दै गुनासाका फोन दैनिक जसो आउने गरेको बताए।

आगामी वर्षका लागि नयाँ शिक्षक पदपूर्ति गर्ने प्रयोजनका लागि केन्द्रले गत मङ्सिर ५ गते देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई रिक्त शिक्षकको जिल्लागत विवरण पठाई विवरण संशोधन गर्नुपर्ने भए एक साताभित्र सो विवरण पठाइसक्न निर्देशन दिएको थियो । 

त्यस वेला निम्न माध्यमिक तहमा ७५३ रिक्त दरबन्दी भएको विवरण केन्द्रले एकाइलाई पठाएको थियो । पछि देशभरका एकाइले विवरण संशोधन गरेर पठाउँदा ७२८ जना शिक्षक दरबन्दी रिक्त रहेको विवरण पठाएका थिए । केन्द्रले सोही विवरण शिक्षक सेवा आयोगलाई पठाएको थियो । गत साता आयोगले सोही आधारमा स्थायी शिक्षक मागको विज्ञापन आह्वान गरेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.