|

विराटनगर : मन र मस्तिष्कमा उब्जिएको भावना र कल्पनालाई खाली पानामा सुन्दर स्वरूप दिएर रंग भर्छन्। अरूले बखानेको आधारमा चित्रमा आकार दिन्छन् उदयपुरका चूडामणि सुयल।

उनी नेपाल प्रहरीका जवान हुन्। २०७८ सालदेखि नेपाल प्रहरीमा आबद्ध उनी बाल्यकालदेखि नै मनमा उब्जिएका काल्पनिक चित्रहरूलाई कपीको पानामा उतारेर जीवन्त दिन्थे। त्यही कला अहिले आफ्नो कार्यक्षेत्रमा समेत सदुपयोग गरिरहेका छन्। भनिन्छ, कलामा रम्नेहरू भावनाको नदीमा बेपरवाह बगिरहेका हुन्छन्।

त्यसैले पनि होला उनी मन र मस्तिष्कले सोच्न र देख्न नसकेका अदृश्य चीजलाई सुन्दर आकार दिन्छन्। उदयपुर जिल्लाको लिम्चुमबुङ गाउँपालिकामा जन्मेका उनको बाल्यकाल पनि त्यहीँ बित्यो। उमेरसँगै बढ्दै गएको रहर र सपना पछ्याउँदै सदरमुकाम गाईघाट आएका रहेछन्। त्यसो त उनलाई यो चित्रकलामा भविष्य हुन्छ भन्ने कुनै ज्ञान पनि थिएन। ज्ञान हुँदो त उनी यसै क्षेत्रमा भविष्य खोज्दै काठमाडौँमा रमाइरहेका हुन्थे। तर सल्लाह, सुझाव दिने कोही नभएपछि विकल्पमा जागिरे जीवन रोजेको उनी सुनाउँछन्।

‘म सानैदेखि चित्र कोर्थें, मैले कक्षा ५ देखि नै चित्र बनाउन थालेको हुँ’, उनी सुनाउँछन्, ‘मलाई यो क्षेत्रमा भविष्य हुन्छ भन्ने थाहा भएको भए यसै क्षेत्रमा स्थापित हुन्थेँ होला तर भन्दिने कोही भएन। त्यसैले अहिले जागिरे जीवन बिताइरहेको छु।’

उनी अहिले विविध आपराधिक घटनामा पहिचान खुल्न नसक्ने अवस्था हुँदा साक्षीले दिएको जानकारीअनुसार अनुहार कपीमा कोर्छन्। सोधिएको प्रश्नअनुसार साक्षीले दिएको उत्तरलाई आधार मानेर पेन्सिल घुमाउँछन्। प्रश्न गर्दै यसरी उनी नचिनेका मान्छेको स्केच तयार पार्छन्। जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत उनी हालै सरुवा भई तेह्रथुम सरुवा भएका छन्।

उनले बनाएको स्केचको आधारमा अपराधीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन समेत मोरङ प्रहरी सफल भएको छ। एउटा स्केच तयार हुन ३० देखि ४५ मिनेटसम्म लाग्ने रहेछ। साक्षीको वयान‚ सादा कपी र पेन्सिलको माध्यमबाट अदृश्य चिजलाई एउटा स्वरूप दिन्छन्। जसले अनुसन्धानका लागि सजिलो बाटो समेत बन्ने गरेको उनी सुनाउँछन्।

गत साउन ६ गते कोशी राजमार्गको धरान इटहरी सडक खण्डको सेउती पुलमा अज्ञात समूहको गोली प्रहारबाट एकजनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा विराटनगर–५ का ३८ वर्षीय रोहित चौधरी थिए। चौधरीलाई ३ जना युवाले गोली हानी फरार भएका थिए। जुन घटनामा फरार रहेकामध्ये एकजनाको उनले स्केच बनाएका थिए। जसले अनुसन्धानमा धेरै सघाएको थियो। यस्तै कोशी प्रदेशको विभिन्न जिल्लामा पहिचान खुल्न नसकेको सन्दर्भमा उनैले स्केच बनाएर अनुसन्धानको बाटो खुलेका घटना पनि छन्।

‘मैले ओखलढुंगा जिल्लामा भएको एउटा घटनाको पनि स्केच बनाएको छु। यस्तै सुनसरीमा हतियार देखाएर लुटपाट गर्नेको गिरोहमध्ये साक्षीले देखेको अनुहारअनुसार स्केच बनाउँदा एकजनाको मिलेको थियो’, उनी भन्छन्, ‘साक्षीले बुझाउन सक्दा बनाउन सहज नै हुन्छ। त्यसका लागि एकाग्रतामा डुब्नुपर्छ।’

१२ पास गरेर अन्य पेशा अँगालेर जीवन चलाइरहेको उनी नेपाल प्रहरीमा तीनपटकसम्म कोसिस गरेका रहेछन्। नेपाली सेना, सशस्त्र प्रहरीमा समेत आवेदन दिएका उनी निकै पटकको कोसिसमा नेपाल प्रहरीमा छनोट भएको सुनाउँछन्। बाध्यताभन्दा पनि रहरले अँगालेको पेशा विभागमा कहिलेकाहीँ काम गर्ने मान्छेको मूल्यांकन नहुँदा निराशा छाउने गरेको उनी सुनाउँछन्।

आफ्नो सीपलाई निखार्न चाहन्छन् तर अवसर कहाँ र कसरी प्राप्त गर्ने भन्ने अन्योलमा पर्ने गरेको उनी बताउँछन्। आफूलाई निखार्न विभागले दिएको तालिम पनि लिएका रहेछन्। सिकाइ जीवनभर हुने तर्क राख्दै उनी आफूलाई थप सृजनशील बनाउन आवश्यक कोर्स लिन मन भए पनि विविध परिस्थितिका कारण कोर्स लिन सहज नभएको उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.