|

काठमाडौं : कहिले जंगलमा, कहिले पाटीको बास। थकित अनुहार। न्यायको आस। राज्यप्रतिको प्रश्न र गुनासा। २४ दिनको पैदल यात्रा। ओढ्ने ओछ्याउने लत्ता कपडाहरूको चाङ। करिब १ हजार मिटरब्याजी पीडितहरू।

६ वटा प्रदेशका २३ जिल्ला पार गर्दै न्यायमार्च गरेर उनीहरू थानकोट आइपुगेको हुन्। २४ दिनमा उनीहरू करिब १ हजार १ सय ७५ किलोमिटर पार गरेका छन्।

अझै उनीहरूको यात्रा भने सकिएको छैन। बिहीबार काठमाडौंस्थित थानकोटमा उनीहरू पारिलो घाममा सुस्ताउँदै थिए। कोही थाकेको शरीर त्यही पोकापन्तुरालाई सिरानी बनाएर सुतिरहेका थिए। कोही भने खाना पकाउने तर्खरमा थिए।

उनीहरू खाना खाएर सिंहदरबारका लागि अगाडि बढ्नेछन्। उनीहरूको एकैमत छ, ‘यसपालि सरकारले सहमतिको ललिपप देखाउँदैमा फर्किने छैनौँ। हामीमाथि भएको अन्यायलाई न्यायमा परिणत भएपछि मात्र फर्किनेछौँ।‘

नेपालको पूर्वी जिल्ला झापाको काँकडभिट्टा र पश्चिम नेपालको गड्डाचौकीबाट उनीहरू एकैपटक मसाल बालेर न्यायमार्चको थालनी गरेका थिए।

थानकोटमा भेटिए महोत्तरीका मनोज महतो। उनी पनि मिटरब्याज पीडितमध्ये एक हुन्। उनले १० वर्षअगाडि दुई लाख लिएका थिए। उक्त ऋणले उनलाई गलपासो भएको छ। २ लाखलाई १२ लाखको तमसुक बनाइएको उनको आरोप छ। उनले उखुबाट हुने आम्दानी त त्यही ऋण तिर्दा सकियो। उनको जमिन साहुको कब्जामा छ। उनले १६ लाख रुपैयाँ तिर्दा पनि उनी अझै पनि जग्गा फिर्ता नभएको बताउँछन्। उनले भने, ‘एक बिगाहा जमिन पनि बेचेर पैसा तिरेको हुँ। तर मेरो जग्गा फिर्ता भएन।‘

गरिब मुखियाले २ लाख लिएका थिए। ३ लाख ६० हजार तिर्दा पनि साहुले आफ्नो जग्गा जमिन फिर्ता नगरेको बताउँछन्। अधिकांश पीडितहरूको सुदखोरबाट लिएको पैसाका कारण परिवारसमेत तितरवितर भएका छन्। घर गएको छ। जमिन गएको छ।

अर्का पीडित वैधनाथ सहनीले यो पटकको प्रदर्शन अन्तिम हुने बताउँछन्। उनले थाहाखबरसँग भने, ‘यदि हामीलाई राज्यले न्याय दिन सक्दैन भने हामी माथि बुलडोजर लगाएर मारिदिए हुन्छ।‘

न्याय मरेको अनुभूति गर्दै वर्षौं शोषण, उत्पीडन खेप्न बाध्य भएर पीडितहरूले ३ वर्षदेखि आन्दोलन गर्दै आए तापनि सरकारले माग सम्बोधन नगरेपछि हजारौँ किलोमिटर राजमार्ग नाप्दै पैदलयात्रा गर्न बाध्य भएको मिटरब्याज ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाह बताउँछन्।

राज्यलाई पैदल यात्रा गर्दाको पीडा, कष्ट र वर्षौंदेखिको शोषण उत्पीडनको घाउ देखाउन मिटरब्याजविरुद्ध न्यायमार्चले सिंहदरबार मार्च गर्ने उनले बताए।

उनका अनुसार थानकोटबाट सुरु भई कलंकी, कालिमाटीबाट त्रिपुरेश्वर, सहिदगेट हुँदै सिंहदरबार पुग्नेगरी पैदल मार्चको रुट तय गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.