|

काठमाडौं : नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले संघीय संसदको महासचिवलाई छानवीन गरी कारबाही गर्न चुनौती दिएका छन्। शुक्रबार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै सचेतक बर्तौलाले संघीय संसदको महासचिवमाथि व्यक्तिगत लाञ्छना र चरित्र हत्या गर्नेगरी बैठकमा कुरा उठेको भन्दै असन्तुष्टि व्यक्त गरे।

शुक्रबार नै बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रतिपक्षलाई संसदको महासचिवको ३ वटा नागरिकता र २ वटा राहदानी भएको कुरा पनि उठाउन आग्रह गरेका थिए।

सांसद सापकोटालाई जवाफ फर्काउँदै सचेतक बर्तौलाले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री भएको भन्दै छानबिन गरेर कारबाही गर्न चुनौती दिए। उनले महासचिवको विषय अदालतबाट सफाइ पाइसकेको विषय भएको पनि बताए।

उनले आगामी प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विवादित मन्त्रीहरुलाई बर्खास्त गरेको जवाफसहित संसदमा सम्बोधन गर्न आउन मागसमेत गरे।

उनले भने ‘संसदले बनाएको तालिका बमोजिम १३ र १४ गते हाम्रो बैठक छ। उपयुक्त समयमा समय छान्ने सुविधा सरकारका प्रधानमन्त्रीज्युलाई रह्यो। सरकारका प्रधानमन्त्रीलाई आगामी बैठकमा उपस्थित भएर प्रतिपक्षी बेञ्चबाट उठाइएका यी सरोकारका विषयमा सम्बोधन गर्न म माग गर्न चाहन्छु।

गृहमन्त्री त यहाँकै दलको हुनुहुन्छ। किन यतिधेरै कष्ट गरिरहनुपर्छ यहाँ आएर? कारबाहीको प्रक्रिया, छानविनको प्रक्रिया, अनुसन्धानको प्रक्रिया सरकारले गर्ने होला । अनि ति विषयवस्तु उठाउनुपर्ने दायित्व के प्रतिपक्षको सांसदहरुको मात्रै हो र? यदि यस्तो गलत प्रक्रिया भएका छन् भने जोसुकैको हकमा छानवीन गरोस्। दण्डित गरोस् दोषी देखिएमा। नत्र अदालती प्रक्रियामा समेत साफ भएको विषय हो।’

उनले सरकार प्रतिनिधि सभाबाट भागिरहेको उल्लेख गर्दै नाकमा नत्थी लाएर संसदमा ल्याउने तागत एमालेसँग रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.