|

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंक डुब्ने अवस्थामा नरहेको दावी गरेका छन्।

सोमवार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा उनले यस्तो दावी गरेका हुन्। 

उनले राष्ट्र बैंकले नियमन र अनुगमन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै हालतमा पनि डुब्न नदिने प्रतिबद्धता जनाए। उनले राष्ट्र बैंकको नियमनमा चल्ने बैंक तथा वित्तीय संस्थाको वचत सुरक्षित गर्ने मेकानिजम राष्ट्र बैंकसँग भएकाले बैंक डुब्ने अवस्था नभएको उल्लेख गरे।

“राष्ट्र बैंकले कुनै संस्थालाई ढल्न दिँदैन । बैंक वित्तीय संस्था फेल हुने अवस्थामा छैनन्। साना संस्थामा केही समस्या आउनसक्छ तर सर्वसाधारणको बचत रकम कुनै पनि हातलमा डुब्दैन”, गभर्नर अधिकारीले दावी गरे, “राष्ट्र बैंकले नियमन गरेका संस्थाहरु सजिलै डुब्दैनन्। हाम्रो प्रणाली धेरै हदसम्म राम्रो छ‚ हामीले लिएका नीति राम्रा छन्। बैंकहरुको खराब कर्जा केही प्रतिशत बढ्यो भन्दैमा समस्या हुँदैन। कर्जाको प्रोभिजनिङ निकै राम्रो छ।”

गभर्नर अधिकारीले नेपालको बैंकिङ प्रणाली धेरै हदसम्म बलियो रहेको दावी गरे। राष्ट्र बैंकले ल्याउने नीतिहरु बैंकिङ क्षेत्रलाई बलियो बनाउने किसिमका रहेको भन्दै पारदर्शी काम गरिरहेका बैंक तथा वित्तीय संस्थालाई त्यत्तिकै डुब्न नदिने बताए।

उनले अहिलेको अवस्थामा नेपालका बैंक वित्तीय संस्थाहरु डुब्ने अवस्थामा नभएको भन्दै साना–साना संस्था सो अवस्थामा आए पनि तिनको नियमन गरी सुधार गर्ने राष्ट्र बैंकसँग मेकानिजम रहेको दावी पनि गरे।

अहिले बैंकहरुले नाफा खोज्ने नभई आफू कसरी सुरक्षित रुपमा चलिरहने भनेर सोच्नुपर्ने पनि गभर्नर अधिकारीले बताए। पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी भइरहेका नकारात्मक प्रचारबाजीले पनि समस्या सिर्जना गरेको दावी उनले गरे।

“लाभांश कम लिनुस् तर संस्था चल्नुपर्छ। बैंक तथा वित्तीय संस्थालाई बलियो बनाउनकै लागि मर्जरको नीति लिइएको हो”, उनले भने, “बैंक तथा वित्तीय संस्था भनेको संवेदनशील क्षेत्र हो तर हाम्रो समाज र अहिलेकाले बैंकिङ क्षेत्र नै नबुझी गाली गर्ने चलन छ।”

एउटा बैंकमा समस्या आउँदा अर्को बैंक खुशी हुने खराब प्रवृत्तिले भोलिका दिनमा समग्र बैंकिङ क्षेत्रलाई नै समस्यामा पार्नसक्ने भएकाले सबैले मिलेर अहिलेको समस्या समाधान गर्नतर्फ केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।

समग्र अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंक तथा वित्तीय संस्थाको वित्तीय स्वास्थ्यमा परेको भए पनि डुब्ने अवस्थामा नपुगेको गभर्नर अधिकारीले स्पष्ट पारे।

कोभिड महामारीयता ठूलो रकम कर्जा प्रवाह भएको र उक्त कर्जा नउठ्दा बैंकहरु थप कर्जा दिन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ। ठूलो रकममा कर्जा लिएका ऋणीहरुले आफ्नो व्यवसायबाट लक्षित नाफा लिन नसक्दा पनि साँवा ब्याज तिर्न मुस्किल भएको उनले बताए।

कोभिड महामारीका कारण नेपालमात्र होइन विश्वभर नै आर्थिक वृद्धिदर घट्ने र मुद्रास्फीति बढेको देखिएकोमा अहिले विस्तारै सुधार हुँदै गएको पनि उनले उल्लेख गरे।

विगतमा बैंकहरुले धेरै सोचविचारबिनै ठूलो रकम कर्जा प्रवाह गरेको र ऋणीहरुले पनि आफ्नो तिर्न सक्ने क्षमता विश्लेषण नगरि ऋण लिएको उनको भनाइ छ।

“आफ्नो क्षमताअनुसारको ऋण लिएको भए अहिले समस्या हुँदैनथ्यो। उहाँहरूलाई समस्या पर्नुमा हामी पनि दोषी छौं”, गभर्नर अधिकारीले भने। सहकारी क्षेत्र समस्यामा पर्दा त्यसको असर बैंकिङ क्षेत्रमासमेत परेको उनले बताए।

सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि नियामकीय अधिकारसहितको विशिष्टीकृत संस्था बनाएर जान आवश्यक रहेको उनले उल्लेख गरे।

निर्माण क्षेत्रमा देखिएको समस्याका कारण पनि त्यसको असर समग्र अर्थतन्त्रमा देखिएको गभर्नर अधिकारीको दाबी छ।

“निजी क्षेत्र र सरकारी क्षेत्रबाट हुने विकास निर्माण कमजोर छ। निर्माण उद्योग समस्यामा पर्दा सिमेन्ट छडलगायत क्षेत्र समस्यामा पर्‍यो। यसरी बहुआयामिक असर देखिए”, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.