लहान : सिरहाको कल्याणपुर नगरपालिकास्थित जब्दीका एक युवकलाई सिरहा जिल्ला अदालतले कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको कसुर ठहर गर्दै पाँच वर्ष कैद तथा ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ। जिल्ला अदालत सिरहाका न्यायाधीश ध्रुवप्रसाद सापकोटाको एकल इजलासले कल्याणपुर जब्दीका २२ वर्षीय सरोज यादवलाई कैद र जरिवानाको फैसला सुनाएको हो।
स्थानीय ६५ वर्षीया मोहनीदेवी यादवलाई सरोज र उनका बाबु पवन यादव, भाइ १९ वर्षीय लालबाबु यादवसहित चार जनाले २०७३ असार ९ गते कथित बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको मुद्दामा अदालतले जरिवानासहित कैद फैसुला सुनाएको जिल्ला सरकारी वकिल कार्यालय सिरहाले जनाएको छ।
कथित बोक्सीको आरोपमा दुर्व्यवहार गरेको मुद्दा चलाइएका अन्यले भने सफाइ पाएका छन्। आफूमाथि दुर्व्यवहार भएपछि पीडित परिवारले २०७३ साउन १६ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा जाहेरी दिएको थियो।
जाहेरी दर्ता भए लगत्तै मिर्चैया प्रहरीले आरोपी सरोजलाई साउन १६ गते पक्राउ गरे पनि अन्य आरोपीहरु फरार रहेका थिए।
जिल्ला अदालतले आरोपी सरोजलाई साउन ३१ गते पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो भने उच्च अदालत राजविराजले कार्तिक १३ गते एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।