|

काठमाडौं : काठमाडौं महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ। कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ। 

लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर तिर्नका लागि आलटाल गरिरहेका करदातालाई नियमअनुसार समावेश गर्नका लागि कामपाले वडास्तरीय अनुगमन गरी नियमसङ्गतरूपमा ल्याउने तयारी गरेको कामपा राजस्व विभाग जनाएको छ। 

यसरी कर तिर्नका लागि आलटाल गर्नेमा सबैभन्दा धेरै बहाल करमा करिब एक लाख करदाता छन्।  त्यस्तै व्यवसाय कर, मनोरञ्जन कर र विज्ञापन करमा एक लाखको हाराहारीमा रहेको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। उनका अनुसार दर्ता प्रक्रियामा नआएका सबै शीर्षकका करदातालाई नियमअनुसार बनाउन यही महिनादेखि कामपाको ३२ वटै वडाबाट नियमित अनुगमन गरी प्रक्रियामा ल्याउने ​महानगरपालिकाको तयारी छ।  

कामपामा कर तिर्नका लागि दर्ता प्रक्रियामा आएका तर नियमित कर नबुझाउने करदाताबाट पनि रु दुई अर्ब बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख काफ्लेले जानकारी दिए। रकम विगत १२ वर्षदेखिको रहेको कामपाको भनाइ छ। दर्ता गरेर पनि नियमअनुसार कर नतिरेका करदाताका लागि कामपाले चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म तिर्नुपर्ने रकममा केही छुट दिएको थियो । 

सोही अवधिमा दर्ता प्रक्रियामा रहेको केही करदाताले कर तिरेका भए पनि अझै धेरैले आलटाल गरिरहेका छन्। दुई वर्षअघि पनि कामपाले २८ वर्षदेखिको बक्यौता रकम असुल गर्न भन्दै त्यस्ता करदाताको नाम नै सार्वजनिक गरेको थियो। यो समयमा घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने र बक्यौता तिर्ने क्रम बढेको भए पनि अहिले बक्यौता तिर्ने क्रम ठप्पजस्तै रहेको काफ्लेको भनाइ छ।    

चालु आवका लागि जम्मा १० अर्ब ८० करोड वार्षिक लक्ष्य लिएको कामपाले चालु आर्थिक महिनाको अवधि पार गरिसक्दा पाँच अर्ब ८० करोड ५१ लाख ९०  हजार राजस्व असुल गरेको छ । चालु आवको अर्ध वार्षिक अवधिसम्म कामपाको राजस्व संकलनको अवस्था राम्रो रहे पनि पछिल्लो माघ महिनामा महानगरको आम्दानी अन्य महिनाको तुलनामा घटेको छ ।    
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.