|

काठमाडौं : दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट उत्पादनमूलक क्षेत्रबाहेक अन्य सेवा क्षेत्रमा आवेदन गर्न नसक्ने संकेत गरेको छ। दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालको वैदेशिक रोजगार विभाग अन्तर्गतको (ईपीएस) शाखालाई पत्र पठाएर यस्तो संकेत गरेको हो । 

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, सन् २०२४ मा उत्पादनतर्फ आवेदन दिएका एक लाख ६३ हजारभन्दा बढीको परीक्षा सक्नै एक वर्ष लाग्ने देखिएकाले यो वर्ष थप अन्य क्षेत्रका लागि नेपाली श्रमिकको माग गर्न नसकिने संकेत पत्रमार्फत गरेको ईपीएस शाखाले जनाएको छ। 

शाखाकी निर्देशक मैयाँ कँडेलले यस वर्ष विविध कारणले उत्पादनतर्फ सोचेभन्दा धेरै आवेदन परेकाले ती आवेदकको हालको गतिमा परीक्षा सम्पन्न गर्न यो वर्ष पूरै लाग्ने भएकाले यो वर्ष सेवा क्षेत्रतर्फको आवेदन माग गरेर परीक्षा सञ्चालन गर्न नसक्ने संकेत कोरियाली पक्षले गरेको जानकारी दिइन्। उनका अनुसार अन्य क्षेत्रमा नेपालमा भाषा परीक्षा नै ‘लिन नसकिने भएका कारण’ ती क्षेत्रमा अरू देशबाटै श्रमिक लैजाने जानकारी कोरियाले पत्रमार्फत दिएको छ। 

कोरिया सरकारको एचआरडीका अध्यक्षको हस्ताक्षरमा आएको पत्रबारे उद्धृत गर्दै कँडेलले भनिन्, ‘वर्ष दिनभरि परीक्षा लिनुपर्ने गरी धेरैको आवेदन लिएका छौँ । ती व्यक्तिको परीक्षा सम्पन्न गर्न समय लाग्छ। यो वर्ष अन्य आवेदन माग गरेर कहिले लैजाने, हामीलाई श्रमिक छिट्टै चाहिएको छ।’ 

एचआरडीका यो प्रश्नले अर्को वर्ष नेपालबाट कोरियाले हाल दिएको कोटामा अझै कटौती हुने संकेत स्पष्ट देखिएको छ। ईपीएस शाखाले पत्रको जवाफमा भनेको छ, ‘यो वर्ष परीक्षा सक्दो छिटो सम्पन्न गर्नु पर्छ, हामी सहयोग गर्न तयार छौँ । यो वर्ष सेवा क्षेत्रतर्फ नेपालीले प्राप्त पर्ने कोटा अनुसार आवेदन खुलाउनुस्। अर्को वर्ष नीतिगत रूपमा केही कडाइ गरेर अहिलेको अवस्थालाई नियन्त्रण गर्छौँ ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.