परिवार भन्छन्, 'अर्को निर्मला पन्त नहोस्'

|

काठमाडौँ : चितवनको एक स्कुल होस्टेलभित्र भएको बालिकाको मृत्यु प्रकरण थप पेचिलो बन्दै गएको छ। 

चितवनको रत्ननगरमा रहेको एकता शिशु निकेतनको होस्टेलमा बस्ने १४ वर्षीया बालिका शालीन पोख्रेल गएको शनिवार होस्टेलको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

उक्त घटनामा स्कुल पक्षले आत्महत्या भएको दावी गर्दै आएको छ भने परिवार पक्षले करणीपछि हत्या भएको भन्दै दोषीलाई पक्राउ गरी कारबाहीको माग गरिरहेको छ।

उनीहरुले यो घटना अर्को निर्मला पन्त नहोस् भनेर सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग पनि गरिरहेका छन्। पीडित परिवारले  दिएको किटानी जाहेरीका आधारमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले स्कुलका प्रिन्सिपल बालहरि देवकोटा, सहायक प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेलका वार्डेन कमल शर्मा पौडेललाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान जारी राखेको छ। 

चितवनका डिएसपी श्रीराम भण्डारीले शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र त्यसको रिपोर्टका आधारमा धेरै कुरा खुल्ने बताएका छन्। 

उनले अहिले अनुसन्धान भने जारी रहेको जनाए। गएको शनिवार बालिका होस्टेलको कोठाको पंखामा डोरी लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

प्रहरीले  उनको सुसाइड नोट फेला पारेका छ। नोटमा लेखिएको छ, ‘सरी एभ्रिबडी, सरी ममी ड्याड।’ प्रहरीले सुसाइड नोटको फरेन्सिक जाँच गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.