|

काठमाडौं : संघीय संसदको अधिवेशन प्रारम्भ भएको ठिक एक महिना पुगेको छ। तर पहिलो पटक क्यालेण्डर अभ्यासलाई संघीय संसद्को प्रयासमा पहिलो गाँसमै ढुङ्गा लागेको छ। 

मंगलबारको गोरखापत्रमा समाचार छ, लामो प्रयासपछि चालु हिउँदे अधिवेशनबाट सभाका कामलाई क्यालेण्डरमा व्यवस्थित गरिए पनि एक महिनामै क्यालेण्डर प्रभावित भएको छ। सत्ता समीकरण फेरिएसँगै दुवै सदनको क्यालेण्डर प्रभावित बनेको छ। साथै सभामा पेश भई छलफलका क्रममा रहेको वार्षिक बजेटको सिद्धान्त र प्राथमिकता कसरी अघि बढ्छ भन्नेमा अन्योल बढेको छ। 

विगतमा पहिलो संविधानसभाको क्यालेण्डर पनि राजनीतिक रूपमा प्रभावित भएको थियो। एक दर्जनभन्दा बढी संशोधन गरे पनि संविधान सभा क्यालेण्डरमा हिँड्न सकेको थिएन। सङ्घीय संसद पहिलो पटक क्यालेण्डरमा चलाउने प्रयास पनि एक महिनामै बिथोलिएको हो। सभामुख देवराज घिमिरेले राजनीतिक परिवर्तनका कारण क्यालेण्डर धेरै प्रभावित भएको बताए। सोमबारको बैठक स्थगित भएपछि घिमिरेले भने, ‘क्यालेण्डर त धेरै नै प्रभावित भयो। यसलाई अब कसरी अघि बढाउने भन्नेमा परामर्श हुन्छ। तीन दिनका लागि तय भएका बिजनेस अब व्यवस्थापन गर्नुपर्ने भएको छ।’

सत्ता समीकरण परिवर्तन हुँदा सोमबारका लागि आह्वान गरिएका प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैका बैठक स्थगित भएका छन्। बैठक स्थगित हुँदा सोमबारको दैनिक कार्यसूची मात्र होइन प्रतिनिधि सभामा तीन दिनको क्यालेण्डर प्रभावित भएको छ। 

सोमबार प्रतिनिधिसभामा शून्य, विशेष समयसँगै राजनीतिक दलसम्बन्धी विधेयकलाई संशोधन दर्ताका लागि स्वीकृत गर्ने कार्यसूची रहने क्यालेण्डरमा उल्लेख थियो। यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल प्रारम्भ गर्ने तय थियो। मंगलबार शून्य, विशेष समयमा सांसदले उठाएका प्रश्नमा मन्त्रीले जवाफ दिने कार्यतालिका थियो। 

साथै निर्माणमुखी सामग्रीको व्यवस्थापनसम्बन्धी विधेयक संशोधन दर्ता प्रक्रियाका लागि स्वीकृत हुने कार्यसूची थियो। विनियोजन विधेयकको छलफललाई निरन्तर राखिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.