होस्टेलमा बालिका मृत्यु प्रकरण

|

काठमाडौँ : चितवनको रत्ननगरस्थित एक होस्टेलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी १४ वर्षकी बालिका (छात्रा) शालीन पोखरेलको सुसाइड नोटमा उनकै अक्षर रहेको (उनैले लेखेको) पाइएको छ। 

नेपाल प्रहरीको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा उनी आफैँले लेखेको पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीमप्रसाद ढकालले विधिविज्ञान प्रयोगशालाबाट उनकै अक्षर म्याच भएको पुष्टी भएको र उक्त रिपोर्ट आजै चितवन पठाइसकिएको बताए। 

रिपोर्टमा ‘कमन अर्थर’ भनेर उल्लेख छ। त्यो भनेको एकै लेखकले लेखेको भन्ने हुन्छ। परीक्षणका लागि चितवनबाट उनको सुसाइड नोटसहित कापी र उत्तरपुस्तिका प्रयोगशालामा ल्याइएको थियो। नोटमा ‘एभ्रिबडी आइएम सरी’ उल्लेख रहेको चितवन प्रहरीले बताएको छ।

परिवारले बलात्कारपछि हत्या गरेको आरोप लगाइरहेका बेला यसअघि प्रयोगशालाबाट उनको झुण्डिएर मृत्यु भएको पुष्टि भइसकेको छ। 

यसैबीच परिवारले उनको आजै दाहसंस्कार गरेका छन्। पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो। उक्त घटनामा परिवारका तर्फबाट स्कुलका प्रिन्सिपलसहित तीन जनामाथि परेको किटानी जाहेरीमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ। 

चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले उक्त प्रक्रिया अदालतमा पुगेकाले अदालती प्रक्रिया पुरा गरेर मात्रै टुंगिने बताए।

चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनको होस्टेलमा बसेकी १४ वर्षकी शालीन पोखरेलको यही फागुन १२ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो। मृतकका परिवारले हत्या र बलात्कार भएको दावी गरेको थियो। 

परिवारले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएपछि प्रहरीले स्कुलका प्रधानाध्यापक बालहरि देवकोटा, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमल शर्मा पौडेललाई फागुन १५ गते पक्राउ गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.