|

काठमाडौँ : देशको वर्तमान ठूलो दल भएर पनि फेरि प्रमुख प्रतिपक्षीमा थन्किने अवस्था आएपछि नेपाली कांग्रेसको छटपटी असह्य देखिएको छ। गत वर्ष १० पुसमा गुमेको सत्ता तीन महिनापछि हात परेको काँग्रेसमा एक वर्षपछि फेरि सत्ता फुत्किएसँगै छटपटी देखिएको हो।  

सोमबार (फागुन २१ गते) नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)बीच नयाँ गठबन्धन बनाउने सहमति भएसँगै वाम–लोकतान्त्रिक गठबन्धन तोडिएको थियो। त्यससँगै छैटौँपटक प्रधानमन्त्री बन्ने कांग्रेस सभापति शेरबहादुर देउवाको सपना पनि चकनाचुर भएको छ।

तर प्रचण्डबाट धोका भएको निष्कर्षसहित वैकल्पिक गठबन्धन बनाउन देउवा दौडधुप गरिरहेका छन्। उनी प्रचण्डसँग बदला लिन जुनसुकै मूल्य चुकाउन तयार देखिएका छन्। यसक्रममा देउवाले धेरैलाई प्रधानमन्त्रीको ‘अफर’समेत गरिसकेका छन्। 

नयाँ गठबन्धन बन्ने निश्चित आइतबार (फागुन २० गते) राति नै भए पनि त्यसबारे ढिलो गरी जानकारी पाएका सभापति देउवाले रातारात एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए। ओलीले त्यसमा खासै चासो दिएनन्। कांग्रेसबाट त्यस्तो खालको प्रस्ताव आए पनि नयाँ गठबन्धनबाट दायाँबायाँ गर्ने पक्षमा आफूहरू नरहेको एमाले उपमहासचि प्रदीप ज्ञवालीको प्रष्टोक्ति छ।

एमालेबाट निराश भएपछि रास्वपा सभापति रवि लामिछानेलाई पनि कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलेको छ। कांग्रेस नेताहरूले प्रधानमन्त्रीको प्रस्ताव गरिएको कुरा अस्वीकार गरे पनि रास्वपा महामन्त्री डा. मुकुल ढकालले कांग्रेसबाट मंगलबार प्रधानमन्त्रीको प्रस्ताव आएको पुष्टि गरे। 

‘प्रधानमन्त्रीका लागि अफर आएकै हो’, उनले भने, ‘गठबन्धनको नयाँ कोर्स शुरु हुनुअघि नै सल्लाह गरेर यसरी जाऊँ भनेर भनेको भए एउटा कुरा हुन्थ्यो। कांग्रेससँग अगाडि हाम्रो पार्टीको संवाद शून्य रह्यो तर अहिले अचानक त्यसो भन्दा हामी उहाँहरूसँग मिलेर अघि बढ्ने सम्भावना छैन।’

प्रधानमन्त्रीको प्रस्ताव आए पनि आफूहरूले नयाँ गठबन्धनमा राजनीतिक इमान्दारी देखाउने महामन्त्री ढकालले बताए। ‘राजनीतिक इमान्दारी मुख्य कुरा हो’, उनले भने, ‘नयाँ गठबन्धनमा अहिले जस्तो सहमति भएको छ, यसमा हामी दायाँबायाँ हुँदैनौँ।’

देउवाले एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई पनि प्रधानमन्त्री प्रस्ताव गरेका छन्। बुधबार बिहान आफैँ नेपालनिवास कोटेश्वर पुगेर नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन्। 

‘देउवाजीले अध्यक्ष नेपालसँग पनि प्रधानमन्त्री नै अफर गर्नुभएको छ’, स्रोतले भन्यो, ‘प्रचण्डले विश्वासको मत पाउने अवस्था छैन। तपाईँ–हामी मिलेर जाऊँ। तपाईँ नै प्रधानमन्त्री लिनुस् भन्नुभएको छ।’    

कांग्रेसले नयाँ गठबन्धनमा सामेल भएका एमाले, रास्वपा, जसपा तथा ‘पर्ख र हेर’को अवस्थामा रहेका एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोसपालगायतका साना दलहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास जारी राखेको छ। नयाँ गठबन्धनमा सामेल भइसकेका दलहरूबाट सकारात्मक प्रतिक्रिया नपाएपछि देउवाले बाँकी रहेका साना दलहरूसँगको भेटवार्ता तथा छलफललाई तीव्रता दिएका छन्। 

प्रतिनिधिसभाको पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पनि कांग्रेसले मिलेर जान प्रस्ताव गरेको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने, ‘मिलेर जानुपर्छ त भन्नुभएको छ।’

नयाँ गठबन्धनमा जानेबारे पर्ख र हेरको अवस्थामा रहेको जनमतलाई पनि कांग्रसले मिलेर जाने प्रस्ताव गरेको छ। नयाँ गठबन्धनमा जान मधेश सरकारको नेतृत्व पाउनुपर्ने बटमलाइन उसको छ। त्यो माग सुनुवाइ भएको अवस्थामा आफूहरू नयाँ गठबन्धनमै सामेल हुने जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी थिए।

‘कांग्रेसबाट सँगै रहनुपर्छ भनेर कुरा नआएको होइन’, उनले भने, ‘तर हाम्रो बटमलाइन भनेको मधेश सरकारको नेतृत्व हो। त्यो कुरा सुनुवाइ भए हामी दायाँबायाँ गर्दैनौं।’

लोसपालाई पनि कांग्रेसले नयाँ गठबन्धनमा नजान भनिरहेको छ। लोसपा वरिष्ठ उपाध्यक्ष अकबाल अहम्मद साहले कांग्रेस नेताहरूले टेलिफोनमार्फत मिलेर जाने प्रस्ताव गरेको बताए। 

‘कांग्रेसका नेताहरूले फोन गरेर हामी एक ठाउँमा रहनुपर्छ भनेर भन्नुभएको छ’, उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले पनि हाम्रा अध्यक्षलाई बोलाएर तपाईँ सत्ता गठबन्धनमै हुनुहुन्छ। हामीसँगै जानुपर्छ भन्नुभएको छ तर हामी पर्ख र हेरकै अवस्थामा छौं।’

नयाँ गठबन्धनसँग बहुमत तर देउवाको दौडधुपकाे रहस्य के ?

नयाँ गठबन्धनमा सामेल चार दल एमाले, माओवादी, रास्वपा र जसपासँग केन्द्रमा सरकार बन्ने स्पष्ट बहुमत छ। एमालेको (सभामुखबाहेक) ७६, माओवादीको ३२, रास्वपाको (उपसभामुखसहित) २१ र जसपाको १२ गरी नयाँ गठबन्धनसँग १४१ मत छ, जब कि सरकार बन्न १३८ मत नै पर्याप्त हुन्छ। 

नयाँ गठबन्धनसँग स्पष्ट बहुमत भएपछि विपक्षमा रहेका सबै दलबीच वैकल्पिक गठबन्धन बने पनि सरकार बन्ने सम्भावना रहँदैन। यस्तो अवस्थामा पनि कांग्रेस सभापति देउवाको दौडधुप निरन्तर छ। सभापति देउवाको दौडधुपबारे कांग्रेसका एक नेता भन्छन्, ‘सकेसम्म त आफैँले सरकार बनाउने कोसिस कसले गर्दैन र ?’ 

तर एमाले र रास्वपालाई प्रधानमन्त्री प्रस्ताव गरेर नयाँ गठबन्धन बन्नै नदिने कांग्रेसको पहिलो प्रयास करिब विफल भइसकेको छ। उसले प्रधानमन्त्री प्रस्ताव गरेको अर्को दल एकीकृत समाजवादी पनि नयाँ गठबन्धनमा जाने करिब निश्चित भइसकेको छ। 

‘अब आफैँले बनाउने अवस्था देखिएको छैन। अरू दल मिलेर सरकार बनाउन्जेल केही भन्ने कुरा भएन’, ती कांग्रेस नेता भन्छन्, ‘तर उनीहरू नमिलेर ढल्ने स्थिति आयो भने कांग्रेस पछि हट्दैन।’ 

नयाँ गठबन्धनभित्र भागबन्डामा पूर्ण सहमति जुटिसकेको छैन। संघमा अधिकांश मन्त्रालयबारे सहमति जुटे पनि प्रदेश सरकारहरूको नेतृत्वबारे विमति छ। जसपामा नयाँ गठबन्धनमा जानै नहुने मतसमेत बलियो छ भने जसपामाथि भूराजनीतिक दबाव पनि रहेको बताइन्छ। उसले केन्द्रमा सम्मानजनक मन्त्रीसहित मधेशको नेतृत्वमा ग्यारेन्टी खोजिरहेको छ। यही विन्दुबाट नयाँ गठबन्धन भत्काउने कांग्रेसको अर्को दाउ देखिन्छ। 

वर्तमान गठबन्धनले कतिपय प्रदेशमा सरकार बनाउन नसक्ने स्थिति छ। कोशीमा एमाले माओवादीको पक्षमा स्पष्ट बहुमत भए पनि त्यहाँ संवैधानिक जटिलता छ। संविधानको धारा १६८ (५) मा बमोजिमत बनेको कांग्रेसका केदार कार्की नेतृत्वको सरकार ढलेमा कोशीमा अर्को सरकार बन्ने संवैधानिक बाटो छैन। 

मधेशमा वर्तमान जसपाका सरोजकुमार यादव नेतृत्वको सरकार धरमराएको छ भने त्यहाँ दोहोरो दाबी परेको छ। नयाँ गठबन्धनमा सामेल भइसकेको जसपाले निरन्तर मधेशको नेतृत्व पाउनुपर्ने अडान राखेको छ भने गठबन्धनमा ल्याउन खोजिएको जनमतले पनि मधेश सरकारको नेतृत्व नै बटमलाइन बनाएको छ।

जनमत पार्टीका प्रवक्ता डा. यादवले गत वर्षको पुसमै एक वर्षपछि जसपाले मधेश सरकारको नेतृत्व जनमतलाई सुम्पने सहमति भएकाले त्यो पालना भए मात्रै आफूहरू सरकारमा जाने स्पष्ट पारे। ‘गत वर्ष पुस १० मै गठबन्धनमा रहेका दलहरूसँग जनमतको एउटा सम्झौता भएको थियो। एक वर्षपछि मधेशको नेतृत्व जसपाले हस्तान्तरण गर्ने तर त्यसलाई तोडियो। अब हामी त्यसलाई करेक्सन गरेर अगाडि बढ्न खोजेको हो।’

मधेश सरकारको नेतृत्वलाई लिएर जसपा बाहिरिए केन्द्रमै गठबन्धन धरमराउनेछ भने जनमत गठबन्धन बाहिरै रहे उसले मधेशमा कांग्रेसलगायतका अन्य दलसँग मिलेर सरकार बनाउने कसरत गर्नेछ। 

गण्डकीमा पनि साना दललाई नयाँ गठबन्धनले साथ नलिए सरकार बन्ने अवस्था छैन। गण्डकीमा साना दलको साथ गठबन्धनलाई अत्यावश्यक छ। उता सुदूरपश्चिममा पनि एमाले-माओवादी गठबन्धनसँग स्पष्ट बहुमत छैन। त्यहाँ रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी निर्णायक हुने अंकगणित छ।

यस्तोमा अन्य साना दललाई नयाँ गठबन्धनमा जानै नदिएर केही प्रदेशको नेतृत्व हत्याउने अर्को दाउ कांग्रेसको देखिन्छ। 

तर कांग्रेस नेता मीन विश्वकर्मा भने यी कुनै खेलमा कांग्रेस नरहेको जिकिर गर्छन्। ‘गठबन्धन नटुटाउन हामीले सबै किसिमको लचकता अपनायौं। सबैलाई सहमतिमा ल्याउने कोसिस पनि गर्‍यौँ तर प्रचण्डजीको प्रवृत्तिका कारणले उहाँले गठबन्धन तोडेर जानुभयो’, नेता विश्वकर्मा भन्छन्, ‘यो राजनीति हो। यसमा विष्मात् मानेर केही काम छैन। अब कांग्रेसले सदन र सडकमा सशक्त भूमिका खेल्छ।’ 

के चाहन्छ राप्रपा?

राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा बोक्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई नयाँ गठबन्धनले शुरुमै प्रतिगमनकारी भनेर बिच्काएको छ। नयाँ गठबन्धनसँग बिच्किएको राप्रपालाई पनि कांग्रेसले मिलेर जान प्रस्ताव गरेको छ। 

नयाँ गठबन्धन बन्दै गर्दा शुरुमा बेवास्तामा परेका माधव नेपाललाई भेट्न मंगलबार साँझ राप्रपा अध्यक्ष लिङ्देन कोटेश्वर पुगेका थिए। उक्त भेट राजनीतिक नभएर व्यक्तिगत भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दाबी गरे। ‘उहाँ (माधव नेपाल) अस्वस्थ हुनुहुन्छ भनेपछि भेट्न जानुभएको मात्र हो। अरू केही होइन’, उनले भने। 

राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले आफूहरू अहिले आन्दोलनमा रहेकाले सरकारमा नजाने स्पष्ट पारे। ‘सरकार टिकाउने र गिराउनेमा हाम्रो ध्यान छैन। हामी आन्दोलनमा छौं। त्यसकारण हाम्रो चासो छैन’, उनले भने। 

नेता तामाङले पनि लिङ्देन र नेपालबीचको भेट सामान्य भएको बताए। उनले भने, ‘बिहान भेट्न जाने तय भएको थियो। त्यसवेला समय नमिलेपछि साँझ जानुभएको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.