|

२०८० साल फागुन २५ गते शिवरात्रिको दिन यो लेखकलाई नजिकको तीर्थ पशुपतिनाथको मन्दिरभन्दा अर्को कुनै शिवमन्दिर  जान मन लाग्यो  किनकि पहिलो दिन पशुपति वरिपरिको झलमली हेरिसकेको अवस्था थियो।

त्यसैले शिवरात्रिमा कुनै नयाँ  तीर्थस्थलमा जाने इच्छा जाग्यो।  डोलेश्वर गएको तीर्थ, दोलखा भीमसेन १४० किलोमिटर टाढा समय कम राति फर्किनै पर्ने बाध्यता। अब कता जाने सोच्दासोच्दै यो परिस्थितिले यहाँ पुर्‍यायो।

एकपटक फेसबुकमा देखेको एउटा नाम झल्याँस्स याद आयो ‘लटारम्भेश्वर।’  यो तीर्थस्थलको स्थान कहाँ भन्ने थाहा नभए पनि टीका भैरव— लेलेतिर पुग्नै पर्ने भन्ने संकेत उक्त फेसबुक पोष्टले नै दिएको थियो।

ल त भनेर काठमाण्डौ पुराना मेयरले परिकल्पना गरेको धोवीखोला करिडोर हुँदै कानदेवतास्थान लगनखेल, फराकिलो कान्तिराजपथबाट टीकाभैरव माथि दोबाटोमा पुग्दा मन दोबाटियो कता जाने कता, पराकिलो सफा देखेर लेलेतिर लागियो। केही पर पुगेपछि १९ वर्ष अगाडि चिया र पाउरोटी खाएको एउटा पसल हेर्न मन लाग्यो। खोजेको अहिले सडक विस्तारले गर्दा त्यो पसल बाटोभन्दा माथि ढिकमा टुसुक्क बसेर बाटो हेरिरहेको रहेछ।

त्यहाँसम्म पुग्नका लागि सिमेन्टका सिँढी बनाइका रहेछन्। त्यसैबाट त्यो पसल पुगेर मन्दिरको ठेगाना सोधेको त्यो कान्तिराजपथबाट नै जानपर्ने रहेछ। राजमार्गबाट देख्ने गरी मन्दिर जाने बाटो भनेर लेखिएको छ।

यता होइन भन्नुभयो स्थानीयले अनि फरक्क पर्केर बाटो निश्चिततासहित टीकाभैरव पारिबाट हेटौँडा जाने बाटोतिर लागियो।

नजिकै होला भन्ने आशाका साथ बाटो रहेको सानो भट्टिपसलमा दिशा र दूरी पत्ता लगाउने अभिलाषाले रोकेर सोधेको त; उहाँहरुले त्यहाँबाट ३० किलोमिटर कान्तीराजपथ पार गर्नुपर्ने, त्यसपछि ७ किमी कच्ची उकालो बाटो पार गरेपछि  त्यहाँबाट १ देखि डेढ घण्टा उकालो पैदल गएपछि मात्र मन्दिर आउने कुरा बताउनुभयो।

त्यतिबेला लगभग १ भन्दा बढी बजिसकेको छ। यात्रा लामो बाटो चक्काको सहारामा पुग्ने त्यसपछि उकालो कच्चिबाटो  त्यसपछिको  पैदल उकालो अहँ ! पार लाग्ला  जस्तो लागेन मनले भित्रभित्र शिवरात्रिका लागि सहज र समिपमा रहेको वैकल्पित तीर्थको खोजी गर्न थाल्यो।

लक्ष्य भेदनभन्दा विकल्पमा रमाउने आम नेपाली आदतभन्दा को नै अपवाद छौँ र हामीहरु। देशको गौरवको रुपमा व्याख्या गरि बालबालिका, विकास र शान्तिका लागि लरियट्स एण्ड लिडर्स चौथो शिखर सम्मेलन जुन लुम्बिनीमा फागुन २८ र २९ मा गर्न लागिएको थियो नेपालको सरकार परिवर्तन भएको बहाना बनाएर दिल्लीमा सारियो र चुप बस्ने हाम्रो बानीको अगाडि यो सानो उद्देश्य बिमुखताले के नै असर पार्छ र? 

सरकार परिवर्तन भए पनि सत्ता कहिल्यै परिवर्तन हुँदैन भन्ने विश्वव्यापी मान्यतालाई कुल्चेर विश्वका ९ नोबेल विजेता, राष्ट्रप्रमुख, पूर्वप्रधानमन्त्रीसहित १८ जना विशिष्ट पाहुनाको सहभागिताको हुन लागेको सम्मेलन लुम्बिनीबाट सारेर दिल्ली पुर्‍याइन्छ र २८ गते नै कार्यक्रम गराइन्छ भने सामान्य तीर्थयात्रीले आफ्नो भगवानलाई स्थिर राखेर स्थान बदल्न के नै हुने भयो र?

यत्तिकैमा साधन घुमाउनै लागेको बेलामा भित्रबाट एकजना व्यक्ति निस्केर भने हेर्नुहोस्  हिम्मत गरेर गएमा, सबैकुरा ठिकठाक रहेमा राति ८ बजेसम्म तपाईँहरु फर्केर यहाँ र ९ बजेसम्म काठमाण्डौ पुग्न सक्नुहुन्छ भन्नुभयो।

यो वाक्यले  मनमा नयाँ ऊर्जा थपियो। होइन त्यसो भए जानैपर्छ भनेर बेतोड कुदियो विश्वेश्वरधाराको अजम्बरी पानी पिएर तीनपाने, नयाँगाँऊ भट्टेडाँडातिर।

आजभन्दा १९ वर्षपहिला ३ वटा गाडी फेरेर भट्टेडाँडा पुग्दाको विकट पहिरोयुक्त बाटोको याद आयो, तर अहिले त बाटो कालोपत्रे भएर धेरै सजिलो।

त्यो बेलामा त्यहाँको स्थानीय निकायको नियम जसमा हेल्थ चौकीमा काम गर्ने कर्मचारीलाई खाने बस्ने व्यवस्था हेल्थपोष्टले नै गर्ने तर गाउँका बिरामी आएमा राति बिदा  भन्न नपाइने उपचार गर्नुपर्ने नियम थियो।

आखिर यस्तै यस्तै सुधारलाई अहिले सामाजिक सञ्जालमा ल्याएर कति न काम गरेको डंका पिटाइन्छ तर त्यतिबेला यतिबिघ्न प्रचारवाजीको जमाना थिएन। होइन भने एउटा सानो सरकारी हेल्थ चौकीमा २४ घण्टा सेवा अहिले पनि छैन निजीमा जानैपर्छ।

साना सुधारलाई कर्तव्यका रुपमा लिएर प्रजारबाजीमा उत्रनु आजको समस्या हो। काम पहिला पनि भएका थिए तर निरन्तरता हुन सकेन।

यस्तै सोच्दासोच्दै कतै पिच कतै कच्ची भीर पार गर्दै ललितपुरबाट बाग्मती नदी तरेर मकवानपुरको भिमफेदी गाउँपालिकामा प्रवेश गरियो अलिकति माथि जाँदा लटारभ्मेश्वर जानेबाटो भनेर लेखेको बोर्ड देखियो।  त्यहाँबाट ७ किमी कच्ची बाटो साधनमा गएपछि पैदल यात्रा सुरु भयो। ठिक ३:१५ मा उकालो लागियो।

गाउँघरका यस्ता बाटा नहिँडेको होइन तर यहाँको उकालो ठाडो छ। ५ मिनटमै शरीरमा पसिना खल्खली आउन थाल्यो। अलिकति श्वासप्रश्वास पनि बढ्न थाल्यो। माथितिर बाट सयौँ मानिस ओरालो लागेका छन् माथितिर जाने बिल्कुल २ जना। सबैले बाटो अफ्ठ्यारो छ, टाढा छ भन्न थाले।

कसैले माथि गएर उतै बस्ने होलान् जबकि उनीहरुलाई थाहा छ कि माथि कतै बास छैन र? पनि भने। १५ मिनेट उकालो हिँड्दैमा  निकै कमजोर बनायो भोक पनि लाग्यो बाटो २ जना भाइहरुले चाउचाउ र पानी बेच्न राखेका थिए। विभिन्न धार्मिक बन्देजलाई दाउमा राखेर रु ५० मा एउटा चाउचाउ किनेर खान थालियो। ३० मिनेट हिँड्दा शरीर थाकेको महशुस भयो तर चाउचाउले अलिकति ऊर्जा दियो। एउटा लौरो खोजियो जुन सबैले टेकेका थिए।

माथिबाट दर्जनौँ हुल आए तापनि मनलाई साहारा तलबाट माथि जाँदै गरेका २ जना भाइहरुले दिए ती घर हेटौँडा भए पनि अहिले काठमाडौंबाट आएका रहेछन्। अब उकालो जाने ४ जना मात्र थियौँ झर्ने अनेकौँ।

जङ्गल छ, बीचमा  हाइकिङ रुट बनाइएको छ। अलिकति ठाउँमा सिमेन्टेड सिँढीहरु पनि भेटिए विस्तारैमाथि तिर गइयो शिवरात्रि भएर होला मानिस धेरै नै छन् गुँडतिर गइरहहेका छन् उचाइतिर हामी ४ जनाबाहेक तत्काल देखिएका छैनन्।

उनीहरु २ युवाले सुरुमा त केही उछिने तर केही छिनमा सँगसँगै भइयो। उकालोले उनीहरुलाई पनि थकाए जस्तो छ।  तर अनुभवले एउटा कुरा सिकायो साधनमा इन्धन र यात्रामा खाजा ठाउँबाट नै लिएर हिँड्नपर्ने रहेछ। माथिबाट पानीको योजना त पाइपसहित बिच्छ्याइएको छ तर अहिलेसम्म पानी आएको छैन आए पनि बीचमा धारा खुल्ने छाँट छैन। अर्थात त्यो जंगलमा पानी र होटल केही पाइँदैन।

यस्तैमा माथिबाट एकजना युवकले भने नआत्तिनुहोस् अब पाँचै मिनेटको बाटो हो, अर्काले भने अब आधा घण्टामा पुग्नुहुन्छ। दुवै सही थिए अघिल्लो भाइले हामीलाई हौसला दिन चाहन्थे दोस्रोले यथार्थ बोल्ने प्रयास गरेका थिए। उनीहरूले भनेको  १२ मिनेटमा  हामी उचाइमा पुग्यौँ जहाँबाट उकालो सकियो।

मन्दिर र भगवान् त ऊ पारि भनेर अर्को डाँडामा ठूलो त्रिशूल देखाइयो। तपाईँहरु सके जानुहोस् हामी त सकिएन भनेर एक जोडी आफूहरु त्यहाँ जान  नसकेकै कुरा सुनाउनुभयो। हामी जाने नै निर्णय गर्‍यौँ बडो मनोरम तर अति खतरनाक यात्राको पूर्वमुहूर्तमा हामी थियौँ।

लागियो वास्तविक मन्दिरतिर एक ताराखसे भीरमा बाटो बनाइएको छ, बाटो एकतिर बार लगाइएको छ त्यसपछि ओरालो सिँढी झरेर पारी जानुपर्छ जहाँ दुवैतिर धारिला ढुंगाले घेरेको पहाड छ। उताबाट ५० देखि ६० बुढाबुढी पनि आउनुभयो सबै मन्दिर पुग्न पाएकोमा हर्षित हुनुहुन्थ्यो।

अहिले हामी उभिएको पहाड र मन्दिर रहेको पहाड बीचको गल्छेडो डरलाग्दो छ तर दुवैतिर बार लगाएर सुरक्षित बनाइएको छ। मन्दिर एउटा आस्था मात्र हो परन्तु त्यहाँ पुग्ने रास्ताले मानिसलाई आनन्दित, रोमाञ्जित, कुनैबेला तर्सित र कुनैबेला हर्षित गरेन भने मन्दिर केवल पैसा चढाउने  र भगवानसँग वर माग्ने कामना स्थल मात्र बन्छ।

त्यसैले मन्दिरलाई पर्यटकीय दृष्टिले पनि महत्वपुर्ण बनाउने हो भने यो जस्तो अद्भुतस्थल कमै देख्न पाइएला। सुनको मन्दिरमा भन्दा यस्तै विकटमा बस्ने भगवान् मनपर्छ मलाई जसले पसिनाको, भोकको र यस्तो पहाडमा हिँड्ने सन्तुलनका साथै जीवनमा पनि सन्तुलित हुन सिकाओस्।

सतीदेवीलाई काँधमा बोकेर विशाल हिमवत खण्ड प्रेम बेहोशीमा विचरण गरेर अन्तिम समयमा उहाँको जब सतीको अन्तिम अंगसमेत जमिनमा खसेपछि विभिन्न पीठहरु बन्दै गए।

यता, शिवजी चिन्ताबाट चेतनामा पुग्नुभयो। अब सतीदेवीबिना पनि यो जगतमा उहाँको जिम्मेवारी बाँकी छ भन्ने कुरा महशुस भयो तर उहाँ वर्षौं बेहोसीमा हिँड्दा हिँड्दै उहाँका कपालका लट्टा ज्यादै लामो  भयो, चिन्तायात्राले गर्दा शरीर पनि थाकेर पस्त भयो यो अवश्स्थमा नितान्त एकान्त ठाउँमा बसेर लट्टालाई पनि व्यवस्थित गर्नुपर्छ र जीवनमा प्रेममा नवपालुवा अंकुरित गर्न र सतीदेवीको पुनर्जन्म कहाँ भयो भनी हेर्नका लागि भगावान् शिवजीले रोजेको  अति विकट गुफाको नाम लटारम्भेश्वर गुफा हो।

यो अहिलेसम्म हामी कसैले गरेको तीर्थभन्दा ज्यादै विकटमा छ। यहाँ पुग्नका लागि अति सन्तुलित मन र स्वास्थ्य भएको मानिसलाई मात्र सम्भव छ। अलिकति पनि डराउने मन काँप्ने मानिसहरु यो तीर्थ जान सक्दैनन्। किनकि भीर छ।

यसरी मन्दिर जुन एक गुफा हो त्यहाँ शिवलिङ्गको दर्शन गरियो। त्यसपछि माथि त्रिशूल ठड्याएको ठाउँमा दर्शन गरियो। यो शंकर भगवानको शिशिरकालीन  कैलाश पर्वत भएकोमा द्धिविधा छैन। यस्तो ठाउँमा पुग्नाले हामीलाई पनि मुक्ति मिलेको महसुस भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.