१६८ जनाविरुद्ध रेड नोटिस जारी

|

काठमाडौं : इन्टरपोलबाट 'रेड नोटिस' जारी भएको पाँच दिनभित्रै फरार प्रतिवादी खोटाङका १९ वर्षीय किरण राई कतारबाट पक्राउ परे।

इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रहरूको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका चार जना फरार प्रतिवादीलाई दुबई र कुवेतबाट एक हप्ताभित्रै पक्राउ गरी गत पुस पहिलो हप्ता नेपाल ल्याइयो।

देशमा अपराध गरी विदेशमा फरार रहेका प्रतिवादीहरूलाई इन्टरपोलको सक्रियतामा पक्राउ गरी स्वदेश फिर्ता ल्याएर कानुनी पक्रिया अगाडि बढाउने कामले तिव्रता पाएको छ।    

कति जारी गरियो रेड नोटिस?

सन् १९९१ देखि हालसम्म १ सय ६८ जनाविरूद्ध रेड नोटिस, २४ जनाविरुद्ध एल्लो नोटिस, १ जनाविरूद्ध ब्ल्यु नोटिस, १ जनाविरुद्ध ब्ल्याक नोटिस, १ जनाविरुद्ध पर्पल नोटिस र १ सय ३ जनाविरुद्ध  डिफ्युजन नोटिस जारी भएको छ।

 तीमध्ये ६१ रेड नोटिस, ११ एल्लो नोटिस, १ ब्ल्याक नोटिस, १ पर्पल नोटिस र ३५ डिफ्युजन नोटिस हाल कारबाहीको प्रक्रियामा छन्। कारबाहीको प्रक्रियामा रहेका रेड नोटिस जारी भएकामध्ये ५५ जना नेपाली र ६ जना विदेशी नागरिक, एल्लो नोटिस जारी भएका ११ जना नेपाली नागरिक र डिफ्युजन नोटिस जारी भएकामध्ये ३० जना नेपाली र ५ जना विदेशी नागरिक छन्। 

फरार प्रतिवादीहरू विरूद्ध इन्टरपोलद्वारा नोटिस जारी गर्ने र पक्राउ पर्ने क्रम जारी छ। सो क्रममा सन् २०२४ फेब्रुअरी २ तारिखमा मात्र ६ जनाविरूद्ध रेड नोटिस जारी भएको छ। तीमध्ये वैदेशिक रोजगार ठगीमा ४ जना र सहकारी ठगीमा २ जना छन्।

नोटिस जारी गर्न एनसिबी (नेशनल सेन्ट्रल ब्युरो) काठमाडौंले गर्ने अनुरोधका सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल भन्छन्, ‘सन् १९६७ देखि एनसिबी काठमाडौंले इन्टरपोलको सुरक्षित एवं विश्वव्यापी प्रहरी सञ्‍चार प्रणालीको सुविधाबाट इन्टरपोलका सदस्य राष्ट्रहरूसँग समन्वय र सूचना आदान-प्रदान गर्दै आएको छ। सोही सुविधाकै कारण एनसिबी काठमाडौंले विभिन्न नोटिस एवं डिफ्युजन जारी गर्नका लागि इन्टरपोल महासचिवालयमा अनुरोध गर्ने गर्दछ।’

नोटिस जारीको साथै विदेशमा फरार रहेका प्रतिवादीहरू इन्टरपोल तथा सम्बन्धित सदस्य राष्ट्रको प्रहरीसँगको समन्वय र सहयोगमा पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरी सक्रिय छ। यस कार्यलाई पछिल्लो समय उच्च प्राथमिकताका साथ तीव्रता दिएको छ।

हालसम्म कति पक्राउ परे?

हालसम्म युएईबाट १९ जना, कतारबाट ९ जना, साउदी अरेबियाबाट ३ जना, भारत  र कुवेतबाट ३/३ जना, मलेसिया/मकाउ र चीनबाट २/२ जना र थाइल्याण्ड, क्यानडा, युएसए, पोर्चुगल तथा बहराइनबाट १/१ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी नेपाल फिर्ता ल्याएको   छ।

 यसैगरी, नोटिस तथा डिफ्युजन जारी भएका ४ जनालाई नेपालमा नै पक्राउ गर्न नेपाल प्रहरी सफल भएको छ। पक्राउ पर्नेहरूमध्ये कर्तव्य ज्यान, ठगी, अपहरण, डकैती, वन्यजन्तु अपराध, बैंकिङ कसुर, सुन तस्करी, संगठित अपराध, किर्ते, लागुऔषध ओसारपसार, साइबर अपराध, वैदेशिक रोजगार ठगी, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसारलगायत मुद्दाका फरार प्रतिवादी रहेका  छन्।

ती प्रतिवादीहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने गरिएको छ। 

कति प्रकारका हुन्छन् नोटिस?

इन्टरपोलले ‘रेड’, ‘ब्लु’, ‘ग्रिन’, ‘ब्ल्याक’, ‘एल्लो’, ‘ओरेन्ज’, ‘पर्पल’ र ‘इन्टरपोल स्पेशल नोटिस’ गरी ८ किसिमको नोटिस जारी गर्ने प्रवक्ता ढकालले जानकारी दिए। यस्ता नोटिस तथा डिफ्युजन जारी गर्न नेपालले इन्टरपोलको प्रधान कार्यालयमा अनुरोध गर्ने उनले बताए।

इन्टपोलमार्फत जारी भएको नोटिसको सबै सदस्य राष्ट्रसँग सूचना आदान–प्रदान हुन्छ। सबै सदस्य राष्ट्रका (एनसिबी)ले त्यस प्रणालीमार्फत नोटिसका लागि प्रधान कार्यालयलाई अनुरोध गर्दछ’, उनले भने।

अदालतमा मुद्दा दायर भई वारेन्ट जारी भएका फरार अभियुक्तहरूको खोजी कार्यका लागि रेड नोटिस जारी हुने प्रवक्ता ढकालले बताए। उनले भने, ‘अपराधीहरू पक्राउसँगै जारी नोटिस र डिफ्युजन स्वतः निष्क्रिय हुने व्यवस्था छ।’

कुन अवस्थामा कुन नोटिस जारी हुन्छ?   

वारेन्ट जारी भएका फरार अभियुक्तहरूको खोजीका लागि रेड नोटिस, वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि डिफ्युजन नोटिस, सनाखत नभएका मानव शवको पहिचान गर्नका लागि ब्ल्याक नोटिस, हराएका मानिसहरूको अन्तर्राष्‍ट्रिय स्तरमा खोजी कार्यका लागि एल्लो नोटिस जारी गरिन्छ।

त्युसैगरी, अपराधीले अपराध गर्न प्रयोग गरेका हतियार, विस्फोटक प्रदार्थ तथा खतराजन्य अन्य चिजवस्तु लुकाएको स्थानको बारेमा जानकारी दिन ओरेन्ज नोटिस, आपराधिक कार्यविधिको बारेमा जानकारी दिन पर्पल नोटिस जारी गरिन्छ।

त्यस्तै, व्यक्तिको आपराधिक क्रियाकलापकबाट सार्वजनिक सुरक्षामा हुनसक्ने सम्भावित खतराको बारेमा जानकारी गराउन ग्रिन नोटिस तथा अपराधमा संलग्न व्यक्तिको खोजतलास तथा जानकारी प्राप्त गर्न ब्लु नोटिस जारी हुने गर्छ।

फरार प्रतिवादी पक्राउ सम्बन्धमा प्रहरी नायव महानिरीक्षक ढकाल भन्छन्, ‘नेपालमा अपराध गरेर विश्वको जुनसुकै कुनामा गए पनि इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले छोड्दैन।’

कसरी हुन्छ काम?

फरार प्रतिवादीहरूको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विभिन्न नोटिस जारी हुने गर्दछ। अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न इन्टरपोल मुख्यालयले जारी गर्ने सूचनालाई ‘रेड कर्नर नोटिस’ भन्ने भनिने गरिने प्रवक्ता ढकाल बताउँछन्।

कुनै पनि देशको इन्टरपोल शाखाको प्रस्तावमा इन्टरपोलले जारी गर्ने सूचनालाई ‘डिफ्युजन नोटिस’ भन्ने पनि गरिन्छ। तर, दुवैको प्रयोजन एउटै हुने गरेको ढकालले बताए।

सन् १९२३ मा स्थापना भएको इन्टरपोलमा हाल १ सय ९६ सदस्य राष्ट्रहरू छन्। नेपाल इन्टरपोलको १०० औँ सदस्य राष्ट्र   हो। हरेक सदस्य राष्‍ट्रमा विश्‍वभरका सदस्य राष्‍ट्रहरूसँग सम्पर्क गर्न एक सम्पर्क केन्द्र स्थापना गरिएको हुन्छ, जसलाई नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) भनिन्छ।

नेपाल प्रहरी संगठनका प्रहरी प्रमुखले हेड अफ एनसिबीको भूमिका निर्वाह गर्ने व्यवस्था रहेको छ। हाल प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोल नेपालका प्रमुख रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.