|

काठमाडौँ : काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागले ५ वर्षे रणनीतिक योजना तर्जुमा गर्ने भएको छ। शहरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, विपद्को समयमा गर्नुपर्ने व्यवस्थापनका काम र विपद्पछिको पुनःस्थापना, पुनर्लाभका लागि वडा र समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय योजनामा समेटिनेछन्।

यसबाट सुरक्षित शहर निर्माणमा योगदान पुग्नेछ। विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भने, ‘शहरको मौलिकता र आधुनिक विकासको चरणलाई सन्तुलित गर्दै शहरलाई सुरक्षित बनाउन सहभागितामूलक संयन्त्र निर्माण गरिनेछ।’ 

आगामी नीति र कार्यक्रम, वडाका आवश्यकताका विषयमा पृष्ठपोषण लिन विभागले बुधबार वडास्तरीय विपद् व्यवस्थापन समितिका संयोजकहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा प्रस्तुतीकरण गर्दै विभागका निमित्त प्रमुख गंगाधर गौतमले विद्यमान अवस्थाको विश्लेषण गर्दै रणनीतिक योजना तर्जुमाको अवधारणाका विषयमा जानकारी गराए।  

सामूहिक ज्ञान, सीप र सोचको विकासबाट जोखिम घटाउने काम गर्नुपर्ने आवश्यकतालाई रणनीतिक योजनाले पूरा गराउने बताउँदै गौतमले आगामी वर्षबाट रणनीतिक योजना कार्यान्वयन थालिने र त्यसैअनुरूप नीति, बजेट, कार्यक्रम प्रस्ताव गरिने जानकारी दिए।  

‘विपद् व्यवस्थापनमा संघ, प्रदेश र जिल्ला स्तरका संयन्त्र, यी संयन्त्रसँग पालिका र वडास्तरीय सम्बन्ध, प्रभावकारी सेवा कसरी सञ्चालन गर्न सकिन्छ, यस कोणबाट काम थाल्नुपर्छ। छलफलमा वडाध्यक्ष र वडास्तरीय समितिका संयोजकहरूले पूर्वाधार विकासजन्य जोखिमको पूर्वानुमान गर्ने, महानगरपालिका केन्द्र र केन्द्र जत्तिकै वडास्तरीय क्षमता विकास गर्ने नीति कार्यक्रममा जोड दिनुभएको छ, विपद् पर्नासाथ व्यवस्थापनको पहिलो काम गर्न कसैलाई पर्खनु नपरोस्, कसैको बाटो हेर्न नपरोस्, यसप्रकार क्षमता विकास गरौँ’, उनले भने।

छलफलमा विपद् व्यवस्थापन महाशाखा प्रमुख एवं नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले विद्युतजन्य आगलागीको जोखिम बढ्दै गएको उल्लेख गरे। उनले भने, ‘आगलागीको खबर प्राप्त भएको आधा मिनेटभित्र दमकल स्टेशनबाट बाहिर निस्कने गरेका छन्, सडकमा यातायातको चापका कारण गन्तव्यमा पुग्न कठिन छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.