|

काठमाडौँ : होटल संघ नेपालका अध्यक्ष विनायक साहले सात प्रदेशमा कम्तिमा एक–एक मेगा प्रोजेक्ट आउँदो लगानी सम्मेलनमा सरकारले देखाउन सक्नुपर्ने बताएका छन्। 

सरकारले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनअघि सात प्रदेशमा कम्तिमा एक–एक मेगा प्रोजेक्ट फाइनल गर्नुपर्ने उनले सुझाव दिए। 

अध्यक्ष साहले सम्मेलनमा सरकारले विदेशी लगानी आकर्षण गर्नका लागि ठूला मेगा परियोजनाहरु देखाउन आवश्यक रहेको पनि बताए। उनले मुलुकको पर्यटकीय सम्भावनाको विषयमा प्रचार गर्न आवश्यक रहेको भन्दै त्यसले ठूलो प्रतिफल आउन सक्ने बताए। 

अध्यक्ष साहले लगानी सम्मेलनमा सरकारले पर्यटन, आइटी र जलविद्युतलाई प्रमुख प्राथमिकतामा राखेकाले विदेशी र स्वदेशी लगानीकर्ता दुवैलाई प्राथमिकता दिन आवश्यक रहेको पनि बताए। 

उनले स्वदेशी र विदेशी लगानी संरक्षण गर्नका लागि सरकारले विद्यमान नीति, नियम र ऐनहरु परिमार्जन तथा संशोधन गर्न सुझाव दिए। उनले नेपालका होटलहरु उद्योगको वर्गीकरणमा नपर्ने गरेको भन्दै आगामी लगानी सम्मेलनभन्दा अघि नै औद्योगिक व्यवसाय ऐन संशोधन गर्नुपर्ने बताए। 

उनले विगतमा भएका लगानी सम्मेलनमा के कस्ता कामहरु भए समीक्षा गर्न आवश्यक रहेको पनि बताए। उनले लगानी सम्मेलनमा भएका प्रतिबद्धता सम्मेलनपछि कति कार्यान्वयन भए/भएन अनुगमन गर्न आवश्यक देखिएको बताए। 

उनले विदेशी चेन होटल र स्वदेशी लगानीमा सञ्चालन भएका होटललाई समान्न रुपमा हेर्नु आवश्यक रहेको खुलाए। उनले लगानी सम्मेलनको विषयमा सरकारले पर्यटन व्यवसायीहरुसँग छलफल गर्न आवश्यक रहेको पनि बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.