|

दाङ :  शान्तिनगर गाउँपालिका ५ रगैजाका सञ्जय भण्डारीले आफूहरूले उत्पादन गरेको मौरीको महले बजार नपाएको गुनासो गरेका छन्। गत वर्ष उत्पादन भएको करिब डेढ टन मह अहिले पनि गोदाममै थन्काएर राखेको उनले बताए।

उनका अनुसार व्यावसायिक रुपमा मौरीपालन गर्न लागेको करिब १८ वर्ष भयो। विगतका वर्षहरूमा राम्रै भए तापनि २- ३ वर्षदेखि महले बजार पाउन सकेको छैन्।

उनले भने, ‘पहिला जति मह उत्पादन भए पनि राम्रोसँग बिक्री  हुन्थ्यो। तर, अहिले भारतबाट आउने महलगायत अन्य कारणले राम्रो मूल्य नपाउँदा मह गोदाममै थन्क्याउनुको विकल्प छैन।’

उनले आफूले २ सय घार मौरी पाल्दै आएको भए तापनि प्रत्येक वर्ष घटाउँदै जाँदा अहिले करिब ७० घार मौरी रहेको पनि बताए। बजारमा महले मूल्य नपाउँदा यसरी मौरी घटाउँदै आएको उनको भनाइ छ।

उनले भने, ‘२ सय घारसम्म मौरी पालेको थिएँ। तर, पछिल्लो समय महको बिक्री हुन छाडेपछि विस्तारै मौरी घटाउँदै आएका छौँ। मह मात्र उत्पादन गरेर के गर्नु? बिक्री हुँदैन, खर्च मात्र हुन्छ। त्यो भएर अहिले ७० घारमा झारेका छौँ। अहिले उत्पादन भएको महले पनि मूल्य पाउन मुस्किल रहेको छ।’

उनका अनुसार सिजनमा मौरी घरमै राख्ने गरेको भए तापनि अन्य समयमा विभिन्न ठाउँमा चराउन लैजानुपर्ने हुँदा खर्च हुने गर्दछ। यस्तै अहिले आफूसँग गोदाममा रहेको महको बजार मूल्य करिब १५ लाख बराबरको रहेको भन्दै उनले सस्तोमा दिँदा जति पनि बिक्री हुनेसमेत बताए।

उनले भने, ‘आफ्नो लगानीभन्दा सस्तोमा मह लिन खोज्छन्। तर, घाटा खाएर बिक्री गर्नुभन्दा गोदाममै थन्काएर राखेको छ।’

 यस्तै उनले अहिले गाउँघरमा प्रतिकिलो ५ सय रुपैयाँ दरले दिने गरेको भए तापनि होलसेलमा लग्ने व्यापारीहरूले त्योभन्दा कम मूल्यमा लिन खोज्दा आफूले नदिएको पनि बताए।

प्रतिकिलो ५ सय भन्दा तल दिँदा हामीहरूले लगानी नै नउठ्ने भएपछि गोदाममै राखेको उनको भनाइ छ। यस्तै उनले राज्यले मौरीपालन किसानहरूलाई व्यवस्था गरेको समेत गुनासो गरे।

उनले भने, ‘आफ्नै ठाउँमा केही गरौँ, भनेर काम गर्दा उत्पादन भएको वस्तुले मूल्य पाउँदैन। बाहिरबाट आउने मिसावट महले मूल्य पाउँछ। यसतर्फ राज्यले ध्यान दिन जरुरी छ। यस्तै कारणले गर्दा युवाहरू विदेशिन बाध्य हुन्छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.