|

काठमाडौँ : साढे २ करोड बिमाका लागि बिहे गरेर बाँके कोहलपुरका सर्जन विकको हत्या भएको घटनामा संलग्न ५ जना सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर भएका छन्।

सम्पत्ति शुद्धीकरण विभागले गत असोजमा दायर गरेको सम्पत्ति शुद्धीकरण मुद्दामा पाँचजनालाई दोषी ठहर गर्दै विशेष अदालतले सजाय निर्धारणका लागि चैत १३ गते पेशी तोकेको छ।

अदालतका न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रीतेन्द्र थापाको संयुक्त इजलासले पैसाका लागि कानूनी रूपमा विककी श्रीमती बनेकी सपना मल्ल सहित हत्या योजनामा संलग्न सञ्जीव अर्याल, सरकार अहमद खाँ, दीपक केसी र रूपक रानालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गरेको हो।

अर्का आरोपी छविकुमारी खत्रीको हकमा भने कसुर पुष्टि हुन नसकेकाले सफाइ पाउने तर लिएको रकम भने जफत हुने आदेश भएको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए।

विभागले सपनाविरुद्ध २ करोड ५० लाख, सञ्जीवबाट ८० लाख ३६ हजार, छवि कुमारीलाई १७ लाख ४६ हजार, दीपकबाट ५० लाख, अहमदबाट २० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। 

इजलासले प्रतिवादी सपना मल्ल र मृतक सर्जन विकबीच २०७७ साल फागुन २८ गते विवाह दर्ता भई पतिपत्नीको सम्बन्ध कायम भएको देखिएको र सोही दिनै मृतक सर्जनको १ करोड ५० लाखको जीवन बिमा गरेको देखिएको ठहर गरेको छ।

सर्जनको ७८ साल वैशाख २ गते राति सडक दुर्घटनामा हत्या गराइएको प्रहरीले अनुसन्धानको क्रममा पुष्टि गरेको छ। सीआइबीले गत साउनमा नै हत्याको अभियोगमा मुद्दा दर्ता गराइसकेको छ।

विकको मृत्युपछि प्रतिवादीहरू सञ्जीव अर्याल, सरदार अहमद खाँ, दीपक केसी र सपना मल्लले बिमा रकम भुक्तानी लिने, आपसमा रकम बाँडफाँड गरी लिने र अन्य व्यक्तिलाई रकम हस्तान्तरण गर्ने कार्यसमेत गरेको देखिएको भन्दै इजलासले उक्त बिमा गर्ने गराउने कार्य कीर्ते जालसाज, ठगी र संगठित अपराधअन्तर्गत उनीहरूले कसुर गरेको भन्दै कारबाहीका लागि रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राकेज पोखरेलले दर्ता गरेको जाहेरी सम्बन्धको मुद्दा जिल्ला अदालत काठमाडौंको अदालतमा विचाराधीन अवस्थामा रहेको संक्षिप्त आदेशमा उल्लेख छ।

उक्त कीर्ते तथा ठगी समेतका मुद्दामा सपना मल्ल समेतका प्रतिवादीले योजनाबद्ध रूपमा मृतक सर्जन विकको २५ वर्षे जीवन बिमा गराई सुनियोजित रूपमा उनको मृत्यु गराइएको तथ्य देखिन आएको अदालतले बताएको छ।

‘मृतक सर्जन विकको आयस्रोत हेर्दा डेढ करोड रुपैयाँको बिमा गर्न सक्ने आर्थिक अवस्था देखिन आउँदैन। अतः यिनै प्रतिवादीको योजना, तयारी र आपराधिक कार्यबाट कसुर घटाइएको र निज प्रतिवादीहरूको आपराधिक मनशायबाट सर्जनको बिमा गराई उनको मृत्युपछि ठूलो रकम लिई हस्तान्तरण गर्ने र प्राप्त रकमको स्वरूप बदल्ने कार्य गरेको’ संक्षिप्त आदेशमा भनिएको छ।

सञ्जीव नेतृत्वको गिरोहले सपना मल्लको बिहे कोहलपुरका सर्जनसँग कानूनी रूपमा गराई दुर्घटना भएको देखाएर हत्या गरी बिमा रकम हडपेका थिए। बिमा रकम निकालेपछि बिमा कम्पनीका कर्मचारीले शंका लागेर प्रहरीमा उजुरी दिएपछि अनुसन्धान शुरु भएको थियो। अनुसन्धानका क्रममा बिमाकै लागि सर्जनको हत्या भएको पुष्टि भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.