|

काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्सले सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरूलाई सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम दिएको छ।

सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ को दफा १५ को नियम अनुसार उक्त तालिम दिइएको हो। चैत ३ गते धुलिखेलमा सञ्चालन गरिएको हो।

सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो। उक्त कार्यक्रममा पछिल्लो समय नेपालको पारस्परिक मूल्यांकन प्रतिवेदनले इन्स्योरेन्स क्षेत्रसँग सम्बन्धित उठान गरेका विषय र अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा प्रकाश पारिएको थियो।

सम्पत्ति शुद्धिकरण ऐनले सञ्चालक समितिको काम कर्तव्य र अधिकारका बारेमा गरेको व्यवस्था प्रकाश पार्नुका साथसाथै त्यसलाई कार्यान्वयन गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गरिएको थियो।

कम्पनीले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी संस्थामा चाल्नुपर्ने कदम तथा त्यसलाई कार्यान्वयन गर्न अवलम्बन गर्नुपर्ने पद्धति, प्रक्रिया, नीति नियम तर्जुमा गरी त्यसलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न संस्थाको के कस्तो भूमिका हुन्छ भन्ने बारेमा पनि प्रशिक्षकले प्रकाश पारेका थिए। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसँग नेपालमा घटित कसुरका र ती कसुरबाट प्राप्त सिकाइले आगामी दिनमा त्यस्ता घटना न्यूनीकरण गर्न सहज हुनेमा कम्पनी विश्वस्त रहेको छ।

सोही कार्यक्रममा सम्पत्ति शुद्धिकरण सम्बन्धमा अन्ताराष्ट्रियस्तरमा भएका असल अभ्यास र त्यसबाट स्थापित अवधारणाको आधारमा नेपालमा सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन तथा नियम तर्जुमा गरिएको र त्यसको अक्षरसः पालना गर्न र मुलुकलाई आपराधिक र आतंकवादी गतिविधिबाट जोगाई समृद्ध समुन्नत राष्ट्र निर्माण गर्ने सबैको जिम्मेवारी रहेको र त्यो जिम्मेवारी बोध गर्दै अग्रपंक्तिमा लम्कन नेपाल लाइफ तयार रहेको यस कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले प्रतिबद्धता व्यक्त गरे।

नेपालमा बनेका नीति नियमहरूको अक्षरसः पालना गर्न सके वित्तीय अपराध न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको र कानुनी प्रावधानका बारेमा जानकारी प्रदान गर्ने अभिप्रायका साथ तालिम आयोजना गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.