|

काठमाडौं : सहकारीको रकम ठगीको विषयमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा प्रधानमन्त्रीले दिएका स्पष्टीकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चित्त बुझाएको छैन। बरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफपछि बरु थप चिन्ता थपिएको बताएको छ। 

बैठकको सुरुमै कांग्रेसले विरोध जनाउँदै प्रधानमन्त्रीको जवाफ मागेको थियो। त्यसपछि प्रश्नोत्तर कार्यक्रमअघि आफ्नो क्याबिनेटका गृहमन्त्री लामिछानेबारे प्रधानमन्त्रीले जवाफ दिएका थिए।

प्रधानमन्त्रीले जवाफ दिँदै अहिलेसम्मको प्राप्त प्रमाणले सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नता पुष्टि नगरेको बताएपछि कांग्रेसले फेरि आपत्ति जनाएको हो।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीको कुरामा हाम्रो चित्त त बुझेन–बुझेन, बरु थप चिन्ता जाग्यो’, उनले भने, ‘किन भने प्रधानमन्त्रीलाई नै गलत सूचना दिइएको छ। तपाईँ नै अँध्यारोमा हुनुहुन्छ भने कसरी हुन्छ निष्पक्ष छानबिन ?’

लेखकले सकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि हुने प्रशस्तै प्रमाण फेला परिसकेको बताउँदै कस्तो प्रमाण फेला परेपछि पुग्ने हो छानबिन गर्न भन्दै थप प्रश्न गरे।

उनले लामिछानेविरुद्ध आफूहरूसँग प्रमाणै प्रमाण रहेकाले लामिछानेले राजीनामा दिनुपर्ने बताए। नैतिक प्रश्न उठेपछि यसअघि धेरैले राजीनामा दिएको स्मरण गर्दै लेखकले लामिछानेले त्यही शैली अपनाउनुपर्ने बताए।

उनले प्रमाण छ कि छैन भन्ने जाँच गर्नका लागि संसदमा जाँचबुझ समिति गठन गर्न माग गरे। त्यसपछि थप कुरा स्पष्ट हुने भन्दै लेखकले अन्यथा संसद अवरोध हुने र त्यो सरकारले नै गरेको ठहरिने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.