चीनले अमेरिकालाई दक्षिण चीन समुद्रमा हस्तक्षेप गर्ने कुनै अधिकार नभएको जवाफ मंगलवार दिएको छ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले विवादित जलमार्गमा भएको सशस्त्र आक्रमणविरुद्ध फिलिपिन्सको रक्षा गर्ने आफ्नो प्रतिबद्धतामा अमेरिका अडिग रहेको बताएपछि चीनले त्यसको जवाफ दिएको हो।
“संयुक्त राज्य अमेरिका दक्षिण चीन समुद्रको मुद्दाको पक्ष राष्ट्र होइन र चीन-फिलिपिन्सबीचको सामुद्रिक मामिलामा हस्तक्षेप गर्ने कुनै अधिकार उसलाई छैन,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने।
सन् २०२२ मा राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यभार सम्हालेपछि दोस्रो पटक फिलिपिन्सको राजधानी मनिला पुगेका ब्लिंकेनले मित्रराष्ट्रका लागि चीनविरुद्धको अमेरिकी समर्थन कसिलो बनाउन एशियाको छोटो भ्रमण गरेका हुन्।
“अमेरिका-फिलिपिन्सबीचको सैन्य सहकार्यले दक्षिण चीन समुद्रमा चीनको सार्वभौमिकता, सामुद्रिक अधिकार र हितलाई हानि पुग्नु हुँदैन र फिलिपिन्सको अवैध दावीका लागि प्लेटफर्म प्रदान गर्ने काम कम गर्नुपर्छ‚” ब्लिंकेनको टिप्पणीबारे सोधिएको प्रश्नको जवाफ दिँदै लिनले भने, “चीनले आफ्नो क्षेत्रीय सम्प्रभुता र सामुद्रिक अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न र दक्षिण चीन समुद्रमा शान्ति र स्थिरता कायम गर्न आवश्यक कदम चालिरहनेछ।”
बेइजिङले फिलिपिन्सलगायत दक्षिणपूर्वी एशियाका धेरै राष्ट्रको प्रतिस्पर्धात्मक दावी अस्वीकार गर्दै विश्व व्यापारका लागि महत्वपूर्ण रहेको जलमार्ग दक्षिण चीन समुद्रको करिब सम्पूर्ण क्षेत्रमाथि दावी गर्दै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।