|

काठमाडौं : सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य लिएको छ।

विश्व क्षयरोग दिवसका अवसरमा बिहीबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्ज्वल श्रेष्ठले क्षयरोगमुक्त नेपाल अभियान अन्तर्गत अहिले १२५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिए। 

अभियान ७५३ वटै स्थानीय तहमा लागू गर्ने उनले बताए। उनका अनुसार गत आर्थिक वर्षमा २५ स्थानीय तहमा शुरु गरिएको अभियान चालु आवमा थप १०० स्थानीय तहमा शुरु गरिएको हो। 

निर्देशक श्रेष्ठ समुदायको सक्रियतामा सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने र क्षयरोगको निदान उपचारमा लाग्ने आर्थिक व्ययभारलाई शून्यमा झार्ने लक्ष्य लिएको बताए। 

नेपालमा हाल प्रति एक लाखमा दुई २९ जना क्षयरोगी छन्।  निर्देशक डा. श्रेष्ठका अनुसार आव २०७९/८० मा नेपालमा ७० हजार नयाँ क्षयरोगका बिरामी थपिएको तथ्यांक छ। नेपालमा वार्षिक करिब १८ हजारको मृत्यु हुने गरेको छ।

नयाँ बिरामीमध्ये ३७ हजार ४४७ जना मात्र उपचारमा आएको उनको भनाइ छ। तीमध्ये तीन हजार ६५८ बालबालिका उपचाररत छन्। 

क्षयरोगका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोका बिरामी र २८ प्रतिशत अन्य अंगका बिरामी हुने गरेका छन्। अन्य अंग फोक्सोको पानी, हड्डी र दिमागमा पनि क्षयरोग लाग्ने गरेको उनले बताए। 

विश्वमा औषधि प्रतिरोधी क्षयरोगको उच्चभार भएका ३० देशमध्ये नेपाल पनि छ। आव २०७९/८० मा दुई हजार ९०० जनामा औषधि प्रतिरोधि क्षयरोग विकास हुने अनुमान गरिएकोमा ६९३ बिरामी मात्र निदान गरिएको र पाँच सय ४६ बिरामीको उपचारको दायरामा आएको कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए। औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सफलता ८२ प्रतिशत रहेको उनले बताए। 

क्षयरोगका ६८ प्रतिशत बिरामी मधेश, बागमती र लुम्बिनी प्रदेशका रहेका छन्। क्षयरोगको मृत्युको दर तीन प्रतिशत छ। क्षयरोग ‘माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो। क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो। एक जनाबाट १० जनासम्म क्षयरोग सर्न सक्छ। फोक्सोमा क्षयरोग लागेमा सर्ने र अन्य अंगमा लागेमा नसर्ने निर्देशक श्रेष्ठले बताए। 

श्रेष्ठले क्षयरोगका बिरामीले कम्तीमा ६ देखि बढीमा १२ महिनासम्म चिकित्सकको निगरानीमा बसेर औषधि सेवन गरेमा ९० प्रतिशत रोग निको हुने बताए। उनका अनुसार क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहका छन्। पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ।

केन्द्रले छिटो र छरितो तरिकाले रोग पहिचान गर्न १५ केन्द्रबाट ११३ स्वास्थ्य संस्थाबाट १३१ वटा मेसिन जडान गरी रोगी पत्ता लगाउने गरेको उनको भनाइ छ। हाल नेपालभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.