काठमाडौँ : बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले शनिवार राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न तेस्रो संस्करणको हाफ म्याराथनमा पुरुषतर्फ दीपक र महिलामा बागमतीकी सन्तोषी च्याम्पियन भएका हुन्। दीपक लगातार दोस्रो वर्ष च्याम्पियन भए। सन्तोषी भने पहिलो संस्करणकी च्याम्पियन हुन्।
दशरथ रंगशालाबाट शुरु भएको हाफ म्याराथन भक्तपुरको राधेराधे पुगेर सोही रुटबाट फर्किएको हो। दीपकले यो निर्धारित दूरी पूरा गर्न १ः०७ः३३ घण्टा लगाए। एपिएफका गोपीचन्द्र पार्की ९ सेकेण्डले मात्र पछि रहँदा दोस्रो स्थानमा खुम्चिए। पार्कीले १ः०७ः४२ समय लगाएका थिए।
पर्वतका तीर्थ पुन तेस्रो स्थानमा रहे। उनले १ः०७ः४३ घण्टामा दूरी पूरा गरे। आर्मीका नरेन्द्र रावल चौथो भए। नरेन्द्रले १ः०८ः५१ घण्टा लगाए। खडकबहादुर खड्का १ः०८ः५६ घण्टामा दूरी पूरा गर्दै पाँचौं स्थानमा रहे। महिलामा च्याम्पियन सन्तोषीले १ः२०ः१९ घण्टा समय लगाइन्।
नेपाल पुलिसकी राममाया बुढा दोस्रो र एपिएफकी पुष्पा भण्डारी तेस्रो भइन्। राममायाले १ः२१ः५६ घण्टा र पुष्पाले १ः२३ः०२ घण्टा लगाए। आर्मीकी पूर्णलक्ष्मी न्यौपाने चौथो र एपिएफकी फूलमती राना तेस्रो भए। पूर्णलक्ष्मीले १ः२३ः२० घण्टा र फूलमतीले १ः२५ः१७ घण्टा लगाए।
महिला र पुरुष दुवैमा हाफ म्याराथन विजेताले एक लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार, चौथोले ४० हजार र पाँचौंले ३० हजार रुपैयाँ पाए। १० किलोमिटर पुरुषतर्फ खुलामा आर्मीले वर्चस्व जमायो। आर्मीकी खेलाडीले पहिलोदेखि पाँचौं स्थानसम्म प्राप्त गरे। आर्मीका मुकेश पाल, सञ्जय श्रेष्ठ, गजेन्द्र राई, सुवास कार्की र श्रीकाश राईले शीर्ष पाँच स्थान प्राप्त गरे।
पाँच किलोमिटर खुला महिलामा आर्मीकी सृजना पाण्डेय, राजपुरा पछाई, निर्मला केसी, आशा रावत र सुमित्राकुमारी चौधरी पाँचौँ स्थानमा रहे। स्कुल पाँच किलोमिटरमा विश्वराम कुँवर, बादल कार्की र विकेश घिमिरेले शीर्ष तीन स्थान प्राप्त गरे। स्कुलतर्फ नै तीन किलोमिटर महिलामा कल्पना बुढा पहिलो, अस्मिता भुजेल दोस्रो र अमिशा राई तेस्रो भए। ह्विलचियर तीन किलोमिटर पुरुषमा रामकाजी मिजार, रमेश खत्री र प्रेम विक क्रमशः पहिलोदेखि तेस्रो भए।
यसै विधाको महिलामा ऐश्वर्यकुमारी कुमाल, यामी झाँक्री मगर, रजनी राई, पेमा गुरुङ र बबिता थापा पाँचौं स्थानमा रहे। कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहलगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।