|

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र बंगलादेशका नौपरिवहन राज्यमन्त्री खालिद महमुद चौधरीबीच द्विपक्षीय हितका विषयमा काठमाडौँमा आज भेटवार्ता भएको छ।

भेटका क्रममा मन्त्री भण्डारीले पछिल्ला वर्षमा बंगलादेशबाट नेपालमा हुने आयातको परिमाण उल्लेख्य बढे पनि नेपालबाट बंगलादेश हुने निर्यातको मात्रा भने न्यून रहेकामा सामुद्रिक व्यापारसम्बन्धी राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराए। उनले अन्तरराष्ट्रिय व्यापारमा दुई मुलुकबीचको व्यापारको हिस्सा बढाउनुपर्नेमा जोड दिए।

बंगलादेश नेपालको महत्त्वपूर्ण व्यापार साझेदार रहेको स्मरण गराउँदै मन्त्री भण्डारीले द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवर्धन गर्नुपर्नेमा राज्यमन्त्री चौधरीको ध्यानाकर्षण गराए।

दूध तथा दुग्धजन्य उत्पादन, तरकारी, फलफूल, जडिबुटी तथा वनस्पतिजन्य उत्पादन, धागो र औषधिजन्य उत्पादनलगायत विभिन्न वस्तुका लागि बंगलादेश नेपालको सम्भाव्य बजारका रूपमा रहेकाले उच्च भन्सार महसुल तथा गैरभन्सारजन्य अवरोधका कारणले नेपाली उत्पादनले बंगलादेशी बजारमा पर्याप्त पहुँच प्राप्त गर्न नसकेकाले त्यसको पहल कदमीका लागि मन्त्री भण्डारीले आग्रह गरे।

सन् २०१० देखि दुई देशबीचको सौविध्यपूर्ण व्यापार सम्झौता सम्बन्धमा वार्ता भइरहेको स्मरण गराउँदै भेटका क्रममा मन्त्री भण्डारीले दुवै देशको आर्थिक हितलाई महत्त्वपूर्ण रूपमा प्रवर्धन गर्ने गरी यस सम्झौतालाई अन्तिम रूप दिन दुवै पक्षले आफ्नो प्रयास केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए।

नेपालको तेस्रो देशसँगको व्यापारका लागि चटगाउँ र मोङ्गला बन्दरगाह प्रयोग गर्ने पारवहन सुविधा प्रदान गरेकामा बंगलादेश सरकारलाई धन्यवाद दिँदै उनले सामुद्रिक बन्दरगाहको उपयोगमार्फत पारवहन सम्बन्धलाई सुदृढ बनाउन रोहनपुर–सिंहवाद रेलवे र अन्य पारवहन रुटको सञ्चालनका लागि मन्त्री चौधरीसित उनले आग्रह गरे।

मन्त्री भण्डारीले नेपाल-बंगलादेश व्यापारका लागि काँकडभिट्टा-फूलबारी-बंगलाबन्ध रुट प्रयोग हुँदै आइरहेका र नेपाली ट्रकले भारतको फूलबारी भन्सार विन्दुबाट मात्र बंगलादेशबाट आयात भएका वस्तु ल्याइरहेकाले त्यसले पारवहन लागत बढेकोमा ध्यानाकर्षण गराए।

विगतमा भएका वाणिज्य सचिवस्तरीय बैठकमा नेपालले बंगलादेशका जलमार्ग उपयोग गर्ने सम्बन्धी अवधारणापत्र प्रस्तुत गरेको स्मरण गराउँदै मन्त्री भण्डारीले भने‚ ‘नेपाल र भारतबीचको पारवहन सन्धिले अन्तरदेशीय जलमार्गमा पहुँचको व्यवस्था गरेको छ। जलमार्ग सम्बन्धमा नेपालको प्रस्तावउपर भएको प्रगति र यसलाई नेपालले उपयोग गर्ने सम्भावना सम्बन्धमा बंगलादेशको धारणाको अपेक्षा गरेको छु।’

भारतीय प्रसारण लाइनमार्फत नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापार गर्न भारतीय पक्ष सहमत भएको विषय दुवै पक्षका लागि सुखद रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले ऊर्जा क्षेत्रमा बंगलादेशको लगानी सुनिश्चित गर्न आग्रह गरे।

साथै उनले राज्यमन्त्री चौधरीलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक क्रियाकलाप, जैविक विविधताका दृष्टिले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेको जानकारी गराउँदै बंगलादेशी पर्यटक नेपाल आउनेमा आशा व्यक्त गरे।

अति कम विकसित मुलुकका रूपमा समेत सहयोगको विस्तार गर्दै संयुक्त रूपमा आवाज उठाउने एवं संयुक्त राष्ट्रसंघ लगायतका अन्तरराष्ट्रिय मञ्चमा उम्मेदवारी लगायतका विषयमा समेत दुई देशबीच सहयोग आदानप्रदान हुँदै आएको स्मरण गराउँदै मन्त्री भण्डारीले यस किसिमको सहयोग अझ विस्तार हुनेमा जोड दिए।

भेटका क्रममा बंगलादेशका राज्यमन्त्री चौधरीले मन्त्री भण्डारीले राखेका कुरा अत्यन्त सकारात्मक र सान्दर्भिक रहेको उल्लेख गर्दै बंगलादेश फर्केर आफूले सो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताए। उनले नेपाल र बंगलादेशको निजी क्षेत्रलाई जोड्नुपर्नेमा जोड दिए।

राज्यमन्त्री चौधरीले अप्रिलमा हुने दुई देशका सचिव र सहसचिव स्तरीय बैठकमा व्यापारमा देखापरेका समस्या समाधान गर्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.