|

काठमाडौँ : पाँचदलीय सत्ता गठबन्धनभित्रको प्रमुख घटक नेकपा एमालेले आगामी उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ। १५ वैशाख २०८१ मा हुने प्रतिनिधिसभाका एक र प्रदेशसभाका एक सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको हो। 

आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम–२ मा सुहाङ नेम्वाङ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र–१ का लागि दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। 

संविधानसभाका अध्यक्षसमेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो भने नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपछि प्रदेशसभा निर्वाचन क्षेत्र बझाङ–१ मा पनि एकसाथ उपनिर्वाचन हुन लागेको हो।  

इलाम–२ मा एमालेले उनका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कानूनव्यवसायी सुहाङले यसअघि नै निर्वाचनका लागि आफ्नो गतिविधि अघि बढाएका थिए। 

उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरूको पनि सहयोगका लागि बैठकले अपिल गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम–२ बाट सुहाङ नेम्वाङ र बझाङको प्रदेशसभा–१ बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ’, उनले भने, ‘सिंगो पार्टी शक्ति नेकपा एमालेको विजयी केन्द्रित हुने, गर्ने र अरू पार्टीलाई पनि हाम्रो उम्मेदवारको पक्षमा सहयोग, समर्थन र सद्भावका लागि अपिल गर्ने निर्णय पनि गरेको छ।’

एमालेले उम्मेदवार टुंगो लगाए पनि गठबन्धनमा रहेका अन्य दल भने निष्कर्षमा पुगिसकेका छैनन्। तीन हप्ताअघि बनेको सत्ता गठबन्धनमा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी गरी पाँच दल सामेल छन्। यीमध्ये कुनै पनि दल एमालेले अघि सारेका उम्मेदवारलाई नै आगामी उपनिर्वाचनमा समर्थन गर्ने निष्कर्षमा पुगेका छैनन्। 

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसमेत इलाम–२ मा सुहाङलाई नै समर्थन गर्ने निष्कर्षमा पुगिसकेको छैन। माओवादी उपमहासचिव गिरिराजमणि पोखरेल एकदुई दिनभित्र पार्टी निष्कर्षमा पुग्ने बताउँछन्। उनी भन्छन्, ‘यसबारे निर्णय भइसकेको छैन। पर्सिसम्म सबै थाहा हुन्छ।’

तीन हप्ताअघि मात्रै बनेको गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र आफ्नै उम्मेदवार उठाएर एमाले बिच्काउने पक्षमा देखिँदैन। जसकारण उसले आफ्नो उम्मेदवार उठाउने सम्भावना भने निकै न्यून छ।  

गठबन्धनभित्रको अर्को दल रास्वपाले भने इलाम–२ को वस्तुस्थिति बुझ्न सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई लामो समयदेखि खटाएको छ। पाँचदलीय गठबन्धनमा सामेल भए पनि आफूलाई अन्य दलहरूभन्दा फरक र रचनात्मक दाबी गर्दै आएको रास्वपाले आफ्नै उम्मेदवार अघि सार्न सक्ने सम्भावना छ।

छोटो समयको तयारीका बाबजुद २०७९ को आमनिर्वाचनमा आश्चर्यजनक नतिजा हात पारेको रास्वपा सोही लयलाई निरन्तरता दिने दाउमा छ। तनहुँ–१ को उपनिर्वाचनले रास्वपामा थप विश्वास थपेको छ। 

सो क्षेत्रबाट निर्वाचित कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि गत १० वैशाखमा भएको उपनिर्वाचनबाट रास्वपाबाट डा. स्वर्णिम वाग्ले भारी मतसहित विजयी भएका थिए। निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईभन्दा उनले १४ हजार ७ सयभन्दा बढी मत पाएका थिए, जसकारण रास्वपामा ‘कन्फिडेन्स’ उच्च छ।

रास्वपा महामन्त्री डा. मुकुल ढकाल १४ गतेपछि एमाले उम्मेदवारलाई समर्थन गर्ने वा आफ्नै उम्मेदवार अघि सार्ने भए कसलाई भन्ने थाहा हुने बताए। ‘हामीले के कसो गर्ने भनेर १४ गतेपछि मात्र थाहा हुन्छ’, उनले भने। 

रास्वपाले गत आमनिर्वाचनमा पनि इलाम–२ मा उम्मेदवार उठाएको थियो। काठमाडौंका निर्वाचन क्षेत्रहरूबाट वरिष्ठहरूलाई पछार्दै संसद्को यात्रा पक्का गर्दा इलाम–२ मा भने रास्वपा प्रतिस्पर्धामै आउन सकेको थिएन। त्यस वेला रास्वपाका उम्मेदवार बनेका प्रकाश सापकोटाले १ हजार ३६३ मत मात्र पाएका थिए। 

प्रदेशलाई कोशी नामकरण गरिएपछि पूर्वमा पहिचान पक्षधर दलहरूसँग इखिएका छन्, यसको प्रभाव पनि आगामी उपनिर्वाचनमा देखिने निश्चित छ। उनीहरूले आफ्नो छुट्टै उम्मेदवार अघि सारिसकेका छन्। पहिचान पक्षधरहरूका तर्फबाट डकेन्द्रसिंह थेगिमले उम्मेदवारी दिनेछन्। 

‘प्रदेश नम्बर १ पुनः नामाकरण संयुक्त संघर्ष’ समितिले थेगिमलाई उम्मेदवार बनाउने औपचारिक घोषणा गरिसकेको छ। उनले भोट काट्न सक्ने आँकलन गरिएको छ। यही पहिचानवादीको भोटसमेत पाउने गरी उम्मेदवार तय गर्ने रणनीतिमा रास्वपा देखिन्छ। 

गठबन्धनभित्रको अर्को दल जसपा पनि पहिचानवादी दल हो। उसले कोशी नामकरण हुँदा विपक्षमा मत हालेको थियो। जसकारण जसपाले पनि एमालेका उम्मेदवार सुहाङलाई समर्थन गर्ने निश्चित छैन। 

जसपा प्रवक्ता मनीष सुमन अहिल्यै के गर्ने भन्नेमा आफूहरू निष्कर्षमा पुगिनसकेको बताए। यद्यपि पहिचानको पक्षमा जसपा अडिग रहेकाले सोही अनुसारको निर्णय लिनसक्ने सक्ने उनले गरे। 

‘के गर्ने भन्ने टुंगिएको छैन। त्यहाँको हाम्रो इन्चार्ज रकम चेम्जोङजीसँग छलफल भइरहेको छ’, उनले भने, ‘हामी पहिचानको आन्दोलनमा छौँ। पहिचान पक्षधरले साझा उम्मेदवार उठाउने कुरा गरिरहनुभएको छ। अब केही दिनमै टुंगिन्छ।’ 

१७ फागुन २०७९ मा प्रदेशको नाम कोशी नामकरण हुँदै गर्दा जसपा सांसद निर्मला लिम्बू प्रदेशसभामै भक्कानिएकी थिइन्। प्रदेशको नाममा आफूहरूले राखेको किरात लिम्बुवान सगरमाथा नाम अस्वीकृत भएपछि तत्कालीन स्वास्थ्यमन्त्री रहेकी उनी पहिचानको मुद्दा बहुमतले दबाएको गुनासो गर्दै भक्कानिएकी थिइन्। अहिले पनि जसपा त्यही मुद्दामा अडिग छ। 

गठबन्धनको अर्को दल एकीकृत समाजवादीले सोमबार सचिवालय बैठकबाट उपनिर्वाचनका सन्दर्भमा निर्णय लिँदै छ। पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले आइतबारको बैठकमा सामान्य छलफल भए पनि के गर्ने भन्ने टुंगोमा नपुगेको बताए। ‘आजको बैठकमा छलफल त भयो तर निर्णयमा पुगिएको छैन’, उनले भने, ‘अब भोलि चाहिँ छलफल गरेर टुंग्याउँछौं।’

त्यसो त कोशीका पूर्वमुख्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्र राई पहिचानको पक्षमा छन्। यसमा एकीकृत समाजवादी अडिग रहे एमालेलाई सघाउने सम्भावना कम देखिन्छ, किनभने प्रदेश–१ लाई कोशी नामकरण गर्नुमा एमालेको मुख्य भूमिका थियो। 

अर्कोतर्फ नयाँ गठबन्धन निर्माणसँगै सुध्रिएको एमालेसँगको सम्बन्ध फेरि बिगारिहाल्ने पक्षमा एकीकृत समाजवादी देखिँदैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.