|

काठमाडौँ : प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण व्यवसायीका समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने बताएका छन्।

शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधारणसभामा बोल्दै सभापति सिंहले सरकारसँग यस्तो माग गरेका हुन्। उनले निर्माण व्यवसायीले भुक्तानी, आयोजनाका माद थप जस्ता अन्य समस्या भोग्दै आएको भन्दै सरकारले तत्काल समाधान गरी सहजीकरण गर्नुपर्नेमा जोड दिए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि उद्योगी व्यवसायीहरूको भरोसा रहेको भन्दै प्रधानमन्त्रीले तत्काल समाधान गर्न आवश्यक रहेको बताए। उनले पुरानो गठबन्धनमा प्रधानमन्त्रीलाई काम गर्न अप्ठ्यारो भएकाले केही समस्या आएको भन्दै अहिले नयाँ समीकरणमा काम गर्न सहज भएको बताए।

उनले प्रधानमन्त्री एकातिर र अर्थमन्त्री अर्कोतिर भएकाले निर्माण व्यवसायीको समस्या समाधान हुन नसकेको भन्दै अब सहज हुने विश्वास लिएको बताए। उनले सरकारले निर्माण व्यवसायीको ६० अर्ब रुपैयाँ तत्काल भुक्तानी दिन सक्नुपर्ने बताए। सिंहले निर्माण उद्योगलाई चलायमान बनाउन बैंकको ब्याजदर घट्न आवश्यक रहेको बताए।

सिंहले भने, ‘विगतको सरकारमा गडबडी थियो। प्रधानमन्त्री एकातिर फर्कने, अर्थमन्त्री अर्कोतिर फर्केर कुखुराले ओथारो बसेजस्तो बस्ने। मिलेको थिएन। अहिले जोड मिलेको छ। प्रधानमन्त्री र अर्थमन्त्री एउटै पार्टीका हुनुहुन्छ। मलाई विश्वास छ। अब निर्माण व्यवसायीहरूको समस्या समाधान तत्काल हुनेछ। अहिले निर्माण व्यवसायीको ६० अर्बभन्दा बढी रकम भुक्तानी सरकारले दिएको छैन। बैंकको ब्याजदर पनि घटाउनुपर्छ। विद्यार्थी युवाहरू विदेश पलायन भइसके। देश निर्माण गर्न उद्योगीहरू बाहेक कोही छैन। उनीहरूलाई पनि पलायन हुनबाट रोकौं। कयौं उद्योगीले आत्महत्या गरिरहेका छन्। व्यवसायीहरूको समस्या समाधान गर्नुपर्छ।’

उनले सरकारले युवा विद्यार्थीहरू सबै विदेश पलायन भएको र उद्योगी व्यवसायी मात्रै स्वदेशमा रहेकाले उद्योगी व्यवसायीलाई पनि विदेश पलायनबाट रोक्न जरुरी रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.