|
पत्रकार सम्मेलनमा अनिसा र उनका काका सुरेश ठाकुर।

धनुषा : तराई मधेशको विभिन्न जिल्लामा महिलामाथि हुने गरेका हिंसा र बहुविवाहका घटना अहिले पनि घटेका छैनन्।

यस्तै घटना भएको छ साविक धनुषाको सबैला-११ इनर्वा र हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ कटैयाचौरी बस्ने राजेश ठाकुरकी छोरी अनिसामाथि।

​अनिसाको विवाह महोत्तरी पिपरा गाउँपालिका वडा नम्बर–५ हर्दियाका श्रीनारायण ठाकुरका छोरा सुभाष ठाकुरसँग २०८० वैशाख ८ गते भएको थियो।

मैथिली रीतिरिवाज र विधिअुनसार राजीखुशीमा करिब ३५ लाख रुपैयाँ खर्च गरेर भएको विवाह एक वर्ष नपुग्दै सुभाषले अर्को बिहे गरेर अनिसालाई यातना दिन थालेको सार्वजनिक भएको छ।

सोमवार जनकपुरधाममा अनिसाकी आमा अनितादेवी ठाकुर र काका सुरेश ठाकुरले पत्रकार सम्मेलन गरि सुभाषको दोस्रो बिहे र अनिसालाई यातना दिएको सबै खुलस्त पारेका छन्।

सुभाषले विवाह गरेको एक वर्ष नपुग्दै अर्की पत्नी भित्र्याएर अनिसालाई यातना दिन थालेका आमा अनिता र काका सुरेशले बताए।

विवाहको १० दिनपछि पोहोर १८ वैशाखमा अनिसाका ससुरा श्रीनारायण रोजगारका लागि विदेश उड्नुपर्ने थियो। बुबालाई बिदा गर्न सुभाष काठमाडौँ गए। बुबा विदेश उडिसकेपछि २० वैशाखमा सुभाष घर फर्किए। २४ गतेसम्म अनिसा–सुभाषको दाम्पत्य जीवन ठीकठाक थियो। 

त्यसपछि सुभाषले अनिसाको बुबा राजेशलाई एक्कासी फोन गरेर ‘म तपाईंको छोरीलाई राख्दिनँ, लिएर जानुस्’ भने। राजेशले किन नराख्ने भनेर सुभाषलाई प्रतिप्रश्न गर्दा उनको जवाफ थियो, ‘तपाईंकी छोरी लाटी छन्, त्यसैले राख्दिनँ।’

राजेशले आफ्नी छोरी लाटी भए नभएको पुष्टि डाक्टरले गर्ने भएकाले जाँचका लागि आफू तयार रहेको बताए तर सुभाष र उनको परिवारले केही वास्ता गरेनन्। ज्वाईंको त्यो एक–दुई मिनेटको टेलिफोन कलले राजेशको परिवारमा भुइँचालो गयो। 

राजेश आफ्ना भाइ सुरेशसहित आफन्तहरूलाई लिएर पिपरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष हरिशंकर यादवसँग भेटेर घटनाबारे सबै बताए।

वडाध्यक्ष हरिशंकरले सुभाष र उनकी आमालाई बोलाएर विवाह गरेर अनिसालाई किन नराखेको भनेर सोधे। उनीहरूले फेरि त्यही जवाफ फर्काए।

वडाध्यक्षले ‘पाँचजनाले फेरि केटी हेर्ने र उनीहरूले दिने निर्णय मान्य हुन्छ कि हुँदैन?’ भनेर सुभाष र उनकी आमालाई प्रश्न गरे। दुवै जनाले हुन्छ भन्दै सहमति जनाए।

वडाध्यक्षको रोहबरमा अनिसासँग पुनः सोधपुछ र खोजीनीति भयो‚ कुराकानी गरियो। 

सुभाष परिवारको आरोपअनुसार अनिसामा कुनै समस्या नदेखिएकाले उनीहरूले अनिसालाई घर भित्र्याउन सुभाष र उनकी आमालाई सुझाव दिए। 

तर सुभाषको परिवार अनिसालाई घर लैजना तयार भएन। कारण बुझ्दा खुल्यो सुभाषले अनिसाभन्दा पछि फेरि अर्को विवाह गरिसकेका रहेछन्। 

कतैबाट कुनै सुनुवाइ नभएपछि न्यायका लागि पहल गरिदिन भन्दै काका सुरेश ठाकुर सोमवार अनिसालाई लिएर पत्रकारमाझ आए। 

सुरेशका अनुसार महिलाको जिन्दगी यति सस्तो देखियो कि सुभाषको दोस्रो विवाह गराउन उनकै आमा, मामा अरुण ठाकुर र दोस्रो बेहुलीकी आमाकै मिलोमतो रहेको छ।

अनिसालाई स्वीकार गरेर घर भित्र्याउने सहमति भए पनि केटापक्ष तयार नभएपछि आफूहरू बहुविवाहको मुद्दा प्रक्रिया अगाडि बढाउन बाध्य भएको सुरेशले पत्रकार सम्मेलनमा बताए।

जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको मुद्दा दर्ता गर्न निवेदन दिए पनि निवेदन लिन प्रहरीले नमानेको गुनासो सुरेशले गरे।

‘महिला सेलमा सई भरत ठाकुर हुनुहुन्थ्यो, उहाँलाई हामीले पटक–पटक अनुरोध गर्‍यौँ, मिलाउँदै छु भन्नुभयो। केही सुनुवाइ भएन,’ सुरेशले भने, ‘सई भरत ठाकुर केटापक्षको आफन्त हो कि पैसाको चलखेल भएको हो हामीलाई थाहा भएन।’ 

आफूहरूले अनिसालाई बुहारीको मान्यता दिन अनुनय विनय गरिरहेकै वेला मंसिर २६ गते राति कुटपिट गरी केटापक्षले अनिसालाई जनकपुरधामको माछा बजारनजिक अलपत्र मिल्काएर गएको सुरेशले पत्रकार सम्मेलनमा बताए। 

सुरेशले तत्काल महोत्तरीका डिएसपीलाई फोन गरेर घटनाबारे जानकारी गराएको बताए। उनका अनुसार डिएसपीले छोरीलाई अहिले घरमै राखेर भोलि जिल्ला प्रहरी कार्यालय आउन भनेका थिए। 

२७ मंसिरमा अनिसाको परिवारले सुभाषविरूद्ध किटानी जाहेरी दर्ता गराए तर सुभाषलाई भने अझै प्रहरीले पक्राउ गरेको छैन। 

प्रहरी सुभाष फरार रहेको भन्दै पन्छिन खोजिरहेको छ भने सुभाष हरेक रात घरमै वास बसेर विहान फेरि लुक्ने गरेको अनिसाका परिवारको आरोप छ।

सुभाषलाई भगाउन सई भरत ठाकुरको प्रमुख भूमिका रहेको सुरेशको पत्रकार सम्मेलनमा आशंका व्यक्त गरे।

प्रहरीले सुभाषले दोस्रो विवाह गरेको भनिएकी युवतीसँग सोधपुछ गरेको छ। गर्भवती रहेकी उनले सुभाषसँग आफ्नो विवाह भएको स्वीकारेकी पनि छन्।

अनिसासँग विवाह गरिसकेपछि फेरि दोस्रो बिहे गरेकोले सुभाषविरूद्ध बहुविवाहको मुद्दा चलाउन प्रयास गरेका छन् अनिसाका आमा र काकाले तर मुद्दा प्रक्रियामा नगएर मिलापत्रका लागि आफूहरूमाथि दबाब आइरहेको अनिसाकी आमा अनिता देवीले पत्रकार सम्मेलनमा बताइन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरी महिला सेलका तत्कालिन प्रमुख सई लेखनाथ खनालले सुभाषले दोस्रो विवाह गरेको भनिएकी केटीलाई आफूले पक्राउ गर्दा उनले विवाह गरेको स्वीकारे पनि उनलाई अहिले के कति कारणले रिहा गरिएको हो आफूलाई थाहा नभएको बताए। 

मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुविवाह कसुरसम्बन्धी व्यवस्थामा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले पनि विवाह गर्न नहुने र गरेमा कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि ५ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.