|

म्याग्दी : कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत बेनी–गलेश्वर सडकखण्डको कालोपत्रे ५ महिना नबित्दै उप्किएको छ।

कालोपत्रे उप्किएपछि सडक खाल्डाखुल्डीमय भएको छ। म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलदेखि वडा नम्बर ९ गलेश्वर जोड्ने सडक निर्माण भएको ५ महिना नपुग्दै कालोपत्र उप्किन शुरु भएको स्थानीयको भनाइ छ।

सडक कालोपत्रे गरेको ठेकेदार कम्पनी मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालिले कमसल सामग्री प्रयोग गर्दा सडक गुणस्तरहीन बनेको स्थानीयको आरोप छ।

कालोपत्रे उप्किए पनि अहिलेसम्म कसैले ध्यान नदिएको स्थानीयको गुनासो छ। कालोपत्र उप्किएपछि दिउँसो पनि सवारीसाधन आवागमनमा समस्या हुने गरेको छ।

‘यो सडक कालोपत्रे भएको ५/६ महिना नहुँदै उप्किन थालेको छ। निर्माणको क्रममा सम्बन्धित निकाय र सरोकारवालाहरूको बेवास्ताका कारण कमसल सामग्री प्रयोग गरिएको हुन सक्छ,’ गलेश्वरका स्थानीय चक्रप्रसाद शेरचनले गुनासो गरे। 

गत पुसमा २४ महिनाको ठेक्का एक वर्षमै सकिएपछि मङ्गलादेवी सुवास कन्स्ट्रक्सनको चौतर्फी प्रशंसा भएको थियो। पाँच महिनामा नै कालोपत्र उप्किएपछि अहिले निर्माण कम्पनीको चौतर्फी आलोचना र विरोध भइरहेको छ। 

निर्माण गरेको ठेकेदार कम्पनी मङ्गलादेवी सुवास कन्स्ट्रक्सनले अहिले मर्मत थालेको छ। कालोपत्रे उप्किएको गुनासो आएपछि मर्मतका लागि ठेकेदारलाई निर्देशन दिइएको आयोजना प्रमुख ध्रुवकुमार झाले बताए। 

‘निर्माणका क्रममा कतिपय ठाउँमा यस्तै कमीकमजोरी हुन्छन्,’ आयोजना प्रमुख झाले भने‚ ‘निर्माण व्यवसायीले तुरुन्तै काम गर्नुपर्छ, बिग्रिएको स्थानको पहिचान गरी सम्झौताअनुसार मर्मत गर्नुपर्छ।’

२ किलोमिटर १०२ मिटर सडक कालोपत्रे गर्न मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालिले भ्याट/पीएससहित १२ करोड ७५ लाख ९४ हजार ४३६ रुपैयाँमा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो।

पर्याप्त उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेर लक्ष्यअघि नै सम्पन्न गरेपछि बेनी नगरपालिकासहित सङ्घ संस्थाले समेत निर्माण व्यवसायीलाई सम्मान गरेका थिए।

सडकखण्ड ८ मिटर फराकिलो पारिएको थियो। यो सडक हुँदै प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाम, म्याग्दीको उत्तरी भेगसहित मुस्ताङ आवतजावत गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.